केत्तुकी उद्योग सञ्चालनपछि महिलाको दैनिकी फेरिँदै
प्रेम रौले । मार्तडी २२, असार : जिल्लाको विकटमा रहेको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिका–५ बाधुँकी कला तिमिल्सिनाको दैनिकी फेरिएको छ । सधैँ घरको काममा व्यस्त हुने उहाँ अहिले गाउँमै केत्तुकीे (हात्तीबार) को उद्योग सञ्चालनमा आएपछि दैनिकी फेरिएको छ ।
दैनिक छोराछोरीलाई खाना पकाएर स्कुल पठाउने उनी हिजोआज बिहानको खाना खाएर केटाकेटी स्कुल पठाएपछि नजिकैको गाउँ रहेको पानीघट्टमा पुग्नुहुन्छ । बिहान १० देखि बेलुकी ४ बजेसम्म केत्तुकीेको रेशा निकाल्ने मिलमा केत्तुकीेको रेशा निकाल्नु हुन्छ । उहाँको पछिल्लो समय यो कामको दिनचर्या बन्दै गएको छ । कला मात्र नभई त्यहाँका ११ जना महिला र तीन जना पुरुषको पनि उक्त त्यो मिलमा काम गर्ने गरेका छन् ।
गाउँमै रोजगारीका लागि सञ्चालनमा ल्याएको उद्योगले पछिल्लो समयमा यहाँका महिला र पुरुषकोे दैनिकी फेरिन थालेको हो । तिमिल्सेनाले भन्नुभयो, ‘‘सीप सिकेर केही गरौं । व्यावसायिक बनौं भनेर नै तालीममा बसेकी हुँ ।’’ सोही गाउँपालिका–५ की धनसरी तिमिल्सिनाको आयस्रोत नभएपछि के गर्ने, कसो गर्ने भएका बेला गाउँमै केत्तुकीेको कपडा बुन्ने तालीम हुने भएपछि उहाँ पनि सीप सिक्न व्यस्त हुनुहुन्छ ।
खडेरीका कारण गाउँमा खेती लगाए पनि बीउ नै नउम्रिन थालेपछि स्थानीय वैकल्पिक उपाय खाडी मुलुक र भारतमा चौकीदारी रोजिरहेका बेला गाउँमै रोजगारका साथै आम्दानी हुने भएपछि स्थानीय केत्तुकीेबाट रेशा निकालेर कार्पेटलगायत बनाउन थाल्नुभएको छ ।
पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा केत्तुकीे मिल सञ्चालनमा आएसँगै महिलालाई रोजगारी सिर्जना भएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल बताउनुहुन्छ । रेशम निकाल्ने मिल सञ्चालनमा आएसँगै धेरै महिलाले गाउँमै रोजगारको अवसर पाएको अध्यक्ष मल्लको भनाइ छ ।
केत्तुकीे बहु–उपयोगी वनस्पति भए पनि जिल्लाका अन्यत्र उपयोगमा ल्याएको पाइँदैन । यसको उपयोगका बारेमा जानकारी नहुँदा संरक्षणको अभावमा विस्तारै लोपोन्मुख बन्दै गएको छ । जिल्लामा के कति केत्तुकीे पाइन्छ भन्ने बारेमा कुनै तथ्याङ्क छैन ।
उक्त गाउँपालिकामा यसलाई उपयोगमा ल्याउने कार्य भइरहेको छ । विभिन्न रोगको औषधि र पहाडी क्षेत्रमा भूक्षयका लागि अति उपयोगी मानिने झाडिदार वनस्पति केत्तुकीे संरक्षण तथा उपयोगमा ल्याउने पहिलो प्रयास भएको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय बाजुराका कर्मचारी पदम ऐरले बताउनुभयो ।
खोला किनारको कमजोर र भिरालो जमीनमा रोपेपछि बारी र खरबारीमा पर्खालको कामसमेत हुने केत्तुकीे पछिल्लो समय हिमाली गाउँपालिकाका स्थानीयवासीले यसको रेशा निकालेर विभिन्न प्रकारका कपडा कार्पेटलगायतका साम्रगी बनाउँदै आएका छन् ।
केत्तुकीेको महत्वका बारेमा जानकारी कम भएकाले यसअघिका दिनमा काटेर खेर पाल्ने केत्तुकीेको महत्व बुझेपछि स्थानीयवासीले केत्तुकीेको रेशा निकाल्ने मिलसमेत सञ्चालनमा ल्याएको स्थानीय धनसरी तिमिल्सिनाले बताउनुभयो । यो उद्योग सञ्चालनमा आएसँगै यहाँका ११ जना महिलाले रोजगार पाउनुका साथै सीप सिक्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको सहयोगमा सञ्चालनमा रेशम निकाल्ने मिल आएपछि सीप सिक्नुका साथै आयआर्जन गर्न रोजागरी सिर्जना हुने भएकाले यहाँका युवाहरु यसतर्फ लागेको स्थानीयवासी हरिचन्द्र पाध्यायले बताउनुभयो ।
यो वनस्पतिको स्थानीय नाम केत्तुकीे भनेर चिनिने वनस्पति हिमाली गाउँपालिकाका स्थानीयवासीले काठमाडौँसम्म यसका साम्रगी उत्पादन गरी पठाउने स्थानीय कला तिमिल्सिनाले बताउनुभयो । यो प्रजातिको वनस्पतिको रेशमबाट विभिन्न कपडा, कार्पेटलगायत वस्तु बनाउन सकिने तालीम प्रशिक्षक नारद शर्माले बताउनुभयो ।
केत्तुकीेबाट १५ वर्षसम्म रेशा निकाल्न सकिन्छ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढाटाढासम्म यसका जरा फैलिने र जरा औषधिमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी हुने गरेको शर्माले बताउनुभयो । उद्योगबाट उत्पादित राडीपाखी स्थानीय बजार र सदरमुकामका साथै धनगढी, नेपालगञ्ज, काठमाडौँ र विदेशमासमेत ठूलो मात्रामा निर्यात गर्ने उद्देश्यले सो योजना बनाएको जिल्ला घरेलु तथा साना उद्योग विकास समिति बाजुराका प्रमुख नरबहादुर खड्काले बताउनुभयो ।
स्थानीय कच्चा पदार्थ प्रयोग गरेर कम लगानीमा राम्रो कमाइ हुने भएपछि यो व्यवसायतर्फ आकर्षण वस्तु निर्माण गर्न सकिने र जङ्गलमा खेर जाने केत्तुकीेबाट राम्रो आम्दानी गर्न सकिने उद्योग अधिकृत खड्काले बताउनुभयो । घरेलु रूपमा बुनेका राडीपाखी बलियो मात्र नभइ भरपर्दो र गुणस्तरीयसमेत हुने प्रमुख खड्काको भनाइ रहेको छ ।
ग्रामीण भेगका महिलाका लागि यो व्यवसाय निकै उपयोगी रहेको घरेलु तथा साना उद्योग विकास समिति बाजुराका प्रमुख खड्का बताउनुहुन्छ । उहाँका अनुसार समय–समयमा घरेलु विकास समिति बाजुराले राडीपाखी बुनाइ सम्बन्धी तालीम सञ्चालन गर्दै आएको छ ।
