लेखापरीक्षकहरुको पाँचौं राष्ट्रिय महधिवेशन शुक्रबारबाट काठमाडौँमा सुरु हुँदै

क्षितिज भण्डारी । काठमाडौँ, १६ जेठ : लेखा तथा लेखाव्यवसायीको क्षेत्रमा काम गर्ने रजिष्टर्ड लेखापरीक्षकहरुको संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान)को पाँचौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ ।
राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान भन्ने नाराका साथ भोलीबाट राजधानीमा सुरु हुने महाधिवेशनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
२०६३ साल श्रावण २० गते स्थापना भएको देशभरीका आठ हजार लेखापरीक्षकहरुको साझा संगठन अडानका पाँच सय पचासभन्दा बढी लेखापरीक्षकहरुको महाधिवेशनमा सहभागिता रहने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
६८ जिल्लामा संगठन विस्तार गरेको अडान लेखापरीक्षकहरुको हकहित र क्षमता अभिवृद्धिका लागि कृयाशिल रहेको छ ।
महाधिवेशनको समुद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, महालेखापरिक्षक टंकमणि शर्मालगायत आर्थिक तथा लेखा क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहने छ ।
महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने अडानका महासचिव डोल प्रसाद दाहालले जानकारी दिनुभयो ।
