कूटनीति र राजदूत व्यवस्था सम्बन्धमा प्राचीन धर्मशास्त्र र आधुनिक कानूनको अन्तरसम्बन्ध

काठमाडौं । डा. सीताराम खतिवडा । कूटनीति भन्नाले राज्यहरूबीच उत्पन्न समस्याको शान्तिपूर्ण तरिकाले समाधान गर्न प्रयोग गरिने कार्य पद्धतिलाई बुझिन्छ। वर्तमान अन्तर्राष्ट्रिय राजनीतिमा कूटनीति ज्यादै महत्त्वपूर्ण विषय मानिन्छ। यस नीतिलाई कुटिल नीति पनि भन्ने गरिन्छ तर अन्तर्राष्ट्रिय राजनीतिमा प्रयोग गरिने कूटनीति कुटिल नीति होइन । कूटनीति भनेको राज्यहरूबीच पारस्परिक सम्बन्ध कायम गर्ने माध्यम हो ।
आधुनिक राज्य व्यवस्थामा जस्तै प्राचीन हिन्दु राजनैतिक व्यवस्थामा पनि प्राचीन कालदेखि नै कूटनीतिका साथै दूत (राजदूत) को पनि व्यवस्था गर्ने प्रचलन रहेको थियो । अन्तरराज्य सम्बन्धमा पारस्परिक वार्ता गर्न दूत नियुक्त गर्ने प्रचलन रहेको पाइन्छ। राजदूतलाई नै दूत भनेर सम्बोधन गरिन्थ्यो । तर राजदूत स्थायी प्रतिनिधिको रुपमा अर्को राज्यमा बस्ने प्रचलन भने थिएन । कुनै एउटा राज्यको दूत अर्को राज्यमा निश्चित प्रयोजनका लागि जाने र निश्चित समय मात्र त्यहाँ बस्ने गर्दथे। पूर्वीय दर्शन (वैदिक, कौटिल्य र पौराणिक ग्रन्थहरू) मा जस्तै मनुस्मृति, रामायण, महाभारत, शुक्रनीतिसार आदि ग्रन्थहरूमा राजदूत व्यवस्थालाई राज्यको सुरक्षा, विदेश नीति र कुटनीति (Diplomacy) को सबैभन्दा महत्त्वपूर्ण स्तम्भ मानिएको पाइन्छ । प्राचीन समयमा दूत केवल सन्देशवाहक मात्र नभएर राजाको प्रतिनिधि पनि हुन्थ्यो ।
मनुले दूतका बारेमा भनेका छन्-
दूतं चैव प्रकुर्वीत सर्वशास्त्रविशारदम् ।
इंगिताकारचेष्टज्ञं शुचिं दक्षं कुलोद्गतम् ।।
अनुरक्त: शुचिर्दक्ष: स्मृतिमान् देशकालवित् ।
वपुष्मान्वीतभीर्वाग्मी दूतो राज्ञ: प्रशस्यते । (मनु.अ.७, श्लो.६३/६४) ।
अर्थात् शास्त्रमा कुशल, इशारा, आकार र चेष्टाको अध्ययन गरेर मनको भाव बुझ्ने, पवित्र चरित्र भएको, चतुर र कुलीन व्यक्ति राजदूत पदका निम्ति योग्य मानिन्छ । ६३
सबैलाई प्रेम गर्ने, सच्चरित्र, चतुर, मेधावी, देश काल जान्ने, शारीरिक व्यक्तित्व भएको, निर्भीक र कुशल वक्तालाई राजदूत पदमा नियुक्त गर्नु पर्दछ । ६४
विदेश नीतिको प्रयोग दूतमा निर्भर हुन्छ भन्ने मान्यता स्थापित थियो । साथै दूत अवध्य हुन्छ भन्ने मान्यता पनि प्रचलित थियो ।
त्यसैगरी कौटिल्यले आफ्नो अर्थशास्त्रमा दूतको व्यवस्थाको विशद विवेचना गरेका छन् । उनका अनुसार एउटा राजाले अर्को राजासँग राजदूतको माध्यमबाट विचार आदानप्रदान गर्ने हुँदा दूतलाई राजाको मुख मानिएको छ (दूतमुखा वै राजान:.
