मकवानपुरेहरु गोलबद्ध हुँदै

शिवदेव भण्डारी । २०८२ पौष १९ । मकवानपुर जिल्लाबाट काठमाडौँ उपत्यकामा आई विभिन्न पेशा व्यवशाय गरी बस्नुका साथै स्थायी बसोबास गर्ने मकवानपुरेहरुले काठमाडौँको बुढानिलकण्ठ नगरपालिकास्थित रुद्रेश्वर महादेव मन्दिर परिसरमा आज एक वनभोज तथा पुनर्मिलन कार्यक्रम आयोजना गरेका छन् ।

मकवानपुरमा जन्मिएका, मकवानपुरलाई कार्यक्षेत्र बनाएका, प्रत्यक्ष वा परोक्ष रुपमा सम्लग्न रही उपत्यकामा रहेका मकवानपुरेहरुसँग लामो समयदेखि एकआपसमा भेटघाट नभइरहेको अवस्थामा भेटघाट गर्ने, चिनजान गर्ने, वर्षौदेखि सम्पर्कविहिन भएकाहरुबीच पुनर्मिलन गराउन तथा सद्भाव बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक कृष्णदेव भण्डारीले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा भएको छलफलबाट “मकवानपुर–काठमाडौँ सद्भाव समाज” नामक एक सामाजिक संस्था स्थापना गर्ने उद्देश्यले बलराम फुयाँलको अध्यक्षतामा ११ सदस्यीय तदर्थसमिति गठन गरिएको छ । तदर्थ समितिको उपाध्यक्षमा विनोद दुलाल, सचिवमा केदार पन्त, कोषाध्यक्षमा रश्मी घिमिरे, सहसचिवमा सरिता आचार्य तथा सदस्यहरुमा लक्ष्मण बानियाँ, अनिता दाहाल, विष्णुदेव भण्डारी, दीपा न्यौपाने, दिनेश बर्ताैला र निर्जल घिमिरे रहेका छन् ।

केदार पन्तले संचालन गर्नु भएको उक्त भेलाले अधिवक्ता बसन्तराज फुयाँलको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको छ । जसमा वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम विंडारी र अधिवक्ता भावेश गौतम सदस्य रहेका छन् । विधान मस्यौदा समितिले कार्य सम्पन्न गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत रुपमा संस्था दर्ता गर्ने सर्वसम्मत निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.