साना उद्योग प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छु : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सुर्खेतमा ‘राष्ट्रिय औद्योगिक व्यापार कृषि नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव उदघाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिरः शुरबहादुर सिंह

सुर्खेत, ४ पुस : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना लगानीका उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आज राजधानी सुर्खेतमा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार कृषि नवीनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव २०७६’ कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले औद्योगिक क्षेत्रको विकासले रोजगारी र आर्थिक समृद्धिमा सघाउ पुग्ने बताउनुभयो ।

“कर्णालीमा ठूला लगानीका उद्योग सञ्चालन गर्न सकिएको छैन,” उहाँले भन्नुभयो, “साना लगानी उद्योगीलाई सस्तो ब्याजमा बजेट उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।” यसले यहाँका उद्योगीहरुलाई प्रोत्साहन मिल्ने र उत्पादन वृद्धि गर्ने विश्वास मुख्यमन्त्री शाहीको थियो ।

प्रदेश सरकारको बजेटले मात्र ठूला पूर्वाधार निर्माण गर्न कठिन हुने बताउँदै उहाँले अगाडि भन्नुभयो, “कर्णालीको भूगोल, पूर्वाधारको अवस्था हेर्दा अन्तर्राष्ट्रिय लगानी आवश्यक छ । सुर्खेतलाई ‘स्मार्ट सिटी’को रुपमा विकास गर्न चिनियाँ कम्पनीलाई प्रदेश सरकारले पत्राचार गरेको छ ।” सरकारका आन्तरिक बाध्यताका कारण जनअपेक्षित काम नभए पनि अब तीनै तहका सरकारले आ–आफ्नो कार्य क्षेत्रमा रहेर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले लघु उद्यमीले देशको शिर ठाडो पारेको दाबी गर्नुभयो । अध्यक्ष गिरीले भन्नुभयो, “कर्णाली जडिबुटी र पत्थर खानी हो । तिनको प्रशोधन गर्ने उद्योग स्थापना गर्न जरुरी छ ।” कर्णालीको जडिबुटी सस्तोमा बेचेर अहिले महंगोमा औषधि, तेल किन्ने परिस्थितिको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेश प्राकृतिक स्रोतले सम्पन्न भएकोले यहाँ उपलब्ध स्रोतलाई यहीँ उपयोग गर्ने गरी उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.