सेजन र फ्याक्टसबीच सम्झौता
काठमाडौँ, ४ भदौ : नेपाल आर्थिक पत्रकार समाज (सेजन) र ‘फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनी’बीच ‘स्व सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ ।
आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजनका सदस्यलाई सोधवृत्ति उपलब्ध गराउने सम्झौता गरिएको हो ।
सेजनका पूर्वउपाध्यक्ष समेत रहनुभएका स्व सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको सोधवृत्ति सम्झौतापत्रमा एक कार्यक्रमकाबीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रबन्धक मनिष झाले हस्ताक्षर गर्नुभयो ।
सोधवृत्तिका लागि शुरुआतामा कम्पनीले वार्षिक रु ५० हजार सेजनलाई उपलब्ध गराउने छ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रबन्धक झाले स्व न्यौपानेले अनुसन्धानमा देखाउनुभएको चासोको कदर गर्दै सोधवृत्ति कार्यक्रम ल्याइएको बताउनुभयो । तथ्यमा आधारित पत्रकारितालाई प्रवद्र्धन गर्नका लागि हरेक वर्ष सेजनका सदस्यमध्ये एक जनालाई सोधवृत्ति दिइने उहाँको भनाइ थियो । उक्त सोधवृत्ति हरेक वर्ष सेजन स्थापना दिवसका अवसरमा वितरण गरिनेछ ।
सोधवृत्तिका लागि सेजनका पूर्वअध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी मूल्याङ्कन समिति गठन गर्ने व्यवस्था गरिएको सेजनले जनाएको छ ।