काठमाडौँको पन्ध्र अर्ब पचास करोड , ललितपुरको पाँच अर्ब १७ करोड, पोखराको सात अर्ब ५४ लाखको बजेट प्रस्तुत

काठमाडौँ, १० असार : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको पाँचौँ अधिवेशनको आज दोस्रो बैठकमा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालू आव २०७५/७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गर्नुभएको हो । चालू आवमा रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको थियो ।

आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाको आफ्नै स्रोतबाट रु सात अर्ब ५६ करोड ६ लाख ३७ हजार प्रस्ताव गरिएको छ । जुन कूल बजेटको ५२ दशमलव ५८ प्रतिशत हो । बाह्य स्रोतबाट रु चार अर्ब १८ करोड ९० लाख महानगरको नाममा बैँकमा रहेको मौज्दातबाट रु दुई खर्ब ६२ करोड ९० लाख ९७ हजार तथा महानगरअन्तर्गतका आयोजनाबाट रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।

यसैगरी बजेटको व्ययतर्फ पूँजीगत खर्च रु एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च रु एक अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च रु ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च रु सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पूँजीगत खर्च रु तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।

दोस्रो बैठक सञ्चालन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले उप–प्रमुख खड्गीलाई बजेट प्रस्तुत गर्न निर्देशन दिनुभएको हो । बजेटमा शिक्षातर्फ रु एक अर्ब ३४ करोड ९० लाख ५० हजार, सामाजिक विकास कार्यक्रमतर्फ रु एक अर्ब ५२ करोड १५ लाख ९० हजार, जनस्वास्थ्य सेवा कार्यक्रमतर्फ रु १२ करोड ३५ लाख ८२ हजार तथा प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ रु पाँच करोड चार लाख ७७ हजार विनियोजन गरिएको छ ।

‘मेयर उज्यालो’ कार्यक्रम

बजेटमा सडकको मुख्य मुख्य चोकमा ‘मेयर उज्यालो’ कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख छ । ‘मेयर उज्यालो’ कार्यक्रमअन्तर्गत ‘हाइमास’ बत्ती जडान गर्ने कार्यक्रम रहेको बजेटमा उल्लेख गरिएको छ ।

यस्तै सडक चोकमा ‘फ्लाई ओभर, आकाशे पुल, महानगर ज्येष्ठ नागरिक अस्पताल, बालाजु बाइसधारा उद्यानको आधुनिकीकरण, महानगरका क्षेत्रबाट सङ्कलन गरिने फोहरबाट ऊर्जा उत्पादन, नदीहरुको शुद्धीकरण गर्नेलगायत योजना उप–प्रमुख खड्गीले बजेटमा समेट्नु भएको छ । आगामी आवको बजेटमा महानगरपालिकाको केन्द्रीय कार्यालय भवन निर्माण, भर्टिकल पार्किङका लागि भवन निर्माण, पर्यटन पदमार्ग, कोटेश्वर–तीनकुने बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, मोनो रेललगायत योजना समेटिएको छ ।

आगामी आवमा शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम, महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान निर्माण तथा सञ्चालनमा ल्याइने उल्लेख छ । महानगरले आगामी आवलाई अभियानका रुपमा सम्पदा संरक्षण तथा संवद्र्धन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्षको रुपमा सञ्चालन गर्न बजेट विनियोजन गरिएको उप–प्रमुख खड्गीले जानकारी दिनुभयो । आजको बैठकमा महानगर प्रमुख शाक्यले आर्थिक विधेयक–२०७६ र महानगरपालिका विनियोजन विधेयक–२०७६ समेत प्रस्तुत गर्नुभएको थियो । नगरसभा असार ५ गतेदेखि राष्ट्रिय सभागृहमा जारी छ ।

ललितपुर महानगरको बजेट रु पाँच अर्ब १७ करोड

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६/७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । महानगरपालिको चौथो नगरसभामा आज उहाँले गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गर्नुभएको हो ।

