बिद्यार्थीहरुले सञ्चालन गरे काम्यक स्कुल, प्रधानाध्यापक बनिन साक्षी प्याकुरेल
काठमाडौं १८ भदौं : गत शुक्रबार राजधानीको पुतलीसडक, न्युप्लाजामा रहेको काम्यक स्कुलको माहौल सधैंभन्दा भिन्न र रोमाञ्चक थियो । कारण थियो सधै स्कुलको पोशाकमा झोलाभरी किताब बोकेर आउने कक्षा ८, ९ र १० का विद्यार्थीहरु कोहि शिक्षक शिक्षिकाको पोशाकमा पढाउन व्यस्त देखिन्थ्ये भने कोहि प्रशासन त कोहि कर्मचारीको भूमिका निभाई रहेका थिए । बेञ्चमा बसेर पढ्ने विद्यार्थीहरु मार्कर र डस्टर लिएर प्लेग्रुपदेखि कक्षा सातसम्मका विद्यार्थीहरुलाई पढाईरहेका दृष्यले धेरैको ध्यान आर्कषित गरेको थियो ।
झट्ट सुन्दा नौलो लाग्ने यो समाचार शिक्षकहरुको हड्ताल भएर पो हो कि विद्यार्थीले स्कुल सञ्चालन गनुपर्ने अवस्था आइपरेको भान पनि पर्न सक्छ तर होइन विगत नौं बर्षदेखि काम्यक स्कुलले सञ्चालन गर्दै आएको काम्यक स्टुडेण्ट्स डेमा एक दिनका लागि सुरक्षा गार्डदेखि प्रिन्सिपलसम्म सबै भूमिका विद्यार्थीहरुले निभाएका थिए भने सधै पढाउने शिक्षक शिक्षिकाहरु चै पर्यवेक्षकको रुपमा नियालिरहनुभएको थियो ।
शुक्रबार आयोजित कार्यक्रममा कक्षा १० र कक्षा ९ का विद्यार्थीहरुले विशेष जिम्मेवारी पाएका थिए । विद्यालयको मुल ढोका, स्वागत कक्ष, चमेना गृह र प्ले ग्रुपदेखि कक्षा ८ सम्मको अध्यापनको कामको जिम्मेवारीलाई आफुहरु बिच विभाजन गरेर विद्यार्थीहरुले काम्यक स्टुडेन्ट्स डे लाई सफल बनाएका थिए । प्रतिस्पर्धीहरुबाट छानिएर एक दिनका लागि प्रधानाध्यापकको जिम्मेवारी साक्षी प्याकुरेल, उप प्रधानाध्यापक जेनिस रिमाल र संयोजक सर्मिन बानोले पाएका थिए ।
विद्यालयको सुरक्षा गार्ड, सहायक, रिसेप्सनिष्ट, क्यान्टिन सञ्चालन, एकाउण्टेन्ट, शिक्षक, डिसिप्लेन इन्चार्ज, कोअर्डिनेटर, सहायक प्रिन्सिपल, प्रिन्सिपललगायतका विविध जिम्मेवारी विद्यार्थीहरु आफै सहभागी भएर विद्यालय सञ्चालन गरेको दृष्य साँच्चिकै हेर्न लायकको थियो ।
बिद्यार्थीलाई जिम्मेवारी र कर्तव्य बोध गराउने उद्देश्यले हरेक बर्ष अतिरिक्त कृयाकलाप अन्र्तगतको ब्यवहारिक शिक्षा दिने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको बिद्यालयका सहायक प्रिन्सिपल हरि भट्टराईले जानकारी दिनुभयो ।
कहिले पाक शिक्षा सिकाउने, कहिले कौसी खेती सिकाउने त कहिले एक दिनको लागी बिद्यार्थीहरुले सांसद बनेर संसद चलाउने जस्ता विविध कार्यक्रमहरुको आयोजन गर्ने गरेको काम्यक स्कुलका अध्यक्ष धनेश्वर राउतले जानकारी दिनुभयो ।
जिम्मेवारी पाएका बिद्यार्थीहरुले अवसर र जिम्मेवारी पाएमा काम गरेर देखाउन सकिँदो रहेछ भन्ने उदाहरण आज चरितार्थ भएको भएको बताएका छन ।