‘सम्झौताको आधारमा घरबहाल कर तिर्नुहोस्’
काठमाडौँ, १७ भदौ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घरधनी र व्यवसायीको सम्झौताका आधारमा घरबहाल कर तिर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँले आयोजना गरेको ‘व्यवसायी कर, मूल्य अभिवृद्धि करसम्बन्धी अन्तरक्रिया’मा उहाँले सम्झौतामा उल्लेख भएअनुसार नै कर तिर्नुपर्ने बताउनुभएको हो । “सम्झौतामा के उल्लेख गर्नुभएको छ, त्यहीअनुसार घरधनी वा बहालबस्नेले घरबहाल कर तिर्नुहोस्,” उहाँले भन्नुभयो ।
शाक्यले गत वर्षको तुलनामा काठमाडौँ महानगरपालिकाले कर घटाएको भन्दै सबै व्यवसायलाई करको दायरामा ल्याउन महानगरपालिका लागेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै व्यवसायको आधारमा महानगरपालिकालाई कर तिर्न आग्रह गर्नुभयो ।
आन्तरिक राजश्व विभागका निर्देशक सरोज निरौलाले घरवहाल कर र व्यवसायी कर उठाउने अधिकार स्थानीय तहलाई प्रदान गरिएको भन्दै कोही व्यवसायी पनि करको दायराबाट भाग्न नमिल्ने बताउनुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले मुलुकको आर्थिक समृद्धिको आधार होटल व्यवसाय भएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न होटल व्यवसायी लाग्नुपर्ने उहाँको भनाइ थियो ।
काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले व्यवसायीको व्यवसायलाई सहज बनाउनका लागि महानगरपालिका लागेको भन्दै कर तिर्ने कुरामा व्यवसायीहरु लचिलो हुन आग्रह गर्नुभयो ।
काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले संविधानको दायराअनुसार कर निर्धारण गरेको बताउँदै करको दायरा फराकिलो बनाउनका लागि होटल व्यवसायी र महानगरपालिकाबीच सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।
कामनपा राजश्व शाखाका प्रमुख राज्यप्रसाद प्रधानाङ्ग, टोखा नगरपालिकाका–९ का अध्यक्ष जोगप्रसाद नेपाल, वरिष्ठ अधिवक्ता कृष्ण आङदेम्बेलगायतले नगरपालिका र महानगरपालिकाले तोकेको करको दायरामा आउन सबैलाई आग्रहसमेत गर्नुभयो । जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष शैलेश कार्कीले महानगरपालिकाले व्यवसायीलाई सुविधा दिनुभन्दा पनि कर बढाएको भन्दै व्यवसायीको समस्या बुझ्न आग्रह गर्नुभयो ।
