बाँदर(वा’नर)हरुकाे कथा

काठमाडौं, नारायणप्रसाद नेपाल । श्रीमतीजी र छाेराले जहिल्यै पशुपति कैले जाने भनेर कचकच गरिरहेको अवस्था । हामी बिहानै पशुपति दर्शनका लागि रमाना भयाैं आफ्नै खिरखिरेमा । बिहानको मौसम हल्का पानी परेको चिसोचिसो वातावरण छ । पशुपतिमा सदाभन्दा अलिबढी नै भीडभाड छ । साउँनको अन्तिम तिरको सोमबार भएर होला । कोचाकोच, ठेलाठेलका बीचमा बडो कष्टले पशुपतिको टाढैबाट दर्शन गरियो नजिक जाने चान्सै रहेन । दर्शनपछि परिक्रमा गरेर बाहिर आइयो मान्छेहरुको कोलाहल यथावत् नै छ ।
अलि समय रहेका कारण कैलाश हुँदै गुह्येश्वरीको दर्शनका लागि हामी अघि बढ्यौं। मानिसहरुको भीड केही थान कुकुरहरुको बथान, नन्दीको प्रत्यक्ष स्वरूपकाे दर्शन र बाँदरहरूको कोलाहललाई पार गर्दै गुह्येश्वरी माताको पनि दर्शन गरियो । त्यसपछि अब फर्कनुपर्छ भन्ने उद्देश्यले किराँतेश्वर हुँदै श्लेष्मान्तकतिर लागियो । माथि राममन्दिर थाहा छ बाँकी के-के का मन्दिर हुन् थुप्रैपटक पशुपति गएता पनि थाहा पाइएको छैन । अलि पर पुगेपछि जंगलको सौन्दर्यमा छायाचित्र लिने प्रस्ताव गरे केटाकेटीले, लौ भनियो, नाइ भन्न सकिएन । आजको युग सुहाउँदो भइनस् भन्ने आरोप तिनीहरुको सदैव सुन्नुभन्दा एकछिन क्यामेराको अगाडि उभिदियो टन्टै साफ ।
केही छिनपछि हामी त्यही राममन्दिरको पछाडिपट्टि एयरपोर्ट साइडमा सानो चौरमा आराम गरिरह्यौ । बीच-बीचमा छोराले केही भन्दैछ । त्यस्को त्यति ख्याल नगरिएको अवस्था । पशुपतिका बाँदरहरु अब बिस्तारै त्यता पनि वाक्लिदै गरेका छन् । त्यसैबीच हामी बसेभन्दा अलि पर आर्मीको एउटा टाैवा देखियो । सानामा हामीले मकै रुग्दा यस्ता घरलाई टाैवा भन्थ्यौं थाहा छैन आर्मीका भाषामा यसलाई के भनिन्छ ? त्यहाँ बाँदरहरु मस्त पीङ् खेलिरहेका थिए, खासै वास्ता गरिएन । छोरो सानै छ, उसको मङ्की हेर्ने रहर राम्रैसँग पूरा हुँदैछ । उसले मङ्की देख्ने भनेको यही मन्दिरको वरिपरि त हो । यो मङ्कीले कतिसम्म सताउँछ, कतिसम्मको पीडा दिन्छ भन्ने कुरा उसले अनुभव गर्न पाएको छैन ।
त्यही समयमा एउटा ठूलो बाँदर त्यो आर्मीको टाैवामाथि चढेको छाेराले देखेछ- “भन्यो बाबा बाबा हेर्नु त ! त्यो कति ठूलो बाँदर हो । के त्यो तिनीहरुको राजा हो ? बालसुलभ जिज्ञासा उस्ले राख्यो । एसो हेरें, हाे रहेछ । सोच्चिकै त्यो बाँदर अरुभन्दा केही ठूलो रहेछ । ऊ टाैवामाथि चढेको रहेछ । तलबाट अरु बाँदरहरु त्यसलाई जिस्क्याउँदा रहेछन् । पुच्छर चलाइदिंदा रहेछन् । विभिन्न हाउभाउ गरेर उसलाई सताउन खोज्दा रहेछन् । यस्तै यस्तै रमिता हुँदै थियो । छोरो तिनीहरुको चर्तिकला हेर्दै थियो । हामी जोइपाेइ आफ्नै किसिमको घरायसी गफमा रुमल्लिएका थियौं । छोराले फेरि भन्यो “बाबा ऊ त्यो माथि बसेको बाँदर अघि त रातो थियो, अहिले कसरी सेतो भयो त ? यसो हेरें साँच्चै त्यो बाँदर सेतो जस्तै भएको रहेछ । किनभने उसको प्राकृतिक चाञ्चल्यका कारण उसले आफ्नो टाउकोमा