राहत शिक्षकद्वारा प्रदर्शन, वार्ताका लागि आह्वान
काठमाडौँ, २१ असोज : पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका काठमाडौँ महानगरपालिका समितिका अध्यक्ष शङ्करराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायीको प्रक्रियामा लगेपछि हामी त्यहीँबाट स्थायीको प्रक्रियामा सहभागी हुनेछौँ ।”
सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ । विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् ।
वार्ताका लागि आह्वान
सरकारले आन्दोलनरत राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आज विज्ञप्ति जारी गरी राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभयो ।
उहाँ अनुसार आन्दोलन पक्षलाई सोमबार बिहान ८ बजे भक्तपुरको सानोथिमिस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा वार्ताका लागि बोलाइएको छ । उहाँले आन्दोलन पक्षलाई नेपाल शिक्षक महासङ्घ, शैक्षिक संवाद तथा समन्वय समितिसहित तीन जनाको वार्ता टाली गठन गरी वार्तामा आउन भनिएको छ ।
उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सङ्घीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकको पेशागत सुनिश्चिताका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
