विद्युतीय बसका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत खरीदबारे टुङ्गो लागेन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ काठमाडौँमा नहुनुभएकाले तत्काल कुनै निर्णय हुन नसकेको मनत्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार तिहारपहिले नै बस खरीद प्रक्रियाका सम्बन्धमा निर्णय गर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “आज बैठक बसेर केही निर्णय हुने सम्भावना छ, त्यो हुन नसकेमा तिहार सकिनासाथ निर्णय हुनेछ ।”
मन्त्रालयले सकेसम्म चाँडो बस ल्याएर सञ्चालन गर्न चाहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । चाँडो खरीद गर्नकै लागि सार्वजनिक खरीद प्रक्रियामा नगएर सरकारले ‘जी टू जी’ (गभर्मेन्ट टू गभर्मेन्ट) माध्यममार्फत गरिएको उहाँको भनाइ छ । यो माध्यमबाट खरीद गर्ने निर्णय भए पनि तीन महीना बित्दासमेत मन्त्रालयले चाहेजस्तो प्रगति नपाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “यो अवधिमा साझाले हामीलाई यी यी कुरा भए भनेर जानकारी गराएको छैन ।” मन्त्रालयले चाहेजस्तो नतिजा आइनसकेकाले केही दिनपहिले खरीद प्रक्रियाबारे संस्थासँग मन्त्रालयले जानकारी मागेको थियो । तर विभिन्न सञ्चारमाध्यममा आए जसरी खरीद प्रक्रिया रोक्नका लागि पत्र नलेखिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । खरिद प्रक्रियामा ढिलाइ हुँदा अब कसरी अघि बढ्ने भन्ने बैठकले टुङ्ग्याउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रीज्यूले पनि बस खरीद सकेसम्म चाँडो होस् भन्ने चाहनुभएको छ ।”
विद्युतीय बस खरीदकै लागि तीनै तहका सरकारले सहकारीको शेयर खरीद गरेका थिए । नेपाल सरकारले तीन अर्ब, प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले रु दुई करोड ५० लाखको शेयर खरीद गरेका थिए ।
कलङ्की–महाराजगञ्जमा सडकको विस्तारमा बाधा पुग्ने
चक्रपथको कलङ्की–महाराजगञ्ज खण्डमा सडकको अधिकार क्षेत्र (राइट अफ वे) मा रहेका भौतिक संरचनाका कारण विस्तारमा बाधा पुग्ने देखिएको छ ।
कोटेश्वर–कलङ्की सडकखण्ड विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डका रूपमा यहाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरिरहेको छ । यस खण्डमा विभिन्न संरचना रहेकाले तीनलाई तत्काल हटाउनुपर्ने देखिएको सडक विभाग, विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।
सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ । स्वयम्भू, ठूलोभ¥याङ, महाराजगञ्ज चोक लगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ । स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत सार्नुपर्ने उहाँले बताउनुभयो ।
सडक विस्तारका लागि चीन सरकारलाई हस्तान्तरण गर्न सरकारले अहिले सडकको अधिकार क्षेत्र खाली गराउन शुरु गरेको प्रमुख थापाले बताउनुभयो । यस सडकमा रूख काट्ने, पोल सार्ने लगायतका तयारी भइरहेको छ । केही महीनामै काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । सम्पूर्ण तयारी सकिए पनि सरकारले चीन सरकारलाई सडक निर्माणका लागि हस्तान्तरण गर्नेछ । चीन सरकारले झण्डै पाँच–छ महीना तयारीको काम गरेर निर्माण शुरु गर्ने उहाँले बताउनुभयो । चक्रपथ दोस्रो खण्डमा दुई वटा ‘अन्डरपास’, १० आकाशे पुल र मुख्य सडकको बीचमा डिभाइडर हुने बताइएको छ ।
