२५ वर्षदेखि निरन्तर फलामे औजार बेच्दै

जमुना वर्षा शर्मा । पोखरा, १ माघ : माघेसङ्क्रान्तिको दिन पोखरा १७ ढुङ्गेसाँघुमा ऐतिहासिक मेला लाग्ने गर्दछ । मेलामा विशेष गरी परम्परागत सामानको बिक्री वितरणले पनि निकै महत्व राखेको पाइन्छ ।
बुटवलका रनबहादुर विश्वकर्माले विगत २५ वर्षदेखि फलामका परम्परागत औजार बेच्दै आएको बताउनुभयो । आफैँले उत्पादन गरेका औजारलाई विगत वर्षमा जस्तै यस वर्ष पनि मेलामा बेच्न ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले २५ वर्षअघिदेखि व्यापार गर्दै आएको छु । शुरुका वर्षमा तीस/चालीस रुपैयाँमा बेच्ने औजार अहिले २०० मा पुगेको छ, व्यापारमा कमी आएको छैन, समयअनुसार राम्रै छ ।” उहाँले फलामे औजारको सामग्रीको एकैतिर मात्र व्यापारका लागि ठाउँ छुट्याएको भए किन्ने ग्राहकलाई र बेच्नेलाई पनि सहज हुने बताउनुभयो । फलामे औजार आँसी, दाउ, कुटो, कोदालो, बञ्चरो, बाउसोको फाली, दिउरी, कराइ बेच्ने गरेको बताउनुभयो ।
त्यसैगरी धादिङका पुतली विश्वकर्माले पनि विगत २० वर्षदेखि फलामे औजारको व्यापार गर्दै आएको बताउनुभयो । पोखराको बागलुङ बसपार्कमा बस्दै आउनुभएकी उहाँले ११ वर्षअघि श्रीमान्को मृत्युपछि कामदार राखेर यस पेशालाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले अघिल्ला वर्षमा जस्तो यस वर्ष व्यापार राम्रो नभएको बताउनुभयो । उहाँले यस वर्ष २० हजारको मात्रै हँसिया बेचेको र गत वर्ष भने एकै दिनमा एक लाख बढीको हँसियाको व्यापार गरेको अनुभव सुनाउनुभयो ।
विगत १२ वर्षदेखि मेलामा व्यापार गर्दै आउनुभएका पोखरा लामाचौरका मङ्गलबहादुर विश्वकर्माले पनि ढुङ्गेसाँघु मेलामा विभिन्न जिल्लाबाट करिब २० भन्दाबढी परम्परागत फलामका औजार बेच्न आएको बताउनुभयो । पछिल्लो समयमा बजारीया सामानले यस पेशालाई ओझेल पार्दै गएको र पहिला पहिला जस्तो व्यापार नभएको उहाँको भनाइ थियो ।
तनहुँका राजेश विकले विगत चार वर्षदेखि फलामे औजारको व्यापार गर्दै आएको बताउनुभयो । उहाँले विगत वर्षमा भन्दा यस वर्ष दाउ, हँसिया र ओख्लीको व्यापार राम्रो भएको बताउनुभयो । दमौलीबाट विगत दुई वर्षदेखि व्यापारका लागि आउनुभएका धीरज परियारले रु २०० देखि दुई हजार ५०० सम्मको फलामे औजारको व्यापारका लागि राखिएको बताउनुभयो । उहाँले बञ्चरोलाई रु दुई हजारदेखि दुई हजार ५०० सम्म बिक्री गरेको बताउनुभयो ।
पोखरा– १७ का हंसराज गुरुङले ऐतिहासिक महत्व राखेको यस मेलामा विशेष फलामको औजार खरिद गर्ने गरेको बताउनुभयो । उहाँले यस वर्ष फलामको ओख्ली र दाउ खरिद गरेको बताउनुभयो । त्यसैगरी पोखरा ११ काँहुकी शर्मिला बरालले फाली र फलामे कराइ किनेको बताउनुभयो । “बजारमा पनि पाइन्छ तर पहिल्यैदेखि ढुङ्गेसाँघुको मेलामा सस्तो र राम्रो पाइन्छ भन्ने सुनेकाले यहीबाट खरिद गरेकी हुँ”, उहाँले बजारमा भन्दा सस्तो मूल्यमा पाएको बताउनुभयो ।
परम्परागत फलामे औजारका लागिसमेत प्रसिद्ध पाएको यस मेलामा धादिङ, म्याग्दी, कास्की जिल्ला र आसपासका स्थानबाट फलामे औजारको व्यापारका लागि आउने गरेको महतगौडास्थित ढुङ्गेसाँघुका सदा शिवजी सिद्धश्वर हरिहर मन्दिर समितिका पूर्वअध्यक्ष ऋषिराम भण्डारीले बताउनुभयो ।
उहाँले कहिलेबाट यस मेला शुरु भएको भन्ने ऐतिहासिक दस्तावेज नभेटिएको तर विसं १८६४ तिरका केही प्रमाण भेटिएको बताउनुभयो । धार्मिकरुपमा राम सीताले सेतीगङ्गा स्नान गरेर हिँडेकाले महतगौडामा सीतापाइला नाम रहेको बताउनुभयो । उक्त स्थानमा अहिले पनि रामसीता बसेको चौतारीको वरपीपलको रुख एकै वृक्ष भएर झाङ्गिँदै गएको उहाँको भनाइ थियो ।
पहिलापहिला तीन दिनसम्म चल्ने यस मेलामा हाल सुरक्षाको दृष्टि र ठाउँ अभावले एक दिनमात्रै सीमित गरिएको उहाँले बताउनुभयो । पहिला बजारको विस्तार नहुँदा कास्कीका विभिन्न ठाउँबाट मेलामा वर्षभरिका लागि चाहिने घरायसी सामान खरिद गरेर लैजाने गरेको भण्डारीले बताउनुभयो । पोखरा– १५ र १७ जोड्ने प्राकृतिक ढुङ्गाको पुलले उक्त स्थान ढुङ्गेसाँघुको नामबाट परिचित हुन गएको स्थानीय ९० वर्षीय चन्दाकान्त भण्डारीले बताउनुभयो ।
