निर्यात प्रवद्र्धनको कार्य अगाडि बढाइयोे 

काठमाडौँ १३ जेठ : प्रतिनिधिसभामा आज प्रस्तुत भएको आर्थिक सर्वेक्षणमा नेपालले भारत र चीनलगायतका देशहरुसँग द्विपक्षीय व्यापार सम्झौता गरी व्यापारमा पहुँच विस्तार भएअनुरुपको निर्यात प्रवद्र्धन गर्न वस्तुहरुको पहिचान, विकास र विस्तारका कार्य अगाडि बढाएको उल्लेख छ ।

विश्व व्यापार सदस्यका रुपमा आवधिक रुपमा वाणिज्य नीति–२०७२ पुनरवलोकन गरिएको छ । निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ कार्यान्वयनमा आएको छ । जसअनुसार २६ वस्तुमध्ये १५ वस्तुलाई ५.० प्रतिशत र ११ वस्तुलाई ३.० प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ । भारतमा नेपाली वस्तुको निर्यात प्रवद्र्धन र भारतको लगानी नेपालमा विस्तार गर्न उद्योगी–व्यवसायी सम्मिलित संयुक्त व्यवासय मञ्च गठन गरिएको छ ।

भारतसँगको वाणिज्य सन्धि पुनरवलोकनका लागि हालसम्म दुई चरणमा वार्ता सम्पन्न भएको छ । पारवहन सन्धिअन्तर्गत विगतमा भएका लेटर अफ एक्सचेञ्ज एकीकरण गर्ने, साहिवगञ्ज र कालुघाटसम्म पानीजहाजबाटै मालसमान दोहोरो ढुवानी गर्न सक्ने र थप दुई बन्दरगाह प्रयोगमा ल्याउनेसम्बन्धी पक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ ।

भारतको कोलकता, हल्दिया र विसाखापटनम भएर रेलमार्फत ढुवानी हुने तेस्रो मुलुकको कार्गोलाई परीक्षणका रुपमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली जडान गरी ट्रान्सिपमेन्ट प्रणालीमा ढुवानी कार्यको शुरुआत गरिएको छ । विशाखापटनम बन्दरगाह तथा कोलकाताबाट वीरगञ्ज निर्यात र आयात गर्दा कार्गो सिधै वीरगञ्जमा क्लियरेन्स गर्ने व्यवस्था गरिएको छ । यसबाट भारतीय भन्सारमा नेपाली कार्गो नरोकिने र नेपाली कार्गोको ढुवानीमा लागत तथा समय बचत हुन लागेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा यसलाई सबै ढुवानीका माध्यमबाट ढुवानी हुने कार्गोहरुमा समेत लगाई स्थानीय रुप दिन भारतीय पक्षलाई लेटर अफ एक्सचेञ्ज प्रस्ताव गरिएको उल्लेख छ । विराटनगरमा निर्माणाधीन एकीकृत जाँच चौकी निर्माणको कार्य अन्तिम चरणमा रहेको जनाइएको छ । यस्तै कञ्चनपुरको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण तथा भैरहवा र नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण गर्न प्रारम्भिक कार्य भइरहेका छन् । विद्युतीय व्यापारको विकास र उपयोगका लागि विद्युतीय व्यापार रणनीति तयार गरिएको छ ।

नेपाल र चीनबीच भएको ऐतिहासिक पारवहन तथा यातायात सम्झौतालाई कार्यान्वयनमा ल्याउने प्रोटोकलमा हस्ताक्षर भइसकेको सर्वेक्षणमा उल्लेख छ । यसबाट नेपालका लागि चार थप सामुन्द्रिक बन्दरगाह, तीन सुख्खा बन्दरगाह तथा पारवहन मार्ग उपलब्ध हुनेछन् ।

सो सर्वेक्षणअनुसार वीरगञ्जस्थित एकीकृत भन्सार जाँच सञ्चालनमा ल्याइएको छ । चोभारमा सुख्खा बन्दरगाह शिलान्यास निर्माण कार्य शुरु भएको छ । नेपालको पारवहनलाई आन्तरिक जलमार्गको उपयोगद्वारा विविधीकरण गर्ने सम्बन्धमा नेपाल–भारत व्यापार तथा पारवहन सन्धिमा जल यातायात पनि थप गर्न समझदारी भएको छ । कोलकत्ता र सहिवगञ्ज तथा कालुघाटबाट विराटनगर र वीरगञ्जतर्फ जल यातायात गर्ने प्रावधान उक्त सन्धिमा समाहित गर्न भारत सहमत भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार नर्वे, सिङ्गापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकामा नेपाली कफीको टे«डमार्क दर्ता गरिएको छ । भारत पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई)मा नेपाली अलैँचीको सामूहिक व्यापार चिह्न दर्ता गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.