नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा

काठमाडौँ, १२ माघ : नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले तीन जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी रु १४ करोड ८७ लाख बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।

विभागले मास्केविरुद्ध बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैदको मागदाबी गरेको छ । वस्तु तथा सेवा नै खरिद नगरी नक्कली भ्याट बिल बनाइ भ्याट र आयकरसमेत छली गरेको पाइएको छ । विभागका अनुसार मास्केले रु चार करोड ३२ लाख ६९ हजार २८३ बराबरको भ्याट तथा रु १० करोड ५४ लाख ३९ हजार ५९५ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । यस्तै विभागले हैटौँडा उपमहानगरपालिका–२ मा रहेको अनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपानेसमेत दुई जनाले रु आठ करोड ६२ लाख बराबरको नक्कली भ्याट बिल बनाइ राजश्व चुहावट गरेको पइएको अभियोगमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार उक्त कन्स्ट्रक्सनका सञ्चालक न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले रु दुई करोड ५० लाख १४ हजार १९८ बराबर भ्याट बिल र रु छ करोड १२ लाख चार हजार ६०२ बराबरको आयकर चहुावट गरेको पाइएको छ । उनीहरुले रु आठ करोड ६२ लाख १८ हजार ८०० बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । विभागले बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग गर्दै आज ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले पछिल्ला दिनमा नक्कली भ्याट बिल बनाउने र आयकर छली गर्नेविरुद्ध आक्रामकरुपमा कारवाही शुरु गरेको छ । विभागका महानिर्देशक मैनालीका अनुसार नक्कली भ्याट बिल बनाउने र आयकर छल्नेमाथि विभागले मिहिनरुपमा अध्ययन गर्दै धमाधम मुद्दा दायर गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.