पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने, मुद्रण व्यवसायीको आपत्ति

शिवदेव भण्डारी । काठमाडौं, १० माघ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति प्रकाशित गरी सबै प्रकारका पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुपूर्व स्वीकृतिका लागि निवेदन दिन अनुरोध गरेका हुन् । राजधानी बाहिर रहेकाले स्वीकृतिका लागि अनलाइनबाट नै स्वीकृतिको निवेदन दिन सकिने समितिले जनाएको छ । यस्ता पात्रो र भित्तेपात्रोलाई अनलाइनबाट नै स्वीकृति दिने व्यवस्था समितिले मिलाएको छ ।
आगामी वर्षका लागि प्रकाशित गरिने पात्रो र भित्तेपात्रोको सिरानमा समितिबाट स्वीकृत प्राप्त र समितिको चलानी नं समेत उल्लेख गर्न पनि समितिले सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ । स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कानूनबमोजिम कारबाही गरिने भएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायका अधिकारी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । यसका लागि मन्त्रालयले अनुगमन निर्देशिका नै तयार पारेको छ ।
समितिले आवश्यकता अनुसार उपसमिति गठन गरी प्रदेश, जिल्ला एवं ठूला शहरमा अनुगमन गरिने जनाइएको छ । अनुगमनका लागि प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई पनि सहभागी गराइने समितिले जनाएको छ ।
मुद्रण व्यवसायीको आपत्ति
मुद्रण उद्योगी तथा ब्यवसायीहरुले भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृतिमा कुनैपनि संघ संस्थाले बार्षिक क्यालेण्डर प्रकाशित गर्नुपर्ने भनी गरिएको ब्यवस्थाप्रति आपत्ति जनाएका छन् ।

काठमाडौं उपत्यका भित्रका जिल्ला मुद्रण उद्योग संघहरु काठमाडौँ मुद्रण उद्योग संघ, ललितपुर मुद्रण उद्योग संघ र भक्तपुर मुद्रण उद्योग संघ सम्मिलित उपत्यका मुद्रण उद्योग समन्वय समितिले उक्त ब्यवस्था तत्काल खारेज गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति मार्फत सरकार समक्ष यस अघिनै माग गरेको छ ।
समन्वय समितिमा आवद्ध पदाधिकारी र मुद्रण उद्योग ब्यवसायीहरु सम्मिलित एक प्रतिनिधिमण्डलले गत मंगलबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्यसचिव सूर्य ढुङ्गेललाई एक ज्ञापनपत्र बुझाएको भएपनि त्यसको सुनुवाई नगरि बलमिचाई गरेर आज सबै प्रकारका पात्रो प्रकाशन गर्नुपूर्व अनिवार्य रुपमा स्वीकृति लिएर मात्र प्रकाशन गर्न सरकोकारवाला सबैमा आह्वान गरिएकोमा आफू आश्चर्य चकित भएको समन्वय समितिका संयोजक एवं काठमाडौँ मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठले बताए ।
बार्षिक क्यालेण्डर प्रकासन सम्वन्धमा सरकारले ल्याएको व्यवस्थाले आफ्नो क्यालेण्डर आफै प्रकासन गर्न पाउने संघ संस्थाहरुको अधिकारलाई संकुचित गर्नुका साथै अरबौंको लगानीमा स्थापित मुद्रण उद्योगहरुलाई आघात पुराएको उनको तर्क छ ।
निजी संघ संस्थाहरुले निशुल्क वितरणका लागि प्रकाशित गर्ने क्यालेण्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति लिन पर्ने ब्यवस्थाले थपेको झण्झटले धेरै संघ संस्थाहरुले क्यालेण्डर प्रकासन नगर्ने सम्भावना रहेको भन्दै श्रेष्ठले देशको उद्योग व्यवसायको अवस्था र देशको परिवेशलाई ध्यान नदिईकन ल्याइएको यस व्यवस्थालाई तत्काल स्थगन गर्न आग्रह समेत गरे ।