सम्झनामा अखिलेश्वर गुरु
डा. दिलनाथ दंगाल । ३० कार्तिक, काठमाडौं । २०४७ साउनमा एस एल सीको रिजल्ट प्रकाशित भएपछि गणित विषय अध्ययन गर्ने अभिलासा बोकेर म जव दमक क्याम्पसमा भर्ना भएँ, क्याम्पसमा भर्ना भए पछि मात्र थाहा पाए कि अनिवार्य विषयहरुलाई छोडेर तीन ओटा ऐच्छिक विषयहरु छान्नु पर्ने रहेछ । एउटा गणित विषय त पढ्ने भनेर गएपछि छान्नेको समस्या भएन बाँकी दुई ओटा विषयहरु छान्ने क्रममा म अलमल परे, त्यही समयमा एउटा साथीले ३,४ ओटा विषयमा कक्षा हेरौं अनी विषय छानौला भन्ने सल्लाह दियो । सोहि अनुसार हामी नेपाली, राजनीति शास्त्र, इतिहास र अर्थशास्त्रको कक्षामा बस्यौं । नेपाली विद्यालयमा अध्ययन गरेको विषय भए पनि बाँकी तीन मेरालागि नयाँ थिए । अर्थशास्त्र मैले कहिल्यै पढेको थिईन तर जव कक्षामा बसे तव सरको पढाउने र बुझाउने कला, अर्थशास्त्र विषयको स्कोपका बारेमा सरको स्पष्ट धारणा, सरको कक्षामा आउने पङ्चुवल समय, हाम्रा जिज्ञासको समाधान गर्ने सरको कलाले मलाई अर्थशास्त्र विषय छान्नमा प्रेरित गर्यो र थोरै चाहि म गणितको विद्यार्थी अर्थशास्त्रमा ४० प्रतिशत गणित अध्ययन गर्नु पर्ने भएर परिक्षामा राम्रो गर्ने आँटले पनि मलाई त्यतातीर आर्कषित गरेको थियो ।
म कहिल्यै अर्थशास्त्र नपढेको विद्यार्थी भए पनि कक्षामा पढ्दै जाँदा यो विषयले त जिवन र जगत पो चिनाउँदो रहेछ जस्तो लाग्न थाल्यो । मलाई यो लगाउने पहिलो व्यक्ति कोहि नभएर उहि मेरो आदरणीय गुरु अखिलेश्वर लाल दास सर हुनुहुन्थ्यो । शुरुमा अर्थशास्त्र विषयमा खासै रुचि र चासो नभए पनि पछि सरको पढाउने, बुझाउने र यहि विषयमा भविश्य देखाउने कला, सरको सामान्य र सरल जिवन शैली आदीले नेपाली साहित्य, कथा र कविता पढे जसरी रुचि बढाउन थाल्यो । पछि सहजै प्रविणता प्रमाण पत्र तह उतिर्ण गरियो । म गणित पढ्न दमक क्याम्पस गएको, साथमा रुचिको विषय भएको हुनाले दोस्रो प्राथमिकतामा परेको नेपाली विषय स्नातकमा पुग्दा त्यसको ठाँउ अर्थशास्त्रले लिई सकेको थियो । यो पटक भने मलाई आई ए भर्ना गर्न आउँदा जस्तो विषय छान्नमा कुनै सकस भएन र गणित र अर्थशास्त्र लिएर अध्ययन गर्ने टुङ्गोमा पुँगे । म त्यो समयमा विद्यार्थीको नेत्रित्व पनि गर्ने भएकोले क्याम्पस प्रशासनसंग मेरो थोर बहुत पहुँच बनी सकेको थियो जसको कारणले क्याम्पसमा अर्थशास्त्र र गणित कसले पढाउँछ सोहि अनुसार हामी दमक क्याम्पसमा भर्ना हुने जनाएर क्याम्पस प्रसाशनसँग कुरा गरियो । अर्थशास्त्रमा अखिलेस सरले कक्षालिने टुङगो भएकोले खुशीसाथ स्नातकको भर्ना पनि दमक क्याम्पसमै गरियो । यो समय सम्म आईपुग्दा केहि म्याचुअड भई सकिएकोले देशमा देखिएको अर्थतन्त्रका बारेमा, मूल्यवृद्धिका बारेमा, विदेशी मुद्रको विनिमयका बारेमा, लगानी, रोजगारी, उत्पादन आदीका बारेमा सरसँग जिज्ञासा राख्न थालि सकेको थिए । तर वास्तविकतामा रहेर जति सुकै जिज्ञासा राखे पनि उत्तर दिन नझकिर्ने र सहज रुपले उत्तर दिने सरको कलाले मलाई झनै सरप्रति आर्कषित गर्न थाल्यो । म आफै कमाएर पढ्नुपर्ने विद्यार्थी भएको हुनाले उर्लावारीमा गणितको ट्यूशन पढाउथे । त्यो समयमा म पनि सरबाट प्रेरित भएर विद्यार्थीले जस्तो सुकै प्रश्न गरेपनि सरकै