झापामा हाते कागज उद्योग बढ्दै
सन्तोष शर्मा । बनियानी, १६ फागुन : झापाको बिर्तामोड नगरपालिका–१० की ४६ वर्षीया दिलु राईले नेपाली हाते कागज बनाउन थालेको तीन दशक बितेको छ । उहाँले १६ वर्षको उमेरबाटै हाते कागज बनाउन थाल्नुभएको हो ।
दिलुसँगै उहाँका श्रीमान् ४६ वर्षीय कुमार राई पनि कागज बनाउन सिपालु हुनुहुन्छ । पाँचथरमा हाते कागज बनाएर जीवन धान्दै आएको राई परिवार चार वर्षअघि मात्र झापा झरेको हो । बसाइँसराइँसँगै उहाँहरुले बिर्तामोड–९ स्थित गारामुनीमा घर–जग्गा भाडामा लिएर हाते कागज उत्पादन गर्दै आउनुभएको थियो । कामप्रतिको लगनशीलता र परिश्रमले अहिले राई परिवार सोही पेशाबाट घर जग्गा जोड्न सफल भएको छ ।
बिर्तामोड–१० मा तीन कठ्ठा जग्गा खरिद गरेर घर निर्माण गर्नुका साथै कागज उत्पादनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुभएको छ । सबै खर्च कटाएर मासिक रु ३० हजार आम्दानी हुने गरेको राई दम्पतिको भनाइ छ । करिब रू ३० लाखको लागतमा ‘कुमानोइल नेपाली हाते कागज उद्योग’ स्थापना गरेको राई दम्पतिले आफूसँगै २० जनालाई रोजगारी दिन सफल हुनुभएको छ ।
पाँच छोराछोरीसहित सात जनाको परिवार पनि सोही उद्योगको आम्दानीले चलेको छ । “छोराछोरी पढाउनेदेखि घरायसी खर्च यसैबाट चलेको छ”, दिलु भन्नुहुन्छ, “मासिक केही बचत हुने गरेको छ ।” उद्योगबाट मासिक रु २५ हजार थान नेपाली हाते कागज उत्पादन हुने गरेको छ । उत्पादित कागजको बजार अभाव छैन । “उद्योगबाटै व्यापारीले कागज किनेर लाग्छन्”, महिला उद्यमी उहाँ भन्नुहुन्छ, “अडर अनुसार पनि कागज तयार गरेर दिने गरेका छौँ ।”
कागज उत्पादनका लागि आवश्यक लोक्ता पाँचथरबाट आयात हुने गरेको छ भने त्यसमा प्रयोग हुने ‘केमिकल’ विराटनगरबाट ल्याउने गरिएको छ । वर्षा र घाम लाग्दा भने कागज बनाउन समस्या हुने उहाँहरुको भनाइ छ । झापामा पछिल्ला पाँच वर्षको अवधिमा हाते कागज उद्योगको सङ्ख्या बढ्दै गएको छ । विसं २०७१ अघि १२ को सङ्ख्यामा रहेका हाते कागज उद्योग आव २०७६÷७७ को माघसम्ममा ३१ पुगेका घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका तथ्याङ्क सहायक अश्विनीकुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार आव २०७३/७४ मा दुई, आव २०७४/७५ मा दुई, आव २०७५/७६ मा १० र आव २०७६/७७ को माघ सम्ममा पाँच नयाँ उद्योग दर्ता भएका छन् । झापामा पहाडबाट कच्चा पदार्थ ढुवानी गर्न सहज हुने र घाम राम्रो लाग्ने भएकाले यहाँ हाते कागज उद्योग खुल्ने क्रम बढेको हो । “पहाडभन्दा झापामा घाम राम्रो लाग्ने र सुकाउन सजिलो हुन्छ”, तथ्याङ्क सहायक भट्टराईले भन्नुभयो, “जसका कारण कागज पनि गुणस्तरीय हुन्छ ।” मूल्य पनि राम्रो पाइने भएकाले झापामा कागज उद्योगको सङ्ख्या बढ्दै गएको हो ।
सबै उद्योग जापानी प्रविधिका
झापाका सबै हाते कागज उद्योग जापानी प्रविधिमा गइसकेका छन् । परम्परागत शैलीभन्दा जापानी प्रविधिमा उत्पादन गरिएको कागज गुणस्तरी हुने भएपछि यहाँका उद्योग जापानी प्रविधिमा गएका हुन् । जापानी प्रविधिमा उत्पादन गरिएको कागज चिल्लो र छपाइमा प्रयोग गर्न सहज हुन्छ । यस्ता कागजको दाम पनि राम्रो पाइने उद्योगी बताउँछन् । झापामा उत्पादन भएको कागज स्थानीय बजारसँगै जापान, अमेरिका लगायतका युरोपियन देशमा निर्यात हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । नेपाली कागज सरकारी कामकाज र दस्तावेज, चिनाटिपन बनाउन धेरै प्रयोग हुन्छ ।
