अडिटर्स एसोशियसन उपत्यका प्रदेश समितिमा चापागाँई निर्विरोध निर्वाचित

काठमाडौँ, ४ जेठ । नेपाल अडिटर्स एसोशियसन (अडान), उपत्यका प्रदेश समितिको पाँचौ अधिवेशनले आत्मराम चापागाँई अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ । राजधानीमा आज सम्पन्न ५ औँ अधिवेशनले अडानको पदाधिकारी तथा सदस्यको निर्विरोध चयन गरेको छ ।

अडानको उपाध्यक्षमा टीकाराम पौडेल, सचिवमा उत्सव केसी, सहसचिवमा सोमनाथ अधिकारी, कोषाध्यक्षमा बाबुराम थापा र सह कोषाध्यक्षमा पुस्कर भुर्तेल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी अडानकोे सदस्यहरुमा सन्तोष किशोर लाभा, डिल्ली प्रसाल दाहाल, देवबहादुर अधिकारी, चेतनाथ काफ्लो, गणेश प्रसाद दुवाल, हरिन्द्रराज घिमिरे, हिराकाजी मर्हजन, जर्नादन पण्डित, लक्षमी प्रसाद चौलागाई, राजन थापा, सुरेन्द्र देव श्रेष्ठ र सतिश राज भट्टराई निर्विरोध निर्वाचित हुनुभएको सह निर्वाचन अधिकृत भोला नाथ पाठकले जानकारी दिनुभयो ।

लेखापरीक्षकले ‘मुख मिलाउन’ हुँदैन : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेशागत मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई आग्रह गर्नुभएको छ । नेपाल अडिटर्स एसोशियसन (अडान), उपत्यका प्रदेश समितिको पाँचौ अधिवेशनको राजधानीमा उद्घाटन गर्दै उहाँले लेखा परीक्षणको नाममा राज्यलाई आर्थिक नोक्सानी पुर्याउन नहुनेमा जोड दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “आर्थिक हिसाब प्रष्ट पार्न लेखापरीक्षकको आवश्यकता छ । लेखापरीक्षण गर्दा राज्यलाई आर्थिक नोक्सानी हुने गरी ‘मुख मिलाउन’ हुँदैन ।” वास्तविक लेखापरीक्षण गरेर आर्थिक हिनामिना गर्न नदिन लेखापरीक्षकको ठूलो भूमिका रहेको औँल्याउँदै उहाँले लेखापरीक्षणका क्रममा हुने अनियमितता रोक्न सम्पूर्ण लेखापरीक्षक एक हुनुपर्ने बताउनुभयो ।

“लेखा परीक्षणका क्रममा हुने अनियमितता रोक्ने हैसियत र सीप तपाईंहरुसँग छ, अब सरकारलाई लेखापरीक्षकको साथ चाहिएको छ”, मन्त्री यादवले भन्नुभयो । जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आफू क्रियाशील रहेको उल्लेख गर्दै उहाँले कम्पनी, उद्योग, प्रतिष्ठान दर्तालगायत कामलाई सहज बनाउन सरकाले एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो । “एकल बिन्दु सेवा केन्द्रबाट सम्पूर्ण सेवा उपलब्ध हुनेछ, अब लेखापरीक्षकले कम्पनी तथा उद्योगसँग सम्बन्धित फाइल बोकेर विभिन्न निकाय धाउनुपर्ने छैन, कर्मचारी र लेखापरीक्षकले पूरानो मानसिकता त्यागेर कुनै अनियमितता नगरी काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अडानका अध्यक्ष मोहनराज रेग्मीले विगतमा लेखापरीक्षण पेशामा विकृति देखिएको स्वीकार गर्दै अब उप्रान्त लेखापरीक्षणका क्रममा हुने मिलेमतो रोक्नुपर्ने बताउनुभयो । नेपाल चार्टड एकाउन्टेन्ट ऐन, २०५३ ले लेखापरीक्षकलाई विभेद गरेको गुनासो गर्दै उहाँले विभेद हटाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

अधिवेशनमा अडानका महासचिव डोल प्रसाद दाहाल, अडानका पूर्व अध्यक्ष कमल खरेल, घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष मुकेश उपाध्यायले अधिवेशनको सफलताको शुभकामना दिनुहुँदै आआफ्नो क्षेत्रबाट सकरात्मक भूमीका खेल्नुपर्ने बताउनु भयो ।

सो अवसरमा अडानका प्रतिनिधिले उद्योग तथा कम्पनी दर्ता गर्न सहज भए पनि खारेजी गर्न विभिन्न झण्झट व्यहोर्नुपरेको, सहजैरुपमा राजस्व दाखिला गर्नेलगायत नीतिगत व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका थिए । एशोसियसनमा तीन हजारभन्दा बढी लेखापरीक्षक आबद्ध रहेका छन भने उपत्यकाभित्र दुई हजार ५०० बढी लेखापरीक्षक छन ।

सो अबसरमा नेपाल अडिटर्स एसोशियसन (अडान) को केन्द्रीय महाधिवेशन आगामी जेठ १७ र १८ गते काठमाडौँमा प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने जानकारी समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.