तातोपानी नाका खुलाउन तीव्रगतिमा काम

चौतारा, १८ वैशाख : विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

बन्द नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह आज हस्तान्तरण गरिने भनिए पनि काममा ढिलाइ भएकाले एक महीनापछि सरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव रविशङ्कर सैंजुले बताउनुभयो ।

बन्द नाका खुलाउन प्रधानमन्त्रीको निर्देशनअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद अग्नी सापकोटा, घनश्याम भुसाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको टोलीले गत चैत २६ गते स्थलगत निरीक्षण गरी चाँडै काम सकाउन सम्बन्धित सचिवलाई निर्देशन दिनुभएको थियो ।

बाह्रबिसे नगरपालिकाअन्तर्गत गातिको बसेरीदेखि सीमा पुलसम्मको सडक चिनियाँ पक्षले मर्मत सम्पन्न गरिसकेको छ । सीमा पुलको काम आउँदो एक महीनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसैँ घण्टा मजदूर खटिएर काम भइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

लार्चामा निर्माण भएको अत्याधुनिक सुख्खा बन्दरगाहको छिटफुटबाहेक सबै काम सम्पन्न भइसकेको छ । बाह्रबिसेदेखि बसेरी सडकमा पर्ने जग्गा दुई किलोमिटर भाग मात्र ग्राभेल गरिएको उक्त साइट हेर्ने सडक डिभिजन कार्यालय दोलखाका इञ्जिनीयर प्रदीप निरौलाले बताउनुभयो ।

गत वर्षको बर्खामा बाढीले बगाएको बाह्रबिसेको खुर्सानीबारीस्थित साँदी खोलाको पक्की पुलको ठाउँमा आगामी सातामा बेलिब्रिज जडान गरिने भएको छ । पक्की पुल निर्माणका लागि आवश्यक बजेट माग गरिए पनि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा बजेट निकासा नदिएकाले विकल्पको रुपमा बेलिब्रिज राख्नुपरेको इञ्जिनीयर निरौलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.