सङ्कटमा पर्दै टक्सारका धातु उद्योग
युवराज विष्ट । भोजपुर, २ असोज : ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ ।
पञ्चायतदेखि बहुदलीय व्यवस्था आउँदासमेत लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका भोजपुरको टक्सारका धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि संकटमा पर्दै गएका हुन् । देशकै पुरानो धातु उद्योगमध्येको यहाँको धातु उद्योग १५ वर्षअघिसम्म करीब एक सय भएकामा अहिले ६ वटा मात्रै छन् ।
धातु उद्योगले कच्चा पदार्थ कोइला (गोल), मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेका छन् । राणाशासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ । अहिले रहेका धातु उद्योगले भोजपुरको मागलाई समेत पूरा गर्न सकेका छैनन् ।
छयालीस वर्षदेखि धातुको सामग्री बनाउँदै आएका टक्सारका ७५ वर्षीय ज्ञानबहादुर शाक्य आवश्यक स्रोत साधन नहुँदा र बजार नपाउँदा धातु उद्योग नचलेकाले गर्दा सबै धातु व्यवसाय नै छाडेर बाहिर गएको बताउनुहुन्छ । आवश्यक कच्चा पदार्थको अभावले बाँकी उद्यमी पनि पलायन हुने अवस्था छ ।
धातु उद्योगलाई अहिले कोइला, मैन र दक्ष जनशक्तिको खाँचो रहेको व्यवसायीको भनाइ छ । टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनःअभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधनस्रोत उपलब्ध गराउन जरुरी रहेको विमलकुमार शाक्य बताउनुभयो ।
खानी स्थापनासँगै धातुका सामग्री डाडुपन्यू, कसौँडी, अङ्खोरा, करुवा, अन्ती, बटुका, थाल, डबका, तामा एवं पित्तलका गाग्री, खँड्कुला, तसला आदि बनाइन्थ्यो । धातु उद्योग सञ्चालनका लागि कोइला, मैन र धातुको अभाव खड्किएपछि धातुको सामान उत्पादनमा ९० प्रतिशतभन्दा बढी ह्रास आएको व्यवसायीको भनाइ छ ।