सीमापारि बजारमा नेपाली उपभोक्ताको आकर्षण
नेपालगञ्ज, १३ असार : बाँके जिल्लाको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाका व्यापारीका लागि थेगीनसक्नु छ तर नेपालगञ्जका व्यापारीलाई ग्राहक कुरेर बस्नुपर्ने बाध्यता अझै अन्त्य हुन हुन सकेको छैन ।
“नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको बुझाइ छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ, “यो बुझाइ नै गलत हो । बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगञ्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोक मूल्यमा यहाँ ल्याएर बिक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्छ तर वर्षौंदेखि सीमापारि मै सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोच परिवर्तन हुन सकेन् ।”
केही समयअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजारभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने उर्दी गरेपछि रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो तर यो निर्णय दीर्घकालीन हुन नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको हो ।
चर्को घाम, समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा कोचिएर, भन्सार कर्मचारी र एसएसबीको हेपाइ सहेर किन नेपालीहरू रुपैडिहामा सामान लिन जान्छन् ? पारी बजार जाने उपभोक्ता भन्छन्, “नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ र भन्सार पनि तिर्नुपर्दैन ।” घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोडभन्दा बढीको कारोवार हुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आँकलन छ । अझ चाडपर्वका बेला त उपभोक्ताको सङ्ख्या र रकम दोब्बर हुने गरेको छ ।
नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा बजार उकास्सिने यो नौलो घटना भने होइन । मानिसको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग व्यापार सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेका कारण सीमापारि जानेको भीड नघटेकोे सम्बद्ध क्षेत्रका जानकारको बुझाइ छ ।
भन्सार नियमअनुसार सीमा पारीबाट सामान ल्याउने जो कोहीले पनि भन्सार तिर्नुपर्छ तर यो नीयम व्यावहारिक हुन सकेको छैन । नेपालगञ्जका व्यापारी भन्छन्, “नियमलाई कडाइका साथ पालन गर्नु प¥यो ।” नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला भन्नुहुन्छ, “हामीले नियमलाई कडाइका साथ पालना गराउने प्रयत्न गरेका छाँै । कतिपय अवस्थामा व्यावहारिक पक्षलाई पनि ख्याल गर्नुुपर्छ ।” नेपालञ्जका व्यापारी र भन्सार कार्यालयबीचको यो शीतयुद्ध नयाँ भने होइन । दशकौँदेखि यही शीतयुद्ध दुबै पक्षबीच चलिरहेको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि यो विषय धेरै पटक सल्टाउन खोज्यो तर नतिना ‘हात लाग्यो शून्य’ छ । “दिनहँु हाम्रै आँखा अगाडि सयौँ उपभोक्ता भन्सार नतिरेरै सामान ल्याउँछन् । भन्सार कार्यालयले शून्य सहनशीलतामा काम गर्नुपर्छ, यही कुरा हामीले बारम्बार भन्दै आएका छाँै”, सङ्घका अध्यक्ष वैश्यको भनाइ छ ।
