राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवालाई  

काठमाडौँ, १२ भदौ : तेस्रो युथ कोःल्याब तथा चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवाले जितेको छ । युएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल विजनेस सेन्टर, किंग्स कलेजको आयोजना राजधानीमा भएको राष्ट्रिय संवाद कार्यक्रममा डुलुवाले सो उपाधि जितेको हो ।

उपाधिसँगै डुलुवाले नगद एक लाख रुपैयाँ र विश्व उद्यमशीलता फोरोम तथा स्वीट्जरल्याण्डमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाएको छ । डुलुवाले ग्रमीण भेगको पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आएको छ ।

यस्तै दोस्रो ‘डिजिटल साथी’ र तेस्रो ‘आवास’ भएको छ । उनीहरुले रु ५०/५० हजारसहित ‘युथ कोःल्याब’नमा सहभागिता हुने अवसर प्राप्त गरेका छन् । डिजिटल साथीले प्रविधिको प्रयोगका बारेमा सचेतना जगाउने र आवासले प्लाष्टिकको फोहर सङ्कलने गरेर त्यसबाट इँटा बनाउने काम गर्दै आएको छ ।

कार्यक्रमको समापन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विकास र समृद्ध नेपाल निर्माणमा युवा जनशक्तिको स्रोतलाई परिचालन नगरेसम्म सरकारले आफ्नो लक्ष्य हासिल गर्न नसक्ने बताउनुभयो ।

उहाँले युवाको उद्यमशीलताको चाहनाअनुरूप सरकारले युवा परिचालनलाई विशेष रूपमा लैजान खोजेको बताउनुभयो । वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्दै मन्त्री विश्वकर्माले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताउनुभयो ।

आयोजक संस्था आयोनका अध्यक्ष जगदीश ऐरले युवाका नवीन सोचलाई व्यावसायिक बाटो देखाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा
सातवटै प्रदेशबाट १५० भन्दा बढी युवा उद्यमी समूहबाट छानिएका उत्कृष्ट १० युवा उद्यमीका बीचमा प्रतिस्पर्धा गराइएको थियो । युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा उत्कृष्ट १० युवा उद्यमीका समूहले आआफ्नो उद्यमका बारेमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमले सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गरेको आयोजकको विश्वास रहेको छ । सो कार्यक्रम दुई दिनसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.