इन्दुशङ्कर चिनी उद्योगद्वारा किसानलाई रु ५० करोड भुक्तानी

सर्लाही, २२ फागुन : हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । गत पुस ११ गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म रु ५० करोड भुक्तानी गरेको उद्योगका प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा गत पुस ११ देखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो । जिल्लाकै सबैभन्दा ठूलो चिनी उद्योग इन्दुशङ्करले हालसम्म २४ लाख ४८ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले जनाएको छ । उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि पर्याप्त उखु नआएकाले लक्ष्य पूरा नहुने देखिएको प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले बताउनुभयो ।

जिल्लामा रहेका तीन चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग लिमिटेड र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन । किसानबाट अघिल्ला वर्षमा खरिद गरेको उखुको भुक्तानी दिन नसकेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने अहिले पनि बन्द अवस्थामा छ ।

नेपाल सरकारले दिने अनुदान बापतको रु ६५।२८ का दरले उखु किसानले पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाइसकेको छ । उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित भएपछि अनुदान बापतको रकम किसानलाई वितरण शुरु गरिने कोलेनिका मलङ्गवाका प्रमुख जगत थपलियाले बताउनुभयो । सरकारले किसानले उखु उत्पादन गरेको जग्गाको विवरण प्रमाणित गरिदिन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.