बालाजु औद्योगिकमा १२९ उद्योग सञ्चालनमा

काठमाडौँ, १९ जेठ : बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५७औँ वार्षिकोत्सवमा ‘उद्योगको सेवा, उद्योगलाई टेवा’ भन्ने नाराका साथ आज सम्पन्न भएको छ ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिकोत्सवमा औद्योगिक क्षेत्र व्यवस्थापनका केन्द्रीय अध्यक्ष नन्दकिशोर बस्नेतले बालाजु उद्योगलाई नमूना उद्योगको रुपमा विकास गरी अझ मजबुत गरिने बताउनुभयो । उहाँले बालाजु उद्योगलाई खानेपानी, बिजुली र सडक कालोपत्र तथा सडक छेउछाउमा बिरुवा रोपेर हरियाली बनाउने काम एक वर्षमा पूरा गर्ने बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापनका महाप्रबन्धक सुवाश सिटौलाले उद्योगमा भएका कमीकमजोरीलाई सुधार गरी अगाडि बढ्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले सहमति, सहकार्य र एकता गरेर उद्योग सञ्चालन गर्नुपर्ने, खानेपानी, बिजुली, सडकलागायत क्षेत्रमा महानगरपालिका सहगोग गर्न तयार रहेको बताउनुभयो ।

औद्योगिक व्यवस्थापन क्षेत्रका कार्यकारी व्यवस्थापक भोजराज बिडारीले बालाजु औद्योगिक क्षेत्रको व्यवस्थापन गरी अगाडि बढ्ने बताउनुभयो ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गत रहेका १४१ उद्योग मध्ये हाल १२९ वटा सञ्चालनमा छन् । नौ उद्योग निर्माणाधीन अवस्थामा तथा तीन उद्योग बन्द छन् ।

विसं २०१६ मा शिलान्याश गरिएको बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड २०२० सालदेखि सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्र ६७० रोपनी क्षेत्रमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.