मकवानपुर–काठमाडौं मिलन समाजको प्रथम अधिवेशनद्वारा फुयाँललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित

कृष्णदेव भण्डारी । २०८३ बैशाख १९ । मकवानपुर जिल्लाबाट काठमाडौँ उपत्यकामा आई विभिन्न पेशा र व्यवशाय गरी बस्नुका साथै स्थायी बसोबास गर्ने मकवानपुरेहरूको सामाजिक संस्था मकवानपुर–काठमाडौं मिलन समाजले काठमाडौँमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले संस्थाका संस्थापक अध्यक्ष बलराम फुयाँललाई नै अध्यक्षमा सर्वसम्मत रूपमा आगामी २ वर्षका लागि निर्वाचित गरेको छ । वरिष्ठ अधिवक्ता बाबुराम दाहालले समन्वय गर्नुभएको निर्वाचन समितिले संस्थाको उपाध्यक्षमा बद्रीप्रसाद आचार्य, सचिवमा केदार पन्त, सहसचिवमा सरिता आचार्य, कोषाध्यक्षमा रश्मी घिमिरे तथा सदस्यहरूमा विष्णुदेव भण्डारी, दीपा शर्मा न्यौपाने, देवकुमार अर्याल, अनिताकुमारी दाहाल, उमेश थापा, निर्जल घिमिरेलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

मकवानपुरमा जन्मिएका, मकवानपुरलाई कार्यक्षेत्र बनाएका, प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रही उपत्यकामा रहेका मकवानपुरेहरूसँग लामो समयदेखि एकआपसमा भेटघाट नभइरहेको अवस्थामा भेटघाट गर्ने, चिनजान गर्ने, वर्षौदेखि सम्पर्कबिहिन भएकाहरूबीच पुनर्मिलन गराउन तथा सद्भाव बढाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको यस संस्थाले प्रथम अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।

सचिव केदार पन्तले संचालन गर्नु भएको उक्त अधिवेशन जिल्लाभरिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