सेतो प्लाष्टिक लगाएको रहेछ । केटाकेटीलाई लाग्यो साँच्चै यो सेतो भयो भन्ने । तर त्यो बालकलाई के थाहा कि यी सबै बाँदरहरु एकै जातका हुन् । यिनको जात, धर्म, गोत्र, प्रकृति, दर्शन, सिद्धान्त, रूप, रङ आदि एउटै हो भन्ने कुरा । तर ती राता बाँदरहरू अत्यन्त बदमास हुन्छन् । सानामा हामीले पनि त यिन्को बदमासीको अनुभव गरेकै हो । टाैवामा बसेर धपाउँदा पनि नटेर्ने । मलाई राम्ररी थाहा छ मेरा बाबाको त्यो ढ्याङ्ग्रो जुन ढ्याङ्ग्रो वनझांक्रीले बाबालाई दिएको अरे । त्यो हामी राम्रैसँग ठोक्थ्यौं तर पनि ती राता बाँदरहरु भाग्दैन थिए, टेर्दैन थिए । हामीले खाने मकै, बोडी, आँप, कटहर, चिउरी, भलायो, तामा, अम्बा, केरा, थाकल, प्यारी, काफल आदि आदि सबै क्षणभरमै सखाप पार्थे ।
त्यो बाँदर जो त्यो टौवामाथि बसिरहेको थियो, त्यो पनि यिनीहरु कै हुलको थियो । यिनीहरुकै रुपको थियो । तर थाहा छैन के ज्ञानले, के सिद्धान्तले, के दर्शनले र के वादले ? गर्दा आज ऊ भिन्न भएको छ । अरुभन्दा आफूलाई पृथक् ठान्छ र ती तलका राता बाँदरहरूलाई बाँदरै नगन्ने चेष्टा गर्छ । हामी सानो हुँदा प्रायः सेतो ढेडु वा लङ्गुरचाहिँ एक्लै हिड्ने गर्दथ्यो र त्यसलाई हामी एक्लेबाँदर भन्थ्यौं । तर यो रातो बाँदर नै हो पक्का, किनभने यसले भरखरै निलो प्लाष्टिक ओडेर त्यो आर्मीको टाैवामाथि चढेको हामीले प्रत्यक्ष देखेका थियौं। त्यसमाथि पनि सेतो प्लाष्टिकको टोपी लगाएर उसले आफूलाई नयाँ बनाउन खोज्दैछ । यो त्यही बाँदर हो जो ती तलका बाँदरहरुको हुलमा नै बस्थ्यो, तिनीहरुकै साथी हो । तिनीहरूकै आदर्श, सिद्धान्त, दर्शन, वाद, मार्ग र धर्मलाई यसले पनि अङ्गीकार गरेकाे थियाे । यसलाई किन आज वैराग्य चलेछ । उसले सिद्धान्त त्याग्यो, वाद बिर्स्याे, धर्म छाड्यो, खै ! केही थाहा पाइएन । सायद हाम्रो देशको वर्तमान राजनीतिको प्रभावले यसलाई पनि छोयो कि ? भन्न सकिन्न ।
तर आखिर बाँदर बाँदर नै हो, त्यो पनि रातो बाँदर, उसले आफ्नाे चरित्रलाई कसरी चटक्क भुल्न सक्छ र ? उसमा रहेको प्राकृतिक गुणलाई जतिगरे पनि लुकाउन उसलाई कठिन छ । ती तलका बाँदरहरु चाँचाँ चूँ चूँ गर्छन्, चिरबिर गर्छन्, एक आपसमा लुछाचुडी गर्छन्, झगडा गर्छन् माथि पुग्न सकिन्छ कि भनेर । तर त्यो ढेडुले अरुलाई खासै ठाउँ दिंदैन, सम्मान दिंदैन, आदर गर्दैन । टस्स न मस्स ठूलो दार्शनिक जस्तो भएर गजधम्म बसेको छ । आश त ती तलका बाँदरहरुलाई पनि होला नि उसले बोकेको केरा खाने । तर ऊ पटक्कै दिन तयार छैन । उसले हिजोका ती सुखदुःखका आफ्ना वा’नर साथीहरुलाई यति छिट्टै र यति सजिलै चटक्कै भुल्छ भनेर ती अन्य बाँदरहरुले मनमा कल्पना पनि गरेका थिएनन् होला । सायद त्यही भएर तिनीहरु उसँग झगडा गर्न उद्यत छन् । यी सबै कुरा म आफ्ना मनमा गुन्दै छु, आमाछोरा आफ्नै पारामा आफ्नै सुरमा गफिएका छन् ।
