उद्योगबाट रु चार करोडभन्दा बढी जरिवाना असुल

वीरगञ्ज, १७ वैशाख : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ ।

विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व छल्दैँ आएका यस क्षेत्रका ५२ वटा उद्योग कलकारखाना तथा व्यापारी प्रतिष्ठानले विद्युत् मिटरमा डाटा डाउनलोड गरी विद्युत् चोरी गर्दै आएकाले ती फार्मलाई नेपाल विद्युत् वितरण नियमावली २०६९ बमोजिम कारवाही गरी रु चार करोड २२ लाख २८ हजार जरिवाना रकम असुल गरिएको वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभयो । यद्यपि, प्रमुख ठाकुरले विद्युत् चोरी गर्ने ती ५२ वटा फार्मको नाम भने सार्वजनिक गर्न चाहनुभएन ।

यसैगरी प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि चैत मसान्तसम्ममा कालोसूचीमा रहेका ७५ ग्राहकसँग रु ३९ लाख ९४ हजार जरिवाना रकम असुल गरेको छ भने विभिन्न प्रकारले विद्युत् चोरी गर्ने ८३ ग्राहकबाट रु २६ लाख ५० हजार ९४० जरिवानाबापत रकम असुल गरेको छ ।

यसैगरी केन्द्रले विगत लामो समयदेखि विद्युत् प्रयोग गरी रकम नतिर्ने ५९८ ग्राहकको विद्युत् लाइन काटी ५९५ ग्राहकबाट रु पाँच करोड १४ लाख ५७ हजार २८३ असुल गरेको छ । वीरगञ्ज महानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर तथा विश्रामपुर गाउँपालिकामा विद्युत् वितरण गर्दै आइरहेका नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रसँग ४५ हजार ग्राहक रहेका छन् ।

बढ्दो विद्युत् चोरीलाई नियन्त्रण गर्न केन्द्रले ठूला ग्राहकको मिटर निरीक्षण, सही विलिङ भएको छ छैनजस्ता अभियान चलाएपछि चोरी नियन्त्रण भई सात प्रतिशतबाट तीन प्रतिशतमा सीमित भएको दाबी केन्द्रको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.