कौटिल्य, २०००, अधि. १,अ.१५) ।
पौरस्त्य धर्मशास्त्रका अनुसार वाहन, नोकर सुत्ने विस्तरा आदि सामग्रीसहित दूत शत्रु राज्यतर्फ प्रस्थान गर्नुपर्छ। दूतले शत्रु राज्यका वनरक्षक, सीमारक्षक, नगरवासी तथा जनपदवीसँग मित्रता कायम गर्नुपर्छ । आफू जुन राज्यमा खटिएको हो सो राज्यको राजाको अनुमति लिएर मात्र सम्बद्ध राज्यमा प्रवेश गर्नुपर्छ । त्यो राज्य छोड्दा पनि अनुमति लिएर मात्र छोड्नु पर्छ । राजदूतले आफ्नो राजाको सन्देशलाई जस्ताको त्यस्तै रुपमा प्रस्तुत गर्नुपर्छ । त्यसमा कुनै पनि किसिमको फेरबदल वा तलमाथि गर्नु हुँदैन । यदि आफू खटिएको क्षेत्रबाट सम्मान पाइन्छ भने पनि त्यसमा गर्व गर्नु हुँदैन । परदेशमा आफूलाई शक्तिशाली छु भन्ने पनि ठान्नु हुँदैन । अनिष्ट वचन पनि सहन गर्न सक्नुपर्छ । परस्त्री गमन र मद्यपान गर्नु हुदैन । दूत एक्लै सुत्ने र आफ्नो राज्यको रहस्य नखोलीकन आफ्नो कार्य सिद्धिका निम्ति आवश्यकता अनुरुपमात्र बोल्नु पर्दछ । सामान्य अवस्थामा दूतले राजाको अनुमति लिएर मात्र स्वदेश फर्कनुपर्छ तर कुनै खतरा महशुस गरेमा त्यहाँबाट (जहाँ आफू बसेको छ) सुटुक्क भाग्नु पर्छ भन्ने पनि कौटिल्यको विचार रहेको छ । (कौटिल्य, २०००, अधि १, २०१५) ।
आधुनिक कानूनमा कूटनीति (Diplomacy) भनेको अन्तर्राष्ट्रिय सम्बन्धहरू संचालन गर्ने, वार्ता गर्ने र युद्ध विना नै आपसी विवादहरू समाधान गर्ने कला र अभ्यास हो। यसलाई एउटा राष्ट्रले अन्य राष्ट्रहरुसँग आफ्नो हित रक्षा गर्न र शान्तिपूर्ण सम्बन्ध कायम राख्न प्रयोग गर्ने मुख्य साधनका रुपमा लिइन्छ ।
कूटनीतिलाई हेराल्ड निकल्सनले – कुटनीति भनेको स्वतन्त्र राज्यहरू बीचको आधिकारिक सम्बन्ध सञ्चालनमा व्यापार वा व्यवसायको प्रयोग हो भनेका छन् । त्यस्तै अक्सफोर्ड डिक्सनरी का अनुसार – कुटनीति अन्तर्राष्ट्रिय सम्बन्धहरू सञ्चालन गर्ने कला हो, जसमा विशेष गरी विदेशमा आफ्ना प्रतिनिधिहरू पठाएर वार्ता र समझदारी गरिन्छ ।
यसका मुख्य उद्देश्यहरूलाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ –
* राष्ट्रिय हितको रक्षा-
आफ्नो देशको सुरक्षा, आर्थिक र राजनीतिक स्वार्थको जगेर्ना गर्ने,
* शान्तिस्थापना –
युद्ध वा द्वन्द्वको अवस्था आउन नदिई शान्तिपूर्ण ढङ्गले विवाद सुल्झाउने,
* सम्बन्ध बिस्तार-
अन्य देशहरूसँग मैत्रीपूर्ण, व्यापारिक र सांस्कृतिक सम्बन्ध बलियो बनाउने,
* अन्तर्राष्ट्रिय सहयोग-
जलवायु परिवर्तन, महामारी वा गरिबी जस्ता साझा वैश्विक चुनौतिहरूमा मिलेर काम गर्ने ।
नेपालको संविधान २०७२ र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ द्वारा आधुनिक नेपाली कानुनमा राजदूतको नियुक्ति, योग्यता र कार्यक्षेत्र सम्बन्धी व्यवस्था गरिएका छन् । आधुनिक नेपाली कानूनमा राजदूत सम्बन्धी भएका मुख्य व्यवस्थाहरू निम्न लिखित रहेका छन्-
१. संवैधानिक व्यवस्था( नेपालको संविधान,२०७२ मा उल्लेख)
* नियुक्ति (धारा २८२) :
नेपालको संविधानको धारा २८२ (१) अनुसार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र विशेष प्रतिनिधि नियुक्त गर्ने व्यवस्था छ ।
* ओहोदाको प्रमाणपत्र :
नेपालका लागि नियुक्त भई आउँने विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र (Credentials) राष्ट्रपतिले बुझ्ने व्यवस्था छ ।
* संसदीय सुनुवाई (धारा २९२) :
राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको नियुक्ति हुनुभन्दा अगाडि संसदीय सुनुवाई समितिबाट अनिवार्य रूपमा सुनुवाइ हुनुपर्ने व्यवस्था छ।
२. योग्यता र मापदण्ड (राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५)
परराष्ट्र मन्त्रालयले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार राजदूत हुनका लागि निम्न लिखित योग्यता आवश्यक पर्दछ-
* उमेर नागरिकता :
न्यूनतम ३५ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने,
* शैक्षिक योग्यता :
नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक (Bachelor’s Degree) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने । केही विशेष सेवा वा खुल्ला प्रतिस्पर्धामा स्नातकोत्तर माग गरिन्छ भने मन्त्री भैसकेका व्यक्तिहरूलाई यसले बाधा गर्दैन),
* विदेशी आवासीय अनुमति नभएको-
राजदूत हुन चाहेको व्यक्ति कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (जस्तै PR, Green Card) आदि नलिएको हुनुपर्ने,
* आचरण –
उच्च नैतिक चरित्र भएको र अदालतबाट फौजदारी वा भ्रष्टाचारको अभियोगमा सजाय नपाएको हुनुपर्ने,
* भाषा र ज्ञान-
अंग्रेजी भाषामा राम्रो ज्ञान भएको र नेपालको परराष्ट्रनीति, अन्तर्राष्टिय सम्बन्ध र कूटनीतिबारे स्पष्ट बुझेको हुनुपर्ने ।
३. कोटा र कार्यकाल सम्बन्धी व्यवस्था
* परराष्ट्र सेवा र राजनीतिक कोटा –
निर्देशिका अनुसार कूल राजदूत पदको कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाका बहालवाला राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीका अधिकृतहरू (क्यारियर डिप्लोम्याट) मध्येबाट नियुक्त गर्नुपर्छ । बांकी ५० प्रतिशतमा राजनीतिक तथा कूटनीतिक क्षेत्रका विज्ञहरुलाई नियुक्त गर्न सकिने व्यवस्था छ ।
* कार्यकाल :
सामान्यतया राजदूतको कार्यकाल कार्यभार सम्हालेको मितिदेखि ४ वर्षको हुने गर्दछ ।
* फिर्ता बोलाउने अधिकार :
सरकारले आवश्यक ठानेमा अवधि पूरा हुनु अगावै जुनसुकै समयमा पनि राजदूतलाई फिर्ता (Recall) बोलाउन सक्ने अधिकार नेपाल सरकारसंग सुरक्षित रहन्छ ।
* पुनः नियुक्तिः
निर्देशिकाको नियम अनुसार एउटै मुलुकमा लगातार दोस्रो कार्यकालका लागि पुनः नियुक्ति गर्न पांइदैन ।
४. नयाँ अभ्यास (खुला प्रतिस्पर्धा)
पछिल्लो समयमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले
राजदूत चयन प्रक्रियालाई थप पारदर्शी र मर्यादित बनाउन खुला प्रतिस्पर्धा (Open Application) मार्फत् योग्यता पुगेका नागरिकबाट आवेदन संकलन गर्ने र कार्ययोजना (Action Plan) को मूल्याङ्कन गरी नियुक्ति गर्ने नयाँ अभ्यासको सुरुवात समेत गरेको छ।
२. दूतको योग्यता (Qualification of Envoys)
मनुका अनुसार राज्यको परराष्ट्र नीति सन्धि, विग्रह आदि दूतका अधीनमा हुन्छन् (……दूते सन्धिविपर्ययौ, अ.७, श्लो.६५) । कस्ता व्यक्तिलाई राजदूत नियुक्त गर्नुपर्छ भन्ने विषयमा पुन: लेख्छन्-
दूतं चैव प्रकुर्वीत सर्वशास्त्रविशारदम् ।
इंगिताकारचेष्टज्ञं शुचिं दक्षं कुलोद्गतम् ।।(मनु.अ.७,श्लो.६३) ।
अर्थात् सबै शास्त्रमा कुशल, इशारा, आकार वा अनुहार र आँखाको भाव र चेष्टा हेरेर मनको भाव बुझ्न सक्ने, पवित्र चरित्र भएका, दक्ष र कुलीन व्यक्तिलाई राजदूत नियुक्त गर्नुपर्दछ ।
अनुरक्त: शुचिर्दक्ष: स्मृतिमान् देशकालवित् ।
वपुष्मान्वीतभीर्वाग्मी दूतो राज्ञ: प्रशस्यते ।।(मनु.अ.७,श्लो.६४) ।