महानगरले गत आवको रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट विनियोजन गरेको थियो । चालू आवमा गत जेठसम्ममा महानगरपालिकाको वास्तविक खर्च गरेको रकम रु एक अर्ब ७५ करोड ६४ लाख २४ हजार ९६१ रहेको छ । महानगरले प्रस्ताव गरेको आगामी आवको बजेटमा चालू खर्चतर्फ रु एक अर्ब १२ करोड ५९ लाख ५५ हजार विनियोजन गरेको छ । त्यस्तै, सामाजिक सुरक्षातर्फ रु ४६ करोड बजेट रहेको छ ।

कार्यक्षेत्रगत विकास कार्यक्रमतर्फ रु दुई अर्ब ५६ करोड ६१ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । सोमध्ये, आर्थिक विकासमा रु सात करोड ५३ लाख ४५ हजार र सामाजिक विकास रु १६ करोड ८४ लाख ४५ हजार बजेट रहेको छ । कार्यगत क्षेत्र विकासअन्तर्गत नै पूर्वाधार विकास रु दुई अर्ब ७३ लाख ६३ हजार, वातावरण तथा विपद् व्यवस्थापन रु १६ करोड ५५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन रु २२ करोड ५ लाख, पूँजी निर्माण रु छ करोड १० लाख र विविध शीर्षकमा रु ६६ करोड विनियोजन गरेको छ ।

आगामी आवमा सामाजिक साझेदारी कार्यक्रमतर्फ रु एक अर्ब २७ करोड ५२ लाख चार हजार बजेट रहेको छ । यस आवको आयतर्फको आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ६५ करोड ६१ लाख आठ हजार र आन्तरिक आयमा रु एक अर्ब ६५ करोड पाँच लाख विनियोजन गर्नुका साथै यस आवको बचत रकम रु ६० करोड रहेको छ ।

महानरपालिकाको आगामी वर्षको बजेटमा नै व्ययतर्फ बजेट शीर्षकमा आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ७५ करोड ३० लाख, पूर्वाधार विकासमा रु एक अर्ब ४९ करोड ९५ लाख रहनुुका साथै क्रमागत योजनामा रु ५० करोड ५८ लाख आठ हजार बजेट छ । महानगरले सन् २०३० सम्म गरीबी उन्मूलन गर्ने उद्देश्य बोकेको प्रमुख महर्जनले बताउनुभयो ।

महानगरले रोजगारीमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ । त्यस्तै, अपाङ्गमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच, विषादीरहित करेसाबारी र कौसीखेती प्रवद्र्धन तथा कृषिमा आधुनिकरण र एकघर एक उद्यमको अवधारण विकास गर्ने महानगरपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

जनचाहनाअनुसार विकासमा लाग्नुपर्ने : मन्त्री पण्डित    

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले महानरपालिकाले जनचाहनाअनुसार विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । विकास निर्माणको प्रतिफल आउने गरेर स्थानीय तहले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

जनताले ‘जनप्रतिनिधिले गरेको काम ठीक छ’ भन्ने गरेर काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारको अधिकार पूर्ण रुपमा पठाएको होइन”, उहाँले भन्नुभयो, “नेपाल सरकारले इट्टा मात्रै पठाएको हो, घर तपाई आफैँले बनाउने हो ।”

पोखरा महानगरको बजेट रु सात अर्ब ५४ लाख

भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखराले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ ।

महानगरको पाँचौँ नगरसभामा आज उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । महानगरको कूल बजेटमध्ये पूँजीगत खर्चमा रु चार अर्व ७० करोड, ९९ लाख ६० हजार विनियोजन गरिएको छ ।

प्रशासनीक खर्चमा रु दुई अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषमा रु ४० करोड तथा संसद् विकास कोष कार्यक्रममा रु १४ करोड छुट्टाइएको छ । बजेटको मुख्य स्रोतको रुपमा सङ्घ सरकारबाट प्राप्त हुने रु तीन अर्ब ३३ करोड ७८ लाख ८० हजार अनुदान रहेको छ ।

गण्डकी प्रदेश सरकारबाट रु ४७ करोड ९६ लाख ८३ हजार अनुदान र महानगरको आन्तरिक आय रु दुई अर्ब ५० करोड २९ लाख १७ हजार हुने अनुमान गरिएको छ । आन्तरिक आय तथा अनुदानबाट अपुग हुने बजेटको स्रोत वैदेशिक ऋण तथा अनुदान, जनसहभागिता र चालू आर्थिक वर्षमा खर्च हुन नसकेर रहने रकमबाट पूर्ति गरिने उल्लेख छ ।

