भन्सारका समस्या समाधान गर्न राजस्व अधिकारी तयार
काठमाडौँ, ५ मङ्सिर : कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गर्न तयार रहेको राजश्व अधिकारीहरुले बताएका छन् । राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर नेपाल उद्योग परिसङ्घले आयोजना गरेको कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले करको संरचनागत सुधारको प्रयास भइरहेको बताउनुभयो ।
कर प्रणालीलाई पारदर्शी बनाउन कानूनी र प्राविधिक सुधारलाई सँगसँगै लगिएको जानकारी दिँदै उहाँले लगानी विस्तार तथा निर्यातकर्तालाई कर सहुलियत बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अर्थ मन्त्रालय राजश्व महाशाखा प्रमुख धनिराम शर्माले कर भुक्तानी प्रक्रियामा रहेका झन्झट हटाउने उपायबारे अध्ययन भइरहेको बताउनुभयो ।
आन्तरिक राजश्व विभागका उपमहानिर्देशक थानेश्वर गौतमले मूल्य अभिवृद्धि कर (भ्याट) फिर्तामा भइरहेको ढिलाइ सम्बोधन गर्न छिट्टै कार्यविधि तयार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा राजश्व तथा करको नीतिगत तथा संरचनागत अवस्थाबारे प्रस्तुति दिँदै अर्थविद् डा विश्व पौडेलले करमा अन्तःशुल्कको भार कम गर्दै लैजाने, करको दायरा विस्तार गर्ने तथा करलाई लगानीमैत्री बनाउन जरुरी रहेको बताउनुभयो । सो अवसरमा परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले कर प्रणालीमा संरचनात्मक सुधार गरी आयातमा रहेको निर्भरतालाई घटाई दिगो राजस्व प्रणालीमा रूपान्तरण गर्ने नीति अख्तियार गर्न आग्रह गर्नुभयो ।
