बजेटका सम्बन्धमा काङ्ग्रेसको धारणा सार्वजनिक, परिणामुखी हुने आधार न्यून

काठमाडौँ, १७ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले बुधबार सङ्घीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटका सम्बन्धमा पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा सार्वजनिक गरेको छ ।

काङ्ग्रेसले मुलुकमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको स्थिर सरकार निर्माण भएको अवस्थामा मुलुकले नवीन कार्यक्रम, दूरगामी लक्ष्य र जोखिम मोल्न सक्ने क्षमताको खोजी भए पनि बजेटमार्फत सरकारले त्यो आँट र क्षमता प्रस्तुत गर्न नसकेको टिप्पणी गरेको छ ।

नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजाल, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालगायत नेताहरुले पार्टीका धारणाका बारेमा जानकारी दिँदै बजेटमा दुई कम्युनिष्ट पार्टीको गठबन्धनले निर्वाचनका बेला गरेका बाचालाई परिणामुखी बनाउने कार्यक्रम न्यून मात्र रहेको उल्लेख गर्नुभयो ।

खर्च गर्न सक्ने क्षमता र आय स्रोत तथा क्षमताको वृद्धि नगरी बजेटको आकार वृद्धि गरिएकाले गत वर्षको बजेटको भन्दा परिणाम भिन्न हुने आधार नदेखिएको काङ्ग्रेसको धारणा छ । प्रवक्ता शर्माले भन्नुभयो, “बजेटको एक चौथाइ करीब मात्रै पूँजीगत बजेटको निरन्तरता यो वर्ष पनि हुनु सरकार दुई तिहाइको हुनु र नहुनुको अर्थमा कुनै भिन्नता भएन ।” बजेटमा विकास खर्चका लागि रु तीन खर्ब विदेशी ऋणको प्रतिक्षा तथा दुई खर्ब स्वदेशी ऋणको जोहो गर्नुपर्ने स्थिति अत्यन्तै जोखिमपूर्ण रहेको पार्टीले जनाएको छ ।

बजेटले सङ्घीयतालाई सार्थक बनाउन अघिल्लो वर्षको कमजोरी पहिचान गरेर अघि बढ्ने सङ्केत नदिएको भन्दै प्रवक्ता शर्माले काङ्ग्रेसले विगतमा लिएको अर्थनीतिलाई गलत भनेर सत्तामा पुगेपछि केही पपुलिष्ट विषयहरु गाँसेर त्यही नीतिको मूल बाटोमा हिँड्नु परेको अवस्थामा आजको सरकार रहेको धारणा व्यक्त गर्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.