शैलिले उत्तर दिने प्रयास गर्न थाले । कक्षा कोठामा छिर्नासाथ सरले बुँदा लेखेर ल्याएको पानाले बोर्ड मेट्दा चकको धुलो मुखमा पस्नबाट बच्न मुख छोपे जसरी म पनि रुमालले मुख छोपेर बोर्ड मेट्न थाले । त्यो समयमा सरले कपडाको खैरो रंगको सिलाएको पेन्ट लगाउनु हुन्थ्यो मैले पनि धेरै समय बजारमा खोजेर सोहि रंगको पेन्ट किनेर लगाई क्याम्पसमा जाँदा साथीहरुले जिस्काएको अहिले पनि मनमा ताजै छ । यो भन्नुको मतलव अखिलेश सर त्यो समय सम्म आई पुग्दा मेरो रोलमोडल भईसक्नु भएको थियो ।
सरले प्राय क्यान्टीनमा खाजा वा चिया खाएर समय विताएको मलाई खासै याद छैन । तर एक दिन मैले धेरै अनुरोध गरे पनि सरले कुनै दिन खाउला भन्नु भयो । म त्यो दिन कुरेर बसे तर चिया खाने दिन आउला जस्तो लागेन । फेरी मैले सरलाई भने सर अव हामी स्नातक सक्ने अवस्थामा छौ, हाम्रो आगामी अध्ययन र भविश्यका बारेमा सरसँग वस्नु छ भने पछि सरले भोलीको कक्षा समापन पछि वस्ने जनाउ दिनु भयो । म भोलिको प्रतिक्षामा बसेँ अहिले पनि मलाई याद छ, त्यो रात म एकदमै कम निदाए, कुनै बालकले दशैं आउँदा वा आफुलाई मन परेको वस्तु प्राप्त गर्ने समय कुर्दा जस्तो अनुभव हुन्छ म सोहि अवस्थामा थिए । भोलि सर नआउनु होलाकी, मलाई सञ्चो नहोलाकी, म उर्लावारीबाट साईकलमा क्याम्पस जाने भएको हुनाले साईकल विग्रेलाकी आदी आदी । तर, भोलि क्याम्पस गए यता उती सरको चियो गरे तर एक घण्टी समापन पछि अगाडीको साईकल स्टान्ड भन्दा केहि पर रहेको काजुको बोटनेरबाट सर आउनु भएको देखेँ । मनमा खुशी त भयो नै तर कतिवेला कक्षा सकिन्छ भन्नेमा मन चञ्चल भई रह्यो । कक्षा समापन पछि सरसँग वस्ने योजना त बन्यो तर क्याम्पस हाता भित्र होईन । क्याम्पस भन्दा केहि माथी पुर्व पश्चिम राजमार्गको नजिकमा रहेको मिलको छेउको एउटा सानो पसलमा । त्यो पसलमा कम्तीमा दुई घण्टा जति सर र म बस्यौ । त्यसपछि मैले जिवन र जगतलाई नजिकबाट बुझ्ने मौका पाएँ । समाज के हो? मानिस भएर जन्मे पछि अर्को मानिसकालागि के के गर्न सक्नु पर्छ? समाजवाद के हो? कसरी पूँजिवादले सन्सारलाई गुलाम बनाउँदैछ? अर्थशास्त्र किन पढ्नु पर्छ? यसको स्कोप के छ? मानिसले सामान्य जिवन कसरी बाँच्नु पर्छ साथै थोरै सरका बारेमा पनि सुन्ने र बुझ्ने मौका पाँए । त्यसपछि सरसँग प्राय कुरा हुने गथ्र्यो यहि क्रममा स्नातकका दुबै वर्षको रिजल्ट आयो । सरसँगको रमाईलो बसाई र सरको न्यानो शैक्षिक काख छोडेर म काठमाडौ उच्च शिक्षा पढ्न भनेर आएँ । त्यो समयमा गरि खानका लागि गणित र अंग्रेजी दुई ओटा विषयहरु अग्र पंक्तिमा थिए । मैले पनि त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागमा फारम भरे । फारम भरेर प्रवेश परिक्षा हुने मिति निश्चित गरेर अलि अलि भएको झिटीगुन्टा लिन उर्लावारी तिर लागे । एक दिन घरमा वसे पछि सरको याद आयो अनी सरलाई भेटेर आउँछु, कीर्तिपुरमा फारम भरेको लगायतको डेभलोप्मेन्ट सुनाउँछु अनी आशिर्वाद पनि लिन्छु भनेर सरको क्लास सकिने समय पारेर दमक क्याम्पस तीर लागे । सरसँग भेट भए पछि सबै कुरा सुनाए सरले कतै वसेर कुरा गर्ने विचार गर्नु भयो । यसरी बाहिर बसेर खासै समय विताउन मन नगर्ने सरले वस्न खोजे पछि म पनि खुशि नै थिए । यो दिन पनि पहिला जस्तै झण्डै दुई घण्टा सरसँग वसे तर आज भने सरमात्र बोलीरहनु भयो म घरी घरीमात्र जिज्ञासा राख्ने अवस्थामा थिए, माहोल नै त्यस्तै बन्यो । कुराको विषय वस्तु भने एउटै थियो अर्थशास्त्रको स्कोप र यो विषय कसरी पढ्ने भन्ने मात्र ।