अर्थात् सबैलाई प्रेम गर्ने, पवित्र चरित्र भएको, दक्ष, मेधावी, देश-काल जान्ने, सुन्दर शरीर भएको, निर्भीक र कुशल वक्ता राजदूतका प्रशंसनीय गुण हुन् । मनुका अनुसार दूतले नै बिग्रेका व्यवहार मिलाउँछन् र मिलेको व्यवहार बिगार्दछन् पनि । दूतले शत्रुपक्षका मानिसहरूलाई छिन्नभिन्न पारिदिन्छन् । त्यसकारण दूत कस्तो हुनुपर्दछ भने-
स विद्यादस्य कृत्येषु निगूढेंगितचेष्टितै: ।
आकारमिंगितं चेष्टां भृत्येषु च चिकीर्षितम् ।(मनु.अ.७,श्लो.६७)।
अर्थात् दूतले प्रतिपक्षी राजाका विभिन्न कार्यमा नियुक्त सेवकहरूको इशारा र चेष्टा एवं राजाको तिनीहरूप्रतिको भाव बुझ्नुपर्दछ । दूतबाट प्रतिपक्षी राजाका सम्पूर्ण व्यवहार बुझेर राजाले परराष्ट्र नीति निर्माण गर्नुपर्दछ भन्ने मनुको विचार छ ।
कौटिल्यका विचारमा अमात्यका निम्ति तोकिएका योग्यता सरहनै दूतका निम्ति पनि योग्यता निर्धारण गरिएको छ । स्वदेशमा नै जन्मिएको, कुलीन, अवगुणरहित, निर्भिक स्मरण शक्ति राम्रो भएको, असल वक्ता, मितभाषी, मृदुभाषी, अर्थ. राजनीतिशास्त्रको ज्ञाता, उत्साही, प्रभावशाली, सहिष्णु, पवित्र, मित्रताका लागि योग्य, स्वामीभक्त, सुशील, समर्थ, स्वस्थ, धैर्यवान्, अभिमानरहित, चञ्चलतारहित, सुन्दर र द्वेषको भावना नराख्ने व्यक्ति राजदूतका लागि योग्य मान्ने कौटिल्यको मत छ (कौटिल्य, २०००, अधि. १, अ.८) । यसरी अन्य योग्यताका साथै असल नैतिक चरित्र दूतका लागि पनि नियुक्तिको आधार मानेको पाइन्छ ।
३. दूतका प्रकार (Types of Envoys)
मनुका अनुसार शान्तिकालीन दूत र संकटकालीन दूत गरी दूत दुई प्रकारका हुन्छन्-
१. शान्तिकालिन दूत- जसले सामान्य दिनहरुमा दुई राज्यका बीचमा मैत्रीपूर्ण सम्बन्ध राख्तछ र सन्देशहरुको आदान-प्रदान गर्ने कार्य गरी रहन्छ।
२. संकटकालीन दूत- जसलाई युद्ध अथवा विशेष विवाद उत्पन्न भएको स्थितिमा सन्धि सम्झौता वा कूटनीतिक वार्तालापका लागि पठाइन्छ । यसका अतिरिक्त निसृष्टार्थ, परिमितार्थ वा मितार्थ, र शासनहारक दूत आदि अन्य प्रकारको पनि उल्लेख भएको पाइन्छ।
आधुनिक कूटनीतिक अभ्यासमा जस्तै प्राचीन कालमा पनि विभिन्न प्रकारका दूत नियुक्त हुन्थे भन्ने कौटिल्यको मत रहेको छ। उनका अनुसार निसृष्टार्थ, परिमितार्थ र शासनहार गरी तीन श्रेणीका दूत हुन्छन् (कौटिल्य, २०००, अधि.१, अ.१५) । दूतको वर्गीकरणको आधार योग्यता र कार्य क्षमता रहेको कौटिल्यको विचार छ।
(१) निसृष्टार्थ : अमात्यका निम्ति आवश्यक पर्ने योग्यता भएको दूतलाई निसृष्टार्थ दूत भनिन्छ ।
(२) परिमितार्थः अमात्यका निम्ति तोकिएका योग्यतामध्ये एक चौथाई योग्यता कम भएको दूतलाई परिमितार्थ दूत भनिन्छ ।
(३) शासनहारः अमात्यका निम्ति निर्धारित योग्यतामध्ये आधा योग्यता भएको दूतलाई शासनहार भनिन्छ (कौटिल्य, २०००, अधि. १, अ.१५)।
४. दूतका विशेषाधिकार (Privileges of Envoys)
मनुका अनुसार राजदूतको गरिमा र सुरक्षालाई सुनिश्चित गर्नका लागि विशेष कूटनीतिक विशेषअघिकारहरू(Diplomatic Privileges and Immunites) को विधान गरिको छ-
१. अवध्यता- मनुका अनुसार शत्रु देशकै दूत भएता पनि र जस्तो सुकै अप्रिय सन्देश लिएर आएको भए पनि दूतको हत्या गर्नुहुँदैन।
२. सन्देशको स्वतन्त्रता र उन्मुक्ति- (freedom of speech)
* दूतले आफ्नो राजाको सन्देश हुबहु विना कुनै डर दोस्रो राजाको समक्षमा राख्नु पर्दछ ।
* कूटनीतिक सन्देश जतिसुकै कठोर, तीतो र अपमान
