श्रम ऐनमा समयसापेक्ष सुधार गर्न माग
काठमाडौँ, ९ फागुन (रासस) : सरकारले हालै कार्यान्वयमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयनका बारेमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ एक कार्यशालाको आयोजना गरेको छ ।
नेपालमा ती दुई ऐनको निर्माणका लागि महासङ्घले पनि लामो समयदेखि पहल गरेकाले तिनको कार्यान्वयन बारे सरोकारवाला एवम् नेपालका उद्योगी–व्यवसायीलाई जानकारी दिन सो कार्यशालाको आयोजना गरिएको हो ।
कार्यशालाको उद्घाटन गर्दै महासङ्घका अध्यक्ष भवानी राणाले उद्योगी–व्यवसायी तथा श्रमिकसँग जोडिएका विषय भएकाले ती कानूनको कार्यान्वयनलाई सहजीकरण गर्न महासङ्घको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ती कानूनको महत्व र आवश्यकतामाथि जोड दिँदै उद्योगमैत्री वातावरणका लागि उद्योगी र व्यवसायीबीच मैत्री सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा श्रम ऐन निर्माण गर्ने क्रममा महासङ्घ तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेको पहलको स्मरण गर्नुभयो । उहाँले ती कानूनमा समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता पनि महसुस भइसकेको सो अवसरमा जानकारी गराउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका पछिल्ला परिवर्तनले पनि श्रम ऐन लागू हुने दायरा बढ्न गएको भन्दै उहाँले कुनै पनि कानून आफैँमा पूर्ण नहुने भएकाले यी कानूनमा पनि केही कमी कमजोरी भएमा सुधार गनुपर्ने धारणा राख्नुभयो ।
नेपालको श्रम क्षेत्रका लागि महत्वपूर्ण मानिएका यी कानूनहरु लागू भइसकेका र तिनको कार्यान्वयनका क्रममा देखिने समस्याका बारेमा पनि अध्ययन भइरहेकाले सो सम्बन्धमा महासङ्घलाई उद्योग प्रतिष्ठानबाट पनि सुझावहरु प्राप्त भइरहेका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो ।
कार्यशालामा श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवम् नियमावली तथा कार्यविधि पनि विमोचन गरिएको थियो । सो कार्यक्रममा आइएलओका नेपाल प्रतिनिधि रिचार्ड हाउवार्ड पनि सहभागी हुनुहुन्थ्यो ।
