तामाखानी सञ्चालन गर्न माग

बलेवा, २२ जेठ : जिल्लाको राङ्खानीका स्थानीयवासीले तामाखानी सञ्चालनमा ल्याउन माग गरेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण अहिलेभन्दा ११६ वर्षपहिले उत्खनन बन्द भएको तामाखानी सञ्चालनका लागि स्थानीयवासीले माग गरेका हुन् ।

जैमिनी नगरपालिका–१० मा पर्ने राङ्खानीमा रहेको तामाखानी राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको बुढापाकाले बताएका छन् । स्रोतको अभावका कारण कर बुझाउन नसकेर बन्द भएको आफूले सुनेको स्थानीयवासी लालबहादुर पुनले बताउनुभयो । अहिले पनि तामाका अवशेष रहेकाले यहाँको सम्भाव्यता अध्ययन गरेर खानी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ ।

खानीबाट स्थानीयवासीले आफ्नै सीप र प्रविधिको प्रयोगबाट सानो मात्रामा तामा निकाल्न सकिने बताएको भए पनि सम्बन्धित निकायको बेवास्ताका कारण खानी सञ्चालनमा ल्याउन नसकिएको पुनले बताउनुभयो । यहाँ रहेको खानीलाई व्यावसायिक हिसाबले सञ्चालनमा ल्याउन सके राङ्खानी र जैमिनी नगरकै आयस्रोतको माध्यम बन्ने स्थानीयवासी मित्र थापाले बताउनुभयो ।

पहिले यहाँ रहेको खानीमा अन्य जिल्लाका मजदूरहरुसमेत आएर काम गर्ने गरेका बुढापाका बताउँछन् । बाउबाजेले तामाको धाउलाई कुटेर तामा निकाल्थे भनेर सुन्ने गरेको स्थानीयवासी टेकबहादुर श्रीषले बताउनुभयो । “पहिला यहाँ २२ खानी थिए, अनि २२ ठाउँका मान्छे आएर तामा निकाल्थे । १४ धार्नी तामा बोकेर काठमाडौँ लैजान पर्दथ्यो । कति दिन लाउँथ्यो हिँडेर जाँदा । खाना प¥यो पैसा हुने थिएन पैला । त्यसैले पनि जनताले दुःख भएर बन्द भएको भन्ने सुनिन्छ”, उहाँले भन्नुभयो ।

खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारलाई नभएकाले कुनै पनि कार्यक्रम नबनाइएको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । “खानी छन् भन्ने सुनिएको छ, प्राविधिक कुरा हामीलाई थाहा हुने कुरा भएन्”, पौडेलले भन्नुभयो, “खानीको अध्ययनका लागिसमेत कार्यक्रम बनाउन सकिएको छैन ।”

बागलुङमा मात्रै दर्जनभन्दा बढी वडामा यस्ता तामाखानी रहेका खानी तथा भूगर्भ विभागको तथ्याङ्कमा उल्लेख छ । तामाको उत्पादनका लागि निकालिएको धाउलाई स्थानीय भाषामा राङ भन्ने चलन छ । राङको खानी भएकाले तत्कालीन राजा रजौटाहरुले यस ठाउँको नाम नै राङ्खानी राखेका बताइन्छ । राङ् एक प्रकारको धातु हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.