संस्थागत क्षमता विकास गरी सुशासन प्रवद्र्धन, आन्तरिक स्रोतको अधिकतम परिचालन, आर्थिक, भौतिक र सामाजिक पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासको उद्देश्यलाई पूरा गर्ने गरी बजेट ल्याइएको उपप्रमुख गुरुङले बताउनुभयो । नीति कार्यक्रममा उल्लेख गरिएनुसार पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ ।

महानगरका शहरी र पहाडी क्षेत्रमा सडक सम्पर्क सहज बनाउन कनेक्टिङ सडक निर्माणलाई प्राथमिकता दिएर रु ७२ करोड ४० लाख तथा यस वर्ष शुरु गरिएका भोटीखोला, घोरकुना, फिर्के खोला मोटरेबल पुल निर्माणलाई निरन्तरता र अन्य चार स्थानमा पक्की पुलको लागि रु २३ करोड २८ लाख छुट्टाइएको छ ।

भवन निर्माण शुरु गरिएका वडा कार्यालयको निर्माण सम्पन्न गर्न र आगामी वर्ष नौ वटा वडाको कार्यालय भवन निर्माणका लागि रु २४ करोड ९७ लाख तथा महानगरको भवन निर्माणका लागि रु छ करोड बजेट विनियोजन गरिएको छ । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडक छेउछाउमा रहेका सोलार बत्ती मर्मत गरी व्यवस्थापनका लागि रु एक करोड विनियोजन गरिएको छ ।

आगामी वर्षको बजेटमा पोखरामा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माणका लागि रु तीन करोड, मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडानका लागि रु दुई करोड, महानगर डिजिटल सिटी गुरुयोजना निर्माणका लागि रु चार करोड, महानगरको भूउपयोग नीति अद्यावधिक गरी नक्साङ्कन गर्न रु चार करोड, एक वडा एक विशेष कार्यक्रमअन्तर्गत मझौला सडक, पुल, नदी नियन्त्रण तथा खेल मैदान निर्माणका लागि रु ४५ करोड बजेट विनियोजन गरिएको छ ।

फेवाताल संरक्षणक लागि प्रदेश सरकारसँगको सहकार्यमा सिल्ट्रेशन ड्याम निर्माणका लागि रु ३३ करोड, ७९ लाख, सार्वजनिक शौचालय निर्माणका लागि रु दुई करोड ५० लाख तथा रामघाटमा निर्माणाधीन इलेक्ट्रिक शव दाहस्थल व्यवस्थापनका लागि रु एक करोड बजेट छुट्टाइएको छ ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न कर्मचारीलाई वर्षमा एक पटक बढीमा सात दिन भ्रमणका लागि भत्ताको व्यवस्था, एक सहकारी एक उत्पादन कार्यक्रम, सार्वजनिक जग्गाको संरक्षण, एक प्रादेशिक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री विद्यालय सञ्चालन, महानगर अनुसन्धान तथा विकास केन्द्र स्थापना, व्यवस्थित वधशाला निर्माण तथा ज्येष्ठ नागरिक स्वास्थ्य उपचारका लागि बजेटको व्यवस्था गरिएको छ ।

कृषि क्षेत्र निर्माण गरी उत्पादनमा जोड दिन रु दुई करोड, उपप्रमुखसँग महिला कार्यक्रमका लागि रु दुई करोड, महिला उद्यमशीलताका लागि रु एक करोड, एक वडा एक खेल मैदानका लागि रु एक करोड, एक घर एक धाराका लागि रु १० करोड, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्न तथा महानगर प्रज्ञा प्रतिष्ठानका लागि रु ५०÷५० लाख विनियोजन गरिएको छ ।

बजेटमा करको दरलाई यथावत राखी दायरा बढाउने नीतिबमोजिम करदातालाई कर तिर्न प्रोत्साहित गर्न प्रत्येक वर्ष कर सप्ताह तथा जागरणका कार्यक्रम सञ्चालन गर्ने र राजश्व परिचालनमा वडा समितिलाई जिम्मेवार बनाई कर सङ्कलन व्यवस्थित गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.