जनक भएपनि दूतलाई उत्तरदायी ठानेर दण्डित गर्नुहुँदैन ।
३. व्यक्तिगत सुरक्षा (Immunity from Detention)
* दूतलाई कुनै पनि बाहिरी राज्यमा बन्दी बनाउन मिल्दैन र शारीरिक यातना पनि दिन मिल्दैन ।
* दूत बसेको राज्यले दूतका लागि आवास, भोजन र आवागमनको समयमा पूर्ण सुरक्षाको व्यवस्था गर्नुपर्दछ ।
४. गोप्य (गुप्त) सूचनाहरु एकत्रित गर्ने छुट
* दूतलाई अर्काको राज्यमा बसेर पनि त्यहाँका मन्त्री, सेना र व्यवस्थाका बारेमा जान्ने विशेष अधिकार हुन्छ ।
* दूतलाई अरु राज्यको सामर्थ्य र कमजोरीहरू पत्ता लगाउने
अधिकार हुन्छ, ताकि उसले आफ्नो राजालाई समयमै सतर्क गराउन सकोस् ।
मनुका यी सिद्धान्तहरूलाई आधुनिक अन्तर्राष्ट्रिय कानूनमा वियना कन्वेशन (Vienna Convention on Diplomatic Relations) का रुपमा मान्यता प्राप्त छ, जुन आजको वैश्विक कूटनीतिको आधारको रूपमा रहेको छ।
प्राचीन हिन्दु राज्य व्यवस्थामा दूतलाई विशिष्ट स्थान प्रदान गरेको पाइन्छ । राजधर्मको मान्यताअनुसार दूत जुनसुकै जातिको व्यक्ति भएपनि अवध्य मानिन्थे (कौटिल्य,२०००, अधि. १, अ.१५) । यसका साथै दूतलाई घुमफिरको विशेष अधिकार प्रदान गर्ने परम्परा हिन्दु राजनीतिक चिन्तनमा थियो । वर्तमान कूटनीतिमा राजदूतका लागि दिइने कूटनीति विशेषाधिकारसँग मिल्दा मान्यता प्राचीन कालमा नै हिन्दु राज्य व्यवस्थामा अभ्यास गर्ने गरेको पाइन्छ । रामायणमा भगवान् रामको दूतका रूपमा हनुमान् रावणको दरबारमा उपस्थित भएका थिए । त्यसैगरी महाभारतमा पाण्डवका तर्फबाट भगवान् कृष्ण दूतको रूपमा धृतराष्ट्रको दरबारमा उपस्थित भएका थिए। रामायणमा रावणले कूटनीतिक मर्यादा उल्लङ्घन गरी हनुमानलाई दण्ड दिएको चर्चा छ । कूटनीतिक मर्यादा उल्लङ्घन गर्नु अनैतिक मान्ने परम्परागत मान्यताको कौटिल्यले पनि समर्थन गरेको देखिन्छ ।
५. दूतका कार्य (Functions of Envoys)
मनुका अनुसार दूतका मुख्यकार्य
१. सन्धि र युद्ध गराउनु
मनुका अनुसार दूतको मुख्य कार्य भनेको दुई राज्य बीचमा सन्धि वा विग्रह गर्नु हो। …… दूते संधिविपर्ययो। (अनु.अ.७, श्लो ६५ को अन्तिमपाउ) । अर्थात् दुई राज्यका बीचमा सन्धि (Alliance) गराउनु वा यसको विपरीत विग्रह (war) को स्थिति उत्पन्न गर्नुमा दूतको हात रहन्छ।
२. शत्रुलाई छोडाउनु र मित्रलाई जोड्नु
दूत एव हि संधत्ते भिनत्त्येव च संहताम्।
दूतस्तत्कुरुते कर्म येन भिद्यन्ते वा न वा । (मनु.अ.७,श्लो.-६६) । अर्थात् दूतले नै आपसमा रिसाएका राज्यको मेल वा सन्धि गराउँछन् र दूतले नै शत्रुहरूको गठबन्धनलाई छिन्नभिन्न पनि गराउँछन् । दूतले नै यस्तो कूटनीतिक कार्य गर्दछन् जसबाट शत्रुहरू आपसमा लड्छन् पनि र नष्ट हुनबाट बच्दछन् पनि ।
३. शत्रुका गुप्त रहस्य र योजनाहरू पत्ता लगाउनु राजदूतको कार्य केवल सन्देश दिनु मात्र होइन, अपितु शत्रु राजाको मनका भावना र गुप्त रणनीतिहरु पनि पत्ता लगाउनु हो ।
स विद्यादस्य कृत्येषु निगूढेङ्गितचेष्टितैः ।
आकारं इङ्गितं चेष्टां भृत्येषु च चिकीर्षितम् ॥ (मनु. अ.७, श्लो ६७)।
अर्थात् दूतले शत्रुको देशमा रहेर त्यहाँका राजाको हाउभाउ, (Gestures), गुप्त चेष्टाहरू तथा तिनका नोकरचाकर र मन्त्रीहरूको व्यवहारबाट तिनका मनमा रहेको विचारहरू र गोप्य योजनाहरुको पत्ता लगाउनु पर्दछ।
४. राजालाई संकटबाट बचाउनु
राजालाई सल्लाह दिंदै मनु भन्दछन् कि दूतको सूचनाका आधारमा राजाले के गर्नु पर्दछ भने-
बुध्वा च सर्वं तत्त्वेन परराजचिकीर्षितम् ।