उक्त दिनको दुई घण्टा बसाईले मेरो जिवनको गोरेटो नै फरक बनायो । म सरलाई भेटेर काठमाडौ फर्किए पछि अब गणित नपढ्ने भए, अर्थशास्त्र पढ्ने भए तर फारम भर्ने समय सकिएको थियो । म धेरै पटक अर्थशास्त्र विभागमा फारमको अनुरोधकालागि धाँए, स्नातकमा राम्रंै अंक ल्याएर पास गरेको हुनाले र संगठनका केहि अग्रजहरुले सहयोग गरेको हुनाले मेरो फारम गणितबाट अर्थशास्त्रमा प्रवेश परिक्षा दिन पाउने गरि सर्यो । त्यो दिन सारै खुशि भए अर्थशास्त्रमा स्तातकोत्तर नै उत्तिर्ण गरे जस्तो खुशी भए, युद्ध जितेजस्तो गर्वले छाती फुल्यो, मनमनै अखिलेस सरलाई सम्झिए नमन गरे अनी सुते । पछि प्रवेश परिक्षा उत्तिर्ण गरेर विहानीको सिफ्टमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गर्न थाले । त्यहाँ पनि गुरुहरु त क्षमतावान र अब्बल नै हुनुहुन्थ्यो तर सहयोगि र उत्प्रेरणा दिने हिसावमा मैले सधै अखिलेस सरको रित्तोपन महसुश गरि रहे । सायद त्यहाँ धेरै विद्यार्थी भएको भएर होला वा गाउँबाट पढ्न काठमाडौ आएको कारणले सरहरुसँग नजिक हुन नजानेर होला त्यो रित्तो पन कहिल्यै भरिन सकेन ।
बिचबिचमा घर गएको समयमा वा कहिले काहि सरको गाईडलाईन लिनकालागि दमक गएको वेलामा सरसँग भेट हुन्थ्यो अध्ययन गर्ने विधी र तयारीका बारेमा छलफल हुन्थ्यो । यहि क्रममा मैले अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरे, काठमाडौं कै केहि क्याम्सहरुमा अध्यापन गर्ने मौका पाएँ, पछि सरसँगकै सल्लाहमा अर्थशास्त्रमा विद्यावारिधी गर्ने अवसर पनि मिल्यो । समयमानै मेरो विद्यावारिधी समाप्त भयो । त्रिभुवन विश्वविद्यालयको खुला प्रतिस्पर्धाबाट अर्थशास्त्रको उपप्राध्यापक बन्न पनि सफल भए, अहिले म त्रिविमा नै एम ए अर्थशास्त्रका विद्यार्थीहरुलाई प्राध्यापन गराई रहेको छु । म अहिले पनि सरको प्राध्यापन गर्ने कलालाई पछ्याउने कोसिस गर्दैछु तर सर जत्तिको पूर्ण हुन चाहि बाँकी नै छ भन्ने सधै लागि रहन्छ । सरको शैक्षणीक कला पछ्याएर कक्षामा प्रवेश गर्दा मैले विषय वस्तुको डेलिभरी र अन्य शैक्षिक गतिविधीहरुमा कहिल्यै असफल हुनु परेको छैन । सरले दिनु भएको ज्ञान र अर्थशास्त्र तथा समाजवादको प्रशिक्षणको पथ पछ्याउदै आज सम्म मैले १५० ओटा आर्थिक लेख र सोहि संख्यामा टेलिभिजन अन्तर्वार्ताहरु गरि सकेको छु, तर मेरो यो प्रयास हेर्ने मेरो गुरु आज हाम्रो सामु हुनुहुन्न । मेरो जिवन यात्राको असल अभिभावक, अब्बल पथप्रर्दशक, विचार र सिद्धान्तमा प्रस्ट, पद र पैसाका लागि सिद्धान्तमा कहिल्यै विचलन नल्याउने, एकदमै सरल जिवनशैली जिउने र तीमि बौद्धिक क्षेत्रमा अगाडी बढ होस्टेमा हैसे गर्ने म छु भन्ने मेरो असल गुरु आज हामी सामु नभएपनि वहाँको याद र वहाँले देखाउनु भएको बाटो हिड्ने कला म सँग छ । हार्दिक श्रद्धाञ्जली अखिलेश्वर गुरुजी ।
(डा. दंगाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत अर्थशास्त्री हुन्)