आरन व्यवसायले दिएको आम्दानी 

परम्परागत प्रबिधि आरनबाट निर्मित फलामका बिभिन्न सामाग्रीहरु । तस्वीर: तिलकराज ओझा

विमलबहादुर विष्ट । डोटी, १० पुस : जिल्लामा पछिल्लो समय आरन व्यवसायीले मनग्य आम्दानी गर्न थालेका छन् । केही समय पहिले करीब–करीब लोप हुने अवस्थामा रहेका यहाँका आरन व्यवसायी पछिल्लो सयम फेरि जुर्मुराउन थालेका छन् । आरन व्यववसायबाटै यहाँका अधिकांश आरन व्यवसायीले मनग्य आम्दानी थाप्ने गरेका छन् ।

उक्त पेशाकै कारण उनीहरुलाई पछिल्लो समय आफ्नो खर्च चलाउन निकै सहज भएको छ । आरन व्यवसाय फस्टाउन थालेपछि उनीहरुलाई अहिले आफ्नो कामकाजमा भ्याइनभ्याई हुन थालेको छ । पुख्र्यौली घर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला भएका धनीराम ओडले दिपायलस्थित राजपुरमा खोल्नुभएको आरन व्यवसायले मनग्य आम्दानी गर्नुभएको छ । आफ्नो पेशाप्रति उहाँ निकै सन्तुष्ट हुनुहुन्छ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नकर्मी पेशाबाट आफ्ना पाँच जनाको परिवारलाई बजारकै परिवेशअनुसारको रहन–सहन, खानपिन र व्यक्तित्व विकासमा ढाल्न उहाँ प्रयत्नशील भएको बताउनुहुन्छ । पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण जिल्लामै आरन व्यवसाय लोप हुँदै जान थाले पनि उहाँले आफनो व्यवसाय राम्रै चलाउनुभएको छ ।

विगत १० वर्षदेखि डोटीको दिपायलस्थित राजपुर बजारभन्दा केही पर, रोड नजिकैको सरकारी जग्गामा एउटा सानो घर बनाएर व्यापारिक हिसाबले नकर्मी पेशा गरिहेका ओड आफ्नो कामप्रति गर्व गर्नुहुन्छ । बच्चादेखि नै फलामको काम सिकेर हाल ५९ वर्षको उमेरसम्म पनि लोप हुँदै गइरहेको पुख्र्यौली पेशालाई शिरोधार्य गर्दै आउनुभएका ओड स्थानीय सरकार तथा सरोकारवाला निकायसँग गुनासो गर्नुहुन्छ, “हाम्रो नगरपालिका तथा सरोकारवाला निकायले हामी र हाम्रो पेशालाई समेत हेप्दै र चेप्दै गएका छन् । हाम्रो पेशा सङ्कटमा पर्न थालेको छ, जोगाउनुप¥यो ।”

दिपायलस्थित पिपल्ला राजपुर बजारमा मात्रै होइन, यहाँका अन्य छिमेकी जिल्ला डडेल्धुरा तथा अछाम नजिकका गाउँबाट समेत कृषिका लागि प्रयोग हुने फलामे साधन बनाउनका लागि स्थानीयवासी उहाँको घरमा पुग्ने गरेको ओड बताउनुहुन्छ । विगत १० वर्षदेखि नै सरकारी जमीनमा घर बनाएर फलाम पिट्ने काम गरिरहेको र आजसम्म काममा कुनै किसिमको नकारात्मक प्रभाव नपरेकाले ग्राहक विश्वास गरेर आउने गरेको र खुशी भएर दुई÷चार पैसा ज्यालाभन्दा बढी नै दिएर जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले भनेअनुसारको सामग्री बनाएकाले मसँग ग्राहक खुशी हुन्छन्, तर स्थानीय सरकारले अहिलेसम्म सहयोग गर्न सकेन र मैले गरेको परिश्रम देखेन ।”

ओडको आँखामा आफ्नो पेशाप्रतिको इमान्दारी र कतव्र्य स्पष्ट देखिन्छ । उहाँ बिहानै ७ बजे आफ्नो निरन्तरको काममा निस्किनुहुन्छ । दिनभरि काम गर्नुहुन्छ । कहिले कमाइ राम्रै हुन्छ, दिनको रु ९०० देखि एक हजारसम्म हुने गरेको उहाँको भनाइ छ । उहाँको आरनमा औजार बनाउन आउनेहरुको लगभग दैनिक घुइँचो नै हुन्छ । जनशक्तिको अभावमा आफूले खासै चाहेजति काम गर्न नसकिरहेको ओेड बताउनुहुन्छ । दुई छोरा, एक छोरी र श्रीमतीसहित पाँच जनाको परिवारको घर खर्च र छोराछोरीको स्कूल खर्चसमेत फलाम पिटेरै धानेको उहाँको भनाइ छ । आरन व्यवसायकै कारण उहाँले छोराछोरीलाई नजिकैको बोर्डिङ स्कूलमा पढाउन सफल हुनुभएको छ । भोलिका दिनमा आफ्ना सन्ततिले राम्रो पढेर डाक्टर, इञ्जिनीयर बन्न सकुन् भन्ने उहाँको चाहना छ ।

त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–५ गडसेराका आरन व्यवसायी शिवसिंह लुहारले पनि आफ्नो गाउँमा खोलेको आरन व्यवसायबाट मनग्ये आम्दानी गर्नुभएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा उहाँले आफनो गाउँमा आरन व्यवसाय खोल्नुभएको हो । उहाँको आरनमा घरेलु औजार हँसिया, बञ्चरो, खुकुरी, कुटो, कोदालो, खुँडालगायतका घरेलु औजार बनाउन आउनेको सधैँ भीड लाग्ने गरेको छ ।

आरन व्यवसायबाट नगद कारोवार हुन थालेपछि उहाँले आफ्ना तीन छोराछोरी सजिलैसँग स्कूल पढाइ राख्नुभएको छ । छोराछोरीसहित पाँच जनाको परिवारलाई उहाँले आरन व्यवसायबाटै राम्रैसँग पाल्दै आउनुभएको छ । त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–१ का आरन व्यवसायी जगत् लुहारले पनि गाउँमा राम्रैसँग आरन व्यवसाय चलाउँदै आउनुभएको छ । गाउँपालिकाको केही आर्थिक सहयोगबाट उहाँले आरन व्यवसाय शुरु गर्नुभएको हो । जिल्लामा आरन व्यववसाय लोप हुने अवस्था आएपछि यहाँका स्थानीय तहले आरन व्यवसाय गर्न इच्छुकलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभित्रमा व्यावसायिकरूपमा आरन व्यवसाय गर्न इच्छुकहरुलाई आर्थिक सहयोगका लागि निवेदन दिन आग्रह गरेको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “आरन व्यवसाय लोप हुन नदिन हामीले विभिन्न कार्यक्रम तथा योजना ल्याएका छौँ, आरन व्यवसाय गर्नलाई कति लागत चाहिन्छ निवेदन मागेका छौँ, निवेदन कति पर्छ त्यसैका आधारमा रकम छुट्याउने छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.