तथा प्रयत्नमातिष्ठेद्यथात्मानं न पीडयेत् ।। (मनु,अ.७,श्लोक ६८) अर्थात् दूतका माध्यमबाट दोस्रा राजाको सबै गुप्त योजनाहरुको यथार्थतालाई जानेर राजाले तुरुन्त आफ्नो रक्षा र कूटनीतिको यस्तो प्रबन्ध गर्नु पर्दछ कि जसबाट आफ्नो राज्यलाई कुनै पनि किसिमको हानी नोक्सानी नपुगोस् ।
त्यसैगरी कौटिल्यका अनुसार दूत राजाका मुख मानिन्थे । राज्यहरूबीचको पारस्परिक सम्बन्ध दूतको निपुणता तथा कार्यशैलीमा निर्भर हुन्छ भन्ने कौटिल्यको मान्यता रहेको छ । उनीद्वारा निर्धारित दूतका प्रमुख कार्य निम्न अनुसार रहेका छन् ।
१. आफ्नो राजाको संदेश अर्को राजासम्म पुराउनु,
२. आफ्नो राज्यको कार्यसिद्धिका लागि आवश्यक वार्ता गर्नु,
३. सन्धिका नियम पालना गराउंनु,
४. अर्को राज्यको पदाधिकारी एवं गुप्तचरसँग मिली राजाको गोप्य रहस्य पत्ता लगाउनु अर्थात् गुप्तचरको काम गरेर सूचना जम्मा गर्नु,
५. आफ्नो राज्यका मित्र बढाउनु,
६. शत्रुका मित्रबीच विभाजन वा भेद सिर्जना गराउनु,
७. शत्रुका आफन्त एवं निकटतम व्यक्तिका बारेमा पूर्ण जानकारी प्राप्त गर्नु,
८. सूचना गोप्य राखेर शत्रुलाई दण्ड दिने व्यवस्था मिलाउनु,
९. बन्दीको रूपमा रहेका राजकुमारलाई मुक्त गराउनु,
१०. शत्रुका बान्धव एवं रत्न आदि धन अपहरण गर्नु,
११. शत्रुका देशमा बसेर गुप्तचरका कार्यको निरीक्षण गर्नु,
१२. उपयुक्त समयमा पराक्रम देखाउनु र
१३. मारण, मोहन, उच्चाटन आदिको प्रयोग गर्नु (कौटिल्य, २०००, अधि.१. अ.१५)।
दूतले शत्रु राज्यका योग्य व्यक्तिहरूबीच विभाजन ल्याई आफ्नो पक्षमा मिलाउने काम गर्नुपर्छ भन्ने कौटिल्यको विचार छ । विभाजन ल्याउन नसक्ने स्थितिमा तिनीमाथि सूक्ष्म दृष्टि दिएर जानकारी प्राप्त गर्नुपर्छ । दूतले शत्रु राज्यका कमजोरी पत्ता लगाउनु पर्छ । शत्रु राज्यका महत्त्वपूर्ण स्थानका विषयमा सूचना प्राप्त गर्नुपर्छ । दूतले यी कामका लागि आफ्नो राज्यका गुप्तचरको सहयोग पनि लिनसक्छ भन्ने कौटिल्यको विचार छ । उनको दूतसम्बन्धी व्यवस्थाको अवलोकनबाट उनले दूतलाई अन्तरराज्य सम्बन्धमा महत्त्वपूर्ण स्थान दिएको निष्कर्ष निकाल्न सकिन्छ । उनले तोकेका दूतका योग्यता र विशेषाधिकार वर्तमान सन्दर्भमा समेत सामयिक देखिन्छन् ।
६. राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ र हालै परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको आधिकारिक कार्यशर्त (Terms of Reference – ToR) बमोजिम नियुक्त भई जाने राजदूतको मुख्य काम, कर्तव्य र अधिकारलाई देहाय बमोजिम निर्धारण गरिएको छ-
१. कूटनीतिक र राजनीतिक कार्यहरू (Diplomatic and Political Duties)
* नेपालको प्रतिनिधित्व:
राजदूतले नियुक्त भएको मित्रराष्ट्र वा कूटनीतिक नियोगमा नेपाल सरकारको आधिकारिक प्रतिनिधित्व गर्ने।
* परराष्ट्र नीतिको कार्यान्वयन:
नेपालको परराष्ट्र नीति, राष्ट्रिय हित र असंलग्नताको सिद्धान्त अनुरूप कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने।
* द्विपक्षीय/बहुपक्षीय वार्ता:
द्विपक्षीय हितका विषयमा मित्रराष्ट्रको सरकारसँग आवश्यक संवाद, कूटनीतिक छलफल र वार्ताहरू सञ्चालन गर्ने।
* विवरण तथा प्रतिवेदन पेश गर्ने:
सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक र अन्य समसामयिक घटनाक्रमबारे परराष्ट्र मन्त्रालयमा नियमित र सारभूत कूटनीतिक प्रतिवेदनहरू (Substantive Reports) बुझाउने।
