कर प्रणालीलाई प्रविधिमैत्री बनाइनुपर्ने
काठमाडौँ, २ मङ्सिर : कर शिक्षा प्रणालीमा सुधार गरी व्यवसायमैत्री बनाइनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
आठौँ कर दिवस तथा कर सप्ताह कार्यक्रमका अवसरमा आज नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले प्रविधिमैत्री कर प्रशासन बनाउन जरुरी भएको खाँचो औँल्याउनुभयो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कर प्रणालीमा सुधार गरी यसलाई व्यवसायमैत्री बनाउन लागिपरेको बताउनुभयो ।
करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताउँदै उहाँले प्रविधिमैत्री कर प्रशासनमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
महानिर्देशक कुँवरले कर शिक्षालाई प्राथमिकता दिँदै प्रक्रियागत प्रणालीमा सुधार गरी कर कार्यालय नपुगी कर भुक्तानी र कर विवरण मोबाइलमा जानकारी दिने दिशामा उद्योगी व्यवसायी एवं करदाताको साथ अनिवार्य रहेको धारणा राख्नुभयो ।
चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कर दिवसले करदातालाई आफूले तिरेको रकमको सही सदुपयोग हुने भएकाले कर कानूनको परिपालना, कर चुहावट नियन्त्रण एवं करदाता शिक्षाका माध्यमबाट सर्वसाधारणलाई करसम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले उद्यमी व्यवसायीले करसम्बन्धी कानून उल्लङ्घन गरेका पाइएमा उनीहरुलाई फौजदारी अभियोग नलगाई आर्थिक जरिवानामात्र लगाउनुपर्ने धारणा राख्नुभयो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आव २०७५/७६ मा राजश्व परिचालन रु ८६५ अर्ब ५५ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा सरकारको कूल राजश्व रु ७२६ खर्ब ७२ करोड रहेको थियो । चालू आव २०७६/७७ को दुई महीनाको राजश्व सङ्कलन १४१ अर्ब ५१ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ११९ अर्ब २० करोड रहेको थियो । आव २०७४/७५ को तुलनामा २०७६/७७ मा १६ प्रतिशतले राजश्व वृद्धि भएको र आव २०७६/७७ को दुई महिनामा सो वृद्धि करीब १५.७ प्रतिशतले वृद्धि भएबाट राजश्वको उठती वृद्धि भइरहेको छ ।
कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच करसम्बन्धी तालीम दिनेबारे सम्झौता भएको छ । होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
