‘बजेट भूगोल र जनसङ्ख्याका आधारमा’ बनाउनुपर्ने सांसदहरुको धारणा

काठमाडौँ, ३० वैशाख : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अधिकांश सांसदले बजेट सिमान्तकृत, अल्पसङ्ख्यक, पिछडा वर्ग, महिला, अपाङ्ग, मधेशी, दलित र दुर्गम क्षेत्रलाई केन्द्र बिन्दुमा राखेर बनाउनुपर्ने धारणा राख्नुभएको छ ।

उहाँहरुले बजेट पहुँच र भनसुनका आधारमा नभई भूगोल र जनसङ्ख्यालाई आधार बनाइ विनियोजन गर्नुपर्ने बताउनुभयो । संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ लागि प्रस्ताव गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिनुहँुदै सांसदहरुले बजेट समानुपातिक रुपमा वितरण नहुँदा असमानताले प्रश्चय पाउने सुझाव दिनुभएको थियो ।

सांसद योगेश भट्टराईले शिक्षा क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गर्न सरकारको ध्यान आकर्षण गर्नुभयो । उहाँले सरकार जवाफदेही बन्न सके मुलुकमा सुशासनको प्रत्याभूति हुन गई मुलुकले छिट्टै आर्थिक विकास गर्नसक्ने दाबी गर्नुभयो ।

सांसद गगनकुमार थापाले सरकारलाई चालू खर्चस्थिर राख्न अनुरोध गर्नुभयो । उहाँले विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकरणतर्फ आकर्षित गर्न सुझाव दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको परिदृश्य खस्किएको, नीति तथा कार्यक्रम आपसमा अल्मलिएको भन्दै मुलुकमा लगानी भित्र्याउन आग्रह गर्नुभयो । सांसद शशाङ्क कोइरालाले वर्तमान सरकारप्रति अन्तर्राष्ट्रिय विश्वास नरहेकाले लगानी सम्मेलन हुँदा पनि लगानी नभित्रिएको, व्यापार घाटा चुलिँदै गएको, निजी क्षेत्र असन्तुष्ट रहेको, जनता महङ्गीको मारमा परेकाले अनावश्यक करको भार बोक्नुपरेको बताउनुभयो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिनुहुने अधिकांश सांसदले कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाँहरुले बजेट वितरणमुखी नभई परिणाममुखी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसदहरुले वर्तमान सरकारको हातमा अवसर र चुनौती दुवै भएकाले चुनौतीलाई अवसरका रुपमा ग्रहण गर्दै बजेट निर्माण गर्न जोड दिनुभएको थियो ।

संसद्मा घनश्याम भुसाल, भानुभक्त ढकाल, शशी श्रेष्ठ र कृष्णभक्त पोखरेलले चुलिँदो व्यापार घाटा कम गर्न कृषिको आधुनिकीकरणमा जोड दिनुभएको थियो । त्यसैगरी उमा रेग्मी, पुष्पा भुषाल, उमाकान्त चौधरी र भीमसेनदास प्रधानले बजेट विनियोजन गर्दा राष्ट्रिय गौरवका आयोजनालाई महत्व दिनुपर्ने तथा सिँचाइलाई महत्व दिनुपर्ने धारणा राख्नुभएको थियो ।

त्यसैगरी यज्ञ सुनुवार, मीना सुब्बा, टेकबहादुर बस्नेत, मिना पाण्डे, कृष्णप्रसाद दाहाल, देवेन्द्रराज कँडेल, बिमला विक, तेजुलाल चौधरी, महेशराज गहतराज, सञ्जयकुमार गौतम, निरुदेवी पाल, ज्ञानकुमारी छन्त्याल, सीता न्यौपाने, लक्ष्मी परियार, सरवत आरा खानम, सूर्य पाठक, भरतकुमार शाह, मिनाक्षी झा, पार्वतीकुमारी विसुङ्खे, भूपेन्द्रबहादुर थापा, नवराज सिलवाल, सन्तकुमार थारु, नन्दलाल रोक्का क्षेत्री, खेमप्रसाद लोहनी, नारदमुनी राणा, दिलकुमारी रावल, दिव्यमणी राजभण्डारी, रामकुमारी झाँक्री, गोपालबहादुर बम, गणेशसिंह ठगुन्ना, गणेशकुमार पहाडी, नारायणप्रसाद मरासिनी, प्रमिला राई, मोतीलाल दुगड र सोमप्रसाद पाण्डेयले बैंकको ब्याजदर कम गर्नुपर्ने, खेतीयोग्य जमीनको खण्डीकरण रोक्नुपर्ने, नदी नियन्त्रण गर्नुपर्ने, हिमाल, तराई र पहाडमा समान ढङ्गले बजेट विनियोजन गर्नुपर्ने तथा प्राथमिक सूचीमा राखेर बजेट तर्जुमा गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३१ गते बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.