२. आर्थिक कूटनीति र प्रवर्द्धन (Economic Diplomacy and Promotion)
* व्यापार र पर्यटन प्रवर्द्धन:
नेपालको व्यापार घाटा कम गर्न नेपाली उत्पादनहरूको बजार प्रवर्द्धन गर्ने तथा नेपालमा विदेशी पर्यटक भित्र्याउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने।
* वैदेशिक लगानी (FDI) आकर्षण: नेपालका प्राथमिकताका क्षेत्रहरू (जस्तै: जलविद्युत्, पूर्वाधार, पर्यटन, सूचना प्रविधि) मा विदेशी लगानी आकर्षित गर्न लगानीकर्ताहरूसँग समन्वय गर्ने।
* विकास सहायता परिचालन: नेपालको राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा द्विपक्षीय वा बहुपक्षीय अनुदान, सहयोग र आर्थिक सहायता परिचालनका लागि पहल गर्ने।
३. नेपाली नागरिकको हित र श्रम कूटनीति (Consular and Labor Diplomacy)
* नागरिकको संरक्षण र उद्धार:
सम्बन्धित मुलुकमा रहेका, अध्ययनरत वा कार्यरत नेपाली नागरिकहरूको हकहितको संरक्षण गर्ने र आवश्यक परेको खण्डमा उद्धार तथा कन्सुलर सेवा उपलब्ध गराउने।
* सुरक्षित र मर्यादित श्रम प्रवर्द्धन:
(विशेष गरी श्रम गन्तव्य मुलुकहरूमा) नेपाली श्रमिकहरूको न्यूनतम ज्याला, कार्यथलोको सुरक्षा, बिमा र मानवअधिकार सुनिश्चित गर्न कडा कूटनीतिक पहल गर्ने।
* द्विपक्षीय श्रम सम्झौता:
श्रमिकहरूको हकहित अनुकूल हुने गरी मित्रराष्ट्रसँग नयाँ श्रम सम्झौता (Labour Agreement) वा समझदारी पत्र (MoU) परिमार्जन वा कार्यान्वयन गर्न समन्वय गर्ने।
४. नियोग सञ्चालन र प्रशासनिक अधिकार (Administrative and Financial Powers)
* नियोग प्रमुख (Head of Mission) को भूमिका:
आफू मातहतको राजदूतावास वा नियोगको प्रमुख भई सम्पूर्ण प्रशासनिक र आर्थिक क्रियाकलापहरूको नेतृत्व गर्ने।
* स्रोत र साधनको व्यवस्थापन:
नेपाल सरकारको आर्थिक ऐन, नियम र निर्देशिका बमोजिम दूतावासको वित्तीय, मानवीय (Human Resources) र भौतिक स्रोतहरूको पारदर्शी व्यवस्थापन गर्ने।
* पूर्व स्वीकृति अनिवार्य:
परराष्ट्र मन्त्रालयको पूर्व स्वीकृति नलिई आफ्नो कार्यक्षेत्र (Duty Station) भन्दा बाहिर वा अन्य मुलुकमा भ्रमण गर्न नपाइने।
* आचारसंहिताको पालना:
परराष्ट्र मन्त्रालयले तोकेको आचारसंहिता (Code of Conduct) को पूर्ण पालना गर्दै पदको गरिमा र कूटनीतिक मर्यादा उच्च राख्ने।
७. अन्तरसम्बन्ध (Inter- Relation)
कूटनीति व्यवस्था सम्बन्धी प्राचीन धर्मशास्त्र र आधुनिक न्यायप्रणाली बीच गहिरो अन्तरसम्बन्ध रहेको छ। प्राचीन नैतिक र रणनीतिक सिद्धान्तहरु नै परिमार्जित भएर आधुनिक कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका संवाहक बनेका छन् । प्राचीन समयको राजधर्म, नीतिशास्त्र र कौटिल्यको अर्थशास्त्र जस्ता ग्रन्थहरूले प्रतिपादन गरेका सिद्धान्तहरू नै आधुनिक न्याय र कूटनीतिका जग हुन् ।
कूटनीतिक दूत र प्रतिरक्षा (Diplomatic Immunity) का सम्बन्धमा प्राचीन अवधारणा रामायण, महाभारत र धर्मशास्त्रहरूमा दूत अवध्य हुन्छ अर्थात् दूतको हत्या वा अपमान गर्न पांइदैन भन्ने कठोर नियम थियो भने यसको आधुनिक रुप भनेको आधुनिक अन्तर्राष्ट्रिय कानुन (भियना महासन्धि) ले कूटनीतिज्ञहरूलाई दिने कूटनीतिक उन्मुक्ति र विशेषाधिकार (Diplomatic Immunity) यसैको विकसित रूप मानिन्छ।