यसो हेर्छु ती बाँदरहरु अत्यन्तै अभद्र भैसके । त्यो आर्मीको टाैवा भाँच्लान् जस्तै भैसक्यो । कति उपद्रव, कति रीस, कति आक्राेस् । यिनको प्राकृतिक गुण नै यही हो कि ? माथिको ढेडु मख्ख देखिन्छ, त्यसको अनुहारमा कुनै किसिमको चञ्चलता छैन, मानि लिऊँ ऊ तपस्यामा बसेको श्रृङ्गी ऋषि नै पो हो कि । हेर्दा ठूलै दार्शनिक जस्तो, ठूलै वादको प्रवर्तक जस्तो, ठूलै तन्त्रको सारथी जस्तो तर कस्तो -कस्तो समूहबाट टाढिएकाे ढेडु बाँदर जस्तो ।” रामरावणयोर्युद्धं रामरावणयोरिव” भने जस्तै त्यो बुलाहा (हामी त्यो बाँदरको सरदारलाई बुलाहा पनि भन्थ्यौ) वास्तवमा बुलाहा जस्तै थियो । छोरो बाल सुलभ जिज्ञासाभावले त्यो ढेडुको गतिविधिलाई नियाल्दै थियो। यसले अब के गर्छ ? के ती केरा तलका ती आफ्ना साथीहरुलाई पनि दिन्छ कि एक्लै खान्छ होला ? तर उसलाई के थाहा कि त्यो बाँदरले अरुलाई दिंदैन । एक्लै खान्छ, त्यो उसको स्वभाव हो, प्रकृति हो, धर्म हो र त ऊ बाँदर कहलिएको छ ।
छाेराले मलाई पुनः साेध्याे “बाबा यी बाँदरहरु मानिसका पुर्खाहरु हुन् अरे हाे ? मैंले भनें “कस्ले भन्याे तिमीलाई यस्तो कुरा” ?” हामीलाई साइन्स पढाउने मेमले भनिसेको “उसले भन्यो। मलाई अलि झाेक चल्याे । के पढाउँछन् आजकालका यी विद्यालयहरु थोरै रिस उठ्यो, सम्झें त्यत्रो पैसा तिरेर के पढाउन पठाएको होला मैंले । बरु गुरुकुल पढाएको भए यस्तो उल्टो शिक्षा त दिंदैन थिए होला भन्ने लाग्यो । मनमा आगो बलेको छ, यदि मानिसका पुर्खा बाँदरहरु थिए भने आज मानिसको पुच्छर किन छैन ? अनि यदि समयान्तरालमा मानिसको पुच्छर हराउँदै गयो भन्ने कुतर्क गर्ने हो भनेदेखि पछाडिको पुच्छर हराउँदा अगाडिको चाँहि किन हराएन त भन्ने तर्क स्वतः आउँछ । अथवा अगाडिको बढ्दै गएर घोडा वा गधाको जस्तो किन भएन त ? यस बारे के भन्छन् ती वैज्ञानिकहरु ? अनि फेरि त्यसरी बढ्ने र हराउने भएदेखि स्त्रीजातिको भगाङ्कुर बढेर किन हलोको फाली जत्रो भएन होला ? अनि फेरि मान्छेका पुर्खा ती बाँदर जाति थिए भने ती सबै बाँदर किन मान्छे बनिसकेनन् ? तिनीहरुको के अपराध थियो कि तिनीहरु चाँहि संधै बाँदर नै बनिरहनु पर्ने ? त्यसकारण यस्ता कुविद्या, कुतर्क गर्दैमा वैज्ञानिक हुने भए हाम्रा पनि कतिपय दर्शनहरु, सिद्धान्तहरुमा यस्ता कुतर्ककाे केही कमी थिएन त ? ती सबैलाई विज्ञानसम्मत मानौं न त ? भैगोनि ? यस्तै यस्तै तर्कना र शंकना गर्दै छोरालाई सम्झाएँ । समयले नेटो काटिसकेको थियो । मैले देशको वर्तमान राजनीतिलाई सम्झें, मनमा लाग्यो “वानरो वा नरो वा , यस्तै यस्तै । अब छोरालाई पनि पुगिसक्यो होला शायद यिनीहरुको चर्तिकला हेर्न । बाँदरका यिनै गतिविधिलाई नियाल्दै तिनीहरुको झगडाको अन्त्य हुने सुइको नपाएकाले छोराले भन्यो “बाबा भोकलाग्यो अब घर जाऊ” । त्यसपछि ती बाँदरहरुको प्रत्यक्ष चर्तिकलालाई मानस पटलमा समेटेर हामी आफ्नो बासस्थान तिर लाग्यौ। मैंले बाटोमा सोधें- “छोरो बाँदरको चर्तिकला तिम्लाई कस्तो लाग्यो” ?
समसामयिक राजनीतिक अवस्थाबारे लेखकको व्यङ्ग्यात्मक कथा ।
