भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने
काठमाडौँ, १९ साउन : नेपाल उद्योग परिसङ्घले आगामी भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ गर्ने भएको छ । परिसङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ‘दिगो विकासका लागि मजबुत पूर्वाधार’ भन्ने नारासहित सम्मेलन आयोजना गर्न लागिएको हो ।
उक्त सम्मेलन सरकारले चैतमा सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को ‘फलोअप सम्मेलन’का रुपमा रहेको छ । लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकारसहित सबै सरोकारवालाको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउनसमेत उक्त सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको अध्यक्ष सतिश मोरले जानकारी दिनुभयो ।
अघिल्ला दुई पूर्वाधार सम्मेलनले आगामी सन् २०३० सम्म नेपालको पूर्वाधारको अवस्था तथा आगामी पूर्वाधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत् तथा गहन अध्ययन गर्नुपर्ने औँल्याएको थियो । त्यसैमा केन्द्रित रही परिसङ्घले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँगको सहकार्यमा प्रतिवेदन तयार गरेको हो । तेस्रो पूर्वाधार सम्मेलनमा सो प्रतिवेदन सार्वजनिक गरिनेछ ।
“पूर्वाधारमा गरिने उच्च लगानीको बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्छ । नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा तय गरेर पूर्वाधार विकासलाई केन्द्रमा राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वधार विकासमा लगानी बढाउन तथा सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना विकास गर्न अवसर प्राप्त भइरहेको सन्दर्भलाई थप जोड दिन लागिएको हो”, अध्यक्ष मोरले भन्नुभयो ।
सम्मेलनको पूर्व तयारीस्वरुप प्रादेशिक पूर्वाधार सम्मेलन आयोजना भइरहेका छन् । प्रादेशिक पूर्वाधार सम्मेलनको निष्कर्ष पनि सो सम्मेलनको आकर्षण रहने छ । दुई दिनसम्म चल्ने उक्त पूर्वाधार सम्मेलनमा स्वदेश तथा विदेशका गरी ५०० भन्दा बढी लगानीकर्ताको सहभागिता रहने बताइएको छ ।
