‘ग्रामीण क्षेत्रमा ऊर्जाको पहुँच विस्तार गर्न वैकल्पिक ऊर्जाको भूमिका महत्वपूर्ण’

मकवानपुर फापरबारीमा निर्माण गरिएको २५ किवा क्षमताको वायु–सौर्य मिश्रित विद्युत् परियोजना । यस परियोजनाबाट स्थानीय १३१ घरमा विद्युत सुविधा उपलब्ध भएको छ । तस्बिर: कृष्ण अधिकारी

काठमाडौँ, १८ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकट भौगोलिक बनावट भएका ग्रामीण भेकमा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न वैकल्पिक ऊर्जाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न ऊर्जा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

सबैका लागि ऊर्जा अभियानलाई परिणामुखी ढङ्गबाट अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारले नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको बताउनुभयो । मन्त्री पुनले केन्द्रले देशव्यापी रुपमा नवीकरणी ऊर्जाको सेवा प्रवाहलाई निरन्तरता दिनुका साथै नवीकरणीय ऊर्जाका क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षण गर्नु आवश्यक रहेको बताउनुभयो । मुलुक सङ्घीय संरचनामा गइसकेको अवस्थामा केन्द्रको भूमिका के हुन्छ भन्ने सबाल आइरहेको अवस्थामा केन्द्रले आफूलाई ‘उत्कृष्ट ज्ञान केन्द्र’का रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री पुनले राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले ऊर्जा सुशासन अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै ऊर्जा बचत गर्न जनचेतना फैलाउन लाग्नुपर्ने बताउनुभयो । सहस्राब्दी विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म सबै जनतामा ऊर्जाको पहुँच पु¥याउनुपर्ने चुनौती रहको बताउँदै उहाँले सो उद्देश्य पूरा गर्न ग्रामीण पहाडी क्षेत्रमा बैकल्पिक ऊर्जा भरपर्दो विकल्प भएको बताउनुभयो । केन्द्रलाई ‘ज्ञान केन्द्र’का रुपमा विकास गर्न विश्वविद्यालयसँग जोड्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले संवैधानिक दायरालाई ख्याल राख्दै सरकारको लक्ष्य पूर्तिमा केन्द्रले भूमिका खोज्नुपर्नेमा जोड दिनुभयो । “स्थानीय तहसँगको सहकार्यमा १५ औँ योजनाले राखेको लक्ष्य पूरा गर्न केन्द्र चनाखो बन्नुपर्छ”, उहाँले भन्नुभयो, “अब दीर्घकालीन ‘बिजनेश प्लान’ बनाएर अगाडि बढ्नुपर्छ ।”

पूर्वमन्त्री गणेश साहले ऊर्जा बचत नै ऊर्जा उत्पादन भएको उल्लेख गर्दै हरेक नागरिकलाई ऊर्जा उत्पादकका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले ग्रामीण भेगका जनतामा नवीकरणीय ऊर्जा प्रविधि उपलब्ध गराउन केन्द्र लागिपर्ने बताउनुभयो । निजी क्षेत्र, सरोकारवाला निकाय तथा दातृ निकायसँगको समन्वयमा आगामी कार्यक्रम सञ्चालन गरिनेमा उहाँले जोड दिनुभयो । केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धितालले मुलुक सङ्घीय संरचनामा गइसकेको अवस्थामा केन्द्रको भूमिकालाई पनि परिवर्तन गर्न सुझाव दिनुभयो ।

नवीकरणीय ऊर्जा परिसङ्घका कावा अध्यक्ष उत्तम सिटौलाले सरकारी निजी साझेदारीका माध्यमबाट नवीकरणीय ऊर्जा प्रवद्र्धनमा सहकार्य गर्न आह्वान गर्नुभयो । केन्द्रका निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विकास गर्न केन्द्रले ध्यान केन्द्रित गर्दै आएको जानकारी दिँदै ऊर्जाका प्रविधिलाई दीगो बनाउन लागिएको बताउनुभयो ।

आधुनिक नवीकरणीय ऊर्जा प्रविधिमार्फत ग्रामीण भेगका जनताको जीवनस्तर उकास्न केन्द्र लागिपरेको बताउँदै उहाँले मुलुकको आर्थिक, सामाजिक तथा समानुपातिक विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

३५० थान सौर्य प्रणाली वितरण    

कार्यक्रममा डोल्पाको मुड्केचुला गाउँपालिकालाई ३५० थान घरेलु सौर्य विद्युत् प्रणाली वितरण गरिएको थियो । ऊर्जामन्त्री पुनले जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढालाई ती सौर्य प्रणाली हस्तान्तरण गर्नुभयो ।

गत असारमा आएको बाढीबाट क्षति पुगेको मुड्केचुला गाउँपालिका वडा नं १ र ३ का ३५० घरधुरीलाई सौर्य प्रणाली वितरण गरिने जिसस प्रमुख बुढाले बताउनुभयो ।

सो अवसरमा नवीकरणीय ऊर्जा प्रविधिको विकासमा योगदान गराउने संस्थालाई ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा लघु जलविद्युत्तर्फ दर्न लघुजलविद्युत् सहकारी संस्था, सौर्य ऊर्जातर्फ सन फर्मर नेपाल प्रालि र बायोग्यासतर्फ नेपाल ऊर्जा विकास कम्पनी प्रालि रहेका छन् । सो पुरस्कारको राशि रु २५/२५ हजार रहेको छ ।

कार्यक्रममा केन्द्रको वार्षिकोत्सवको अवसर पारेर ऊर्जा मन्त्रालय मातहतका निकायका कर्मचारीबीचको फुटसल प्रतियोगिताका विजेता टोलीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । हालसम्म केन्द्रले अनुदानमा १५ लाख सुधारिएको चुल्हो, पाँच लाख बायोग्यास वितरण गरिसकेको छ । केन्द्रले मुलुकको १८ प्रतिशत क्षेत्रमा बैकल्पिक ऊर्जाको पहुँच पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.