‘आचार्य’ पढ्दै कृष्ण दमाई

शेर बहादुर सिंह । भीमदत्तनगर, १४ माघ : ‘संस्कृत शिक्षा ब्राह्मणले मात्रै अध्ययन गर्छन्, कर्मकाण्ड गर्छन् र ज्योतिष बन्छन्’ भन्ने बाल्यकालमा सुन्ने गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–३ तिलकपुरका २८ वर्षीय कृष्ण दमाई संस्कृत विषयबाट आचार्य (स्नातकोत्तर तह) को अध्ययन गर्दैछन् ।

विसं २०६४ मा स्थानीय बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका कृष्ण सामाजिक रुपमा दलित समुदायमाथि हुने विभेद चिर्न संस्कृत अध्ययनमा जुटेका हुन् ।

यहाँको नेपाल संस्कृत विश्वविद्यालय शारदा विद्यापीठमा तीन महिने भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि उत्तरमध्यमा (प्रवीणता प्रमाणपत्र तह) अध्ययन शुरु गरेका दमाईले संस्कृतबारे चाख लागेर र उक्त विषयमा जातीय रुपमा विभेद रहे÷नरहेको थाहा पाउन संस्कृत अध्ययन थालेको बताउनुहुन्छ ।

“एसएलसी सकेपछि नेपाली पढाउने शिक्षक ईश्वरदत्त भट्ट सरकै प्रेरणाले म संस्कृत पढ्न दैनिक पाँच किलोमिटर हिँडेर शारदा विद्यापीठ आवतजावत गर्न थाले,” विगत सम्झिँदै दमाईले भन्नुभयो –“अध्ययनका लागि सरले नै शुरुआतमा मलाई रु ५०० दिएर भर्ना गराउन सहयोग गर्नुभयो ।”

संस्कृत अध्ययनतर्फ आर्कषण गर्न सरकारले नै विद्यार्थीहरुका लागि छात्रवृत्तिदेखि आवास सुविधासम्म उपलब्ध गराइरहेको भए पनि नतीजा सन्तोषजनक छैन । हाल दाङ्ग बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा आचार्य गरिरहेका दमाईले शैक्षिक क्षेत्रमा दलित माथि विभेद नरहे पनि सामाजिक रुपमा भने कायम नै रहेको बताउनुभयो ।

“शुरुमा संस्कृत पढ्न शुरु गर्दा घरछिमेक र साथीभाइले नै दलितको छोरो, अब के बाहुन बन्दैछस् भनेर हतोत्साहित पनि गरे,” उहाँले भन्नुभयो – “२०६४ देखि २०७१ मा शास्त्री तहको अध्ययन सक्दासम्म विद्यापीठमा मैले दलित समुदायको एक विद्यार्थी पनि भेट्टाइनँ ।”

तीन वर्षे शास्त्री तह द्वितीय श्रेणीमा उत्तीर्ण गरेका दमाई शारदा विद्यापीठमा दलित समुदायका एक्ला विद्यार्थी हुन् ।

“उत्तरमध्यमा गर्दासम्म अध्ययन प्रोत्साहनका लागि विद्यापीठबाट मासिक रु एक हजार र शास्त्रीमा पुग्दा रु दुई हजार सरकारबाट पाउँथे,” उहाँले भन्नुभयो – “आधुनिक र प्राविधिक शिक्षामा अहिले बढ्दो क्रेजले संस्कृत लोप हुँदैछ ।”
दाङ्गमा संस्कृत शिक्षाअन्र्तगत साहित्य विषयमा आचार्य गरिरहेका दमाई आफू सुुदूरपश्चिम प्रदेशमा दलित समुदायबाट संस्कृतबाट आचार्य गरिरहेको पहिलो विद्यार्थी भएको दाबी गर्नुहुन्छ ।

“चार कक्षामा पढ्दा दलित विद्यार्थीहरुले संस्कृत किताब नै छुन मिल्दैन भनेको सुन्थे,” उहाँले भन्नुभयो – “संस्कृत अध्ययनका लागि जाँदा शुरुमा मनमा विभेद गर्छन् कि भन्ने डर थियो तर, गुरुहरुबाट धेरै हौसला पाइरहेँ ।” अध्ययनमा अब्बल रहे पनि गरीबीकै कारण उहाँले निकै कष्टपूर्ण समय गुजार्दै आउनुभएको छ ।

“दलितको आयस्तर बढाउनेदेखि विभेद अन्त्य गर्ने ठूल्ठूला नाराहरु लगाए सुनिए पनि अहिले अध्ययनका लागि नियमित दाङ्गमा बस्नसक्ने अवस्थामा छैन,” आफ्नो पीडा सुनाउँदै उहाँले भन्नुभयो – “दश दिन भीमदत्तनगरमा काम गरेर घरमा खाने बाटो गर्छु । अनि, दश दिन दाङ्ग अध्ययनका लागि बस्ने बाध्यतामा छु ।”

संस्कृत अन्र्तगत ‘साहित्य’ मूल विषय रोजेर आचार्य गरिरहेका दमाईले भविष्यमा ‘कर्मकाण्ड’ र ‘ज्योतिष’ (ऐच्छिक) विषय बनाएर अध्ययन गर्ने आफ्नो योजना समेत सुनाउनुभयो ।