प्राचीन समयमा कूटनीति र दूतका सम्बन्धमा विवेचन गरिएका ग्रन्थहरुको मुख्य स्रोतका रूपमा वेद, स्मृतिग्रन्थ, अर्थशास्त्र, सदाचार आदि रहेका थिए भने आधुनिक कूटनीतिका मुख्य स्रोतमा संविधान, ऐन र अन्तर्राष्ट्रिय सन्धिहरू रहेका छन्। प्राचीन समयमा धर्म अनुरुपको शासन व्यवस्था भएकाले कूटनीति र राजदूत सम्बन्धमा पनि धर्म, नैतिक र दैवी कानुनमा आधारित थियो भने आधुनिक समयमा संविधान र कानुनको शासन भएकाले तदनुरूपको व्यवस्था भएको पाइन्छ। प्राचीन समयको वैदेशिक सम्बन्ध मण्डल सिद्धान्त र षड्गुण नीतिमा आधारित थियो भने आधुनिक समयमा पंचशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको वडापत्र अनुरुप रहेको छ ।
प्राचीन समयमा दूतको स्थिति अवध्य(Unassailable) हुन्थ्यो भने आधुनिक समयमा दूतलाई कूटनीतिक उन्मुक्ति (Diplomatic Immunity) को व्यवस्था रहेको पाइन्छ । प्राचीन धर्मशास्त्रले न्याय र कूटनीतिलाई नैतिकता र कर्तव्यको कसीमा राखेर हेर्थ्यो भने आधुनिक व्यवस्थाले त्यसलाई लिखित कानुन, सन्धि र संस्थागत संरचनामा ढालेको छ। स्वरूप बदलिए पनि प्राचीन दर्शनको सारतत्त्व आधुनिक न्याय र कूटनीतिमा जीवन्त छ ।
यसरी कूटनीति र दूत सम्बन्धमा प्राचीन र आधुनिक कानुनमा गहिरो अन्तरसम्बन्ध रहेको छ। नरहोस् पनि किन ? किन भने आधुनिक कानुनको पनि मुख्य श्रोत प्राचीन धर्मशास्त्रहरू नै हुन् । आधुनिक कानुनले कम्तीमा स्नातक पास गरेको व्यक्ति दूतका लागि योग्य मानेको छ भने प्राचीन धर्मशास्त्रले पनि पढे लेखेको र उच्च नैतिकता भएको र चतुर दक्ष व्यक्तिलाई दूत बनाउनु पर्छ भनेको छ । मनुले भने जस्तै शान्तिकालीन दूत र संकटकालीन दूतको व्यवस्था आजको कानुनमा पनि रहेको पाइन्छ । आधुनिक समयमा जुन किसिमका दूतका विशेषाधिकारहरूको व्यवस्था भएको छ सोही किसिमको विशेषाधिकार प्राचीनकालमा पनि रहेको देखिन्छ । दूतका मुख्य कार्यहरू जुन रुपमा हाम्रा प्राचीन धर्मशास्त्रहरूमा उल्लेख भएका छन् सोही अनुरूपको कार्य राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा पनि व्यवस्था भएको पाइन्छ ।
अन्त्यमा नेपाल हिन्दु धर्माबलम्वीहरूको बाहुल्यता भएको र केही समय पूर्वसम्म हिन्दु अधिराज्य पनि रहेकाले यहाँका कानुनहरूको मुख्य श्रोतका रूपमा हिन्दु धर्मग्रन्थहरू नै रहेका छन् । तिनीहरूमा व्यवस्था भएका अधिकांश नीति नियमहरूको प्रत्यक्ष प्रभाव आधुनिक कानुनमा पनि रहेको छ। यसै सन्दर्भमा कूटनीति र राजदूतका सम्बन्धमा पनि हाम्रा प्राचीनकालका ग्रन्थहरूले अबलम्वन गरेका सिद्धान्तहरू नै आधुनिक कानुनले पनि स्वीकार गरेको छ । यति हुँदाहुँदै पनि देश, काल र परिस्थिति अनुसारको परिष्कार र परिमार्जन भने तिनीहरुमा भएको नै पाइन्छ । आधुनिक समयमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि सम्मेलनहरुले पारित गरेका नियमहरूलाई पनि विभिन्न राष्ट्रहरूले अवलम्वन गर्नुपर्ने कतिपय बाध्यकारी अवस्था भएकाले तिनीहरूमा केही मात्रामा थपघट भएता पनि मूल रूपमा तिनै प्राचीन धर्मग्रन्थहरुमा उल्लेख गरिएका नीति नियमहरू नै आधुनिक नेपाली कानुनहरूका मुख्य श्रोत हुन् । त्यसकारण पनि कुटनीति र राजदूत सम्वन्धी जुन व्यवस्था हाम्रा धर्मशास्त्रहरूले गरेका छन् त्यसको प्रत्यक्ष रूपमा प्रभाव परेको आधुनिक नेपाली कानुनहरू रहेकाले ती प्राचीन कानुनी व्यवस्था र आधुनिक कानुनी व्यवस्थामा गहिरो अन्तरसम्बन्ध रहेको देखिन्छ ।
लेखक डा. खतिवडा अधिवक्ता तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक हुनुहुुन्छ ।
