महिला उद्यमीको ‘कोसेली घर’ सञ्चालन

नेपालगञ्ज, २५ वैशाख : बाँके जिल्लाका महिला उद्यमीको संयुक्त पहलमा नेपालगञ्जमा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा महिला उद्यमी सङ्घ बाँकेमा आबद्ध महिला उद्यमीले कोसेली घर सञ्चालनमा ल्याएका हुन् ।

यहाँस्थित बिपी चोक नजिकै सञ्चालनमा ल्याइएको सो कोेसेली घरमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला, वस्तुकलाका साथै खाद्य वस्तु बिक्रीमा राखिएका छन् । सो कोसेली घरको नगर प्रमुख डा धवलशम्शेर राणाले उद्घाटन गर्दै उद्योग सञ्चालनका लागि घर निर्माणका लागि आवश्यक जग्गा उपमहानगरपालिकाले उपलब्ध गराउने आश्वासन दिनुभयो ।

“स–साना उद्यम गरेर स्वरोजगार हुन चाहने महिलालाई उपमहानगरपालिकाले बिना धितो रु एक लाख ऋण उपलब्ध गराउने नीति अवलम्बन गरेको छ”, नगर प्रमुख राणाले भन्नुभयो । उक्त कोसेली घर निर्माणका लागि यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयले रु १५ लाख विनियोजन गरेको छ भने उपमहानगरले वडा नं ११ मा जग्गा उपलब्ध गराएर कोसेली घर निर्माण गर्ने बताइएको छ ।

कोसेली घरमा बाँकेका ग्रामीण क्षेत्रमा उत्पादन भएका प्राङ्गारिक र हस्तकलाका सामग्री बिक्री वितरण गरिने उपप्रमुख उमा थापामगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.