“संस्कृत क्षेत्रमा जागिर खुले दलित आरक्षण र एक्लो दाबेदार भएकाले पनि कहीँ अवसर पाउँछ कि भन्ने आश जीवित नै छ,” उहाँले भन्नुभयो – “लोप हुन लागेको संस्कृतलाई आधारभूत तहसम्म लैजान पहल गर्नुपर्छ ।”

उहाँले दलित समुदायका विद्यार्थीहरुलाई संस्कृत अध्ययनमा आर्कषण गर्न अझै रोजगारी सुनिश्चित हुने खालका प्याकेजहरु सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । “मुलुकको व्यवस्था फेरिए पनि संस्कृत विषयलाई संरक्षण गर्नुपर्ने खाँचो छ,” उहाँले भन्नुभयो – “संस्कृत शिक्षा जोगाउने विषय गफ मात्रै बन्नु हुदैन ।”

चार दाजुभाइमा जेठा हुन कृष्ण । उहाँपछिका दुई भाइ अध्ययन पूरा गर्न नपाउँदै परिवारको अवस्थाले भारतको मुम्बैमा मजदूरी गरिरहेका छन् ।

“कान्छो भाइ अनिश अहिले कक्षा ८ मा पढ्दैछन्,” उहाँले भन्नुभयो–“घरमा बुढा बुबा मुटुको बिरामी हुनुहुन्छ । आमाले संसार छाडेको पाँच वर्ष भयो ।” अर्बुद रोगबाट ग्रसित आमालाई बचाउन भीमदत्तनगरमा सहयोगका लागि निकै दौडधूप गर्नुभएका दमाईले घरबासका लागि एक कठ्ठा ऐलानी जग्गामा आश्रय लिइरहनुभएको छ । “आमा बचाउन सहयोगका लागि धेरै हारगुहार गर्दा आमालाई एक वर्ष जति बचाउन सकेँ,” उहाँले भन्नुभयो – “आमाकै उपचारमा समय खर्चिंदा त्यो बेला अध्ययन प्रभावित बन्यो ।”

उहाँका बुबा ६२ वर्षीय रनबहादुर दमाई मुटु रोगी हुन् भने चार दिदीबहिनीमध्ये तीनजना अहिले पनि अध्ययनमै छन् । गाउँबाट अध्ययनका लागि यहाँ आउँदा स्थानीय जनक्रान्ति दैनिकमा पत्रिका वितरकको रुपमा तीन वर्ष काम गरेका दमाई अहिले पनि सोही दैनिकमा आवद्ध भएर बजार व्यवस्थापकको जिम्मेवारी सम्हालिरहनु भएको छ ।

“दश वर्षअघि यहाँकै बोर्डिङ्ग स्कूलमा दुई वर्ष अध्यापन पनि गरें,” उहाँले भन्नुभयो – “अहिलेसम्म परिवारको खर्च जोहो गर्न हम्मे हम्मे नै छ ।” उहाँले अध्ययनका लागि आर्थिक सहयोग गरिदिनहुन आग्रह समेत गर्नुभयो । आफूसित भएको आठ कठ्ठा जमीन खन्ने खोलाले बगाउँदा घरबास मात्रै बाँकी रहेको उहाँको दुःखेसो छ ।

“दाङ्गमा अध्ययनका लागि छात्रवृत्रि र आवासको समस्या छैन,” उहाँले भन्नुभयो – “अध्ययनमा हुँदा घरको गरीबीले पिरोलिरहन्छ ।”

दलित समुदायबाट पहिलो ‘शास्त्री’    

विसं २०४८ मा सुदूरपश्चिम प्रदेशमा स्थापना भएको यहाँस्थित शारदा विद्यापीठ प्रदेशकै एक मात्र संस्कृत अध्यापन हुने पीठ हो ।

शारदा विद्यापीठका प्राचार्य भोजराज जोशीले दलित समुदायबाट शास्त्री (स्नातक तह) उत्तीर्ण गर्ने कृष्ण पहिलो विद्यार्थी भएको बताउनुभयो । “कृष्ण हाम्रो विद्यालयको विद्यार्थीमा पनि स्वावलम्बी र प्रतिभावान् विद्यार्थी हुन्,” प्राचार्य जोशीले रासससँग भन्नुभयो – “परिवारमा आर्थिक अवस्था दयनीय हुँदा पनि कृष्णले अध्ययन छाडेनन् ।”

कृष्ण २०६४ सालमा विद्यालयको उत्तरमध्यमा तहमा धर्ना भएयता दलित सुमदायबाट अर्को विद्यार्थी नआएको जोशीको भनाइ छ । “जनजातिबाट अहिले दुई जना विद्यार्थी अध्ययनरत छन्,” उहाँले भन्नुभयो – “आचार्य गर्ने दलित समुदायमै सुदूरपश्चिमबाट कृष्ण एक्ला विद्यार्थी पनि हुन् ।”

हाल विद्यापीठमा शास्त्री तहमा ३० जना विद्यार्थी रहेको बताउँदै प्राचार्य जोशीले दलित र जनजाति समुदायका विद्यार्थीहरुलाई संस्कृत अध्ययनका लागि दोब्बर छात्रवृत्ति हुँदा पनि विद्यार्थी आउने क्रम न्यून रहेको जानकारी दिनुभयो ।

“सामाजिक विभेद अन्त्यका लागि धेरै पहल भए पनि अझै विभेद हटिसकेको देखिँदैन,” जोशीले भन्नुभयो – “संस्कृतभित्रको रोजगारीका सम्भावनाहरु खोज्न पनि कसैको ध्यान पुग्न सकेको छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.