चिनी मिल बन्द गर्ने सर्लाहीका किसानको चेतावनी 

अन्नपूर्ण र महालक्ष्मी सुगर मिल्सले सर्लाहीका उखु किसानलाई बक्यौता रकम भुक्तानी नगरेपछि शनिबार काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका उखु किसान । तस्वीरः राजाराम कार्की

काठमाडौँ, १२ पुस : ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौँको माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् । यसअघि गत जेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ साल भदौ मसान्त भित्रमा किसानको बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो ।

सङ्घर्ष समितिका पदाधिकारीले पुस मसान्तसम्म पनि बक्यौता रकम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने चेतावनी दिएका छन् । सर्लाही जिल्लामा झन्डै ३० हजार बिघा क्षेत्रफलमा ऊखु खेती गरिन्छ । ऊखु खेतीमा करिब २० हजार किसान आबद्ध रहेको ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रायले राससलाई जानकारी दिनुभयो । सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग रु ५० करोड र महालक्ष्मीसँग रु २१ करोड गरी कूल ७१ करोड बक्यौता रहेको समितिका सचिव हरिश्याम रायले बताउनुभयो ।

सरकारले सालाखाला ऊखुको मूल्य प्रतिकेजी रु ५।३६ पैसा तोकेको भए पनि ऊखु मिल्सले किसानलाई रु ४।३५ पैसा मात्र भुक्तानी दिँदै आएका छन् । किसानको अन्नपूर्णसँग २०७० र महालक्ष्मीसँग २०७५ सालदेखिको रकम बक्यौता रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.