पहरीको पहिचान बेतबाँसको हस्तकला निर्माण
सुभानु आचार्य । गोदावरी, २३ माघ : ललितपुर गोदावरी नगरपालिका–४ बडिखेलका पहरी समुदायको पहिचान बेतबाँसबाट विभिन्न हस्तकलाका सामग्री निर्माण गर्नेमा चिनिने गरेको छ । यो समुदायको सदियौँदेखिको पुख्यौँली पेशा बेतबाँसबाट हस्तकलाका विभिन्न सामग्री निर्माण गरी बजारमा बिक्री वितरण गर्ने र दैनिकी चलाउने गरेका छन् ।
एकदशक पहिले बडिखेलका ९५ प्रतिशत यो समुदायका मानिसले बेतबाँसको काम गरी जीवन निर्वाह गर्ने गरेका थिए तर हाल करीब ६० प्रतिशतले मात्र गर्छन्, गोदावरी नगरपालिका–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले जानकारी दिनुभयो ।
“यो हाम्रो सदियौँ पुरानो पुख्यौँली पेशा हो, मुकुन्दले भन्नुभयो, “हाल ४० प्रतिशत हाम्रो समुदायका मानिस अध्ययन गर्ने, विदेश जाने र भिन्नभिन्न पेशामा आकर्षित हुँदा यो हस्तकलाको व्यवसाय विगतको तुलनामा पछि पर्दै गएको छ ।”
यो समुदायले बेतबाँसबाट नाङ्ला, डाला, ¥याक, डसबिन, टोपी, गमला, भित्तेघडी बनाउने गर्छन् । अन्य स्थानका पहरीको तुलनामा विशेष त बडिखेलका प्रहरीको पहिचान बेतबाँसबाट हस्तकलाको सामग्री निर्माण गर्नेमा विशेष चिनिने गरेका सर्वविदित नै छ । त्यसैले बडिखेलमा हस्तकला कसरी निर्माण हुन्छ भन्ने अध्ययन, दृश्यावलोकन गर्न थेसिसका विद्यार्थी, विभिन्न सङ्घसंस्थामा आबद्ध मानिसलगायत मुलुकका बाह्य पर्यटक आउने गरेका देखिन्छन् ।
बडिखेलका स्थानीय शिवराम प्रहरीले बडिखेलमा पर्याप्तमात्रामा बेतबाँस नपाइने हँुदा ललितपुरको सिस्नेरी, लुभु, लामाटार र लेले जानुपर्ने बाध्यता भएको बताउनुभयो । “गर्मी मौसममा बाँसको पालुवा पलाउँछ, त्यसैले मङ्सिर, पुस र माघ महीनाभर हामी वर्ष दिन भर काम गर्न पुग्ने बेतबाँस जोहो गर्छौं”, शिवरामले भन्नुभयो, “एउटा बेतबाँसको मूल्य हाल रु २५० देखि रु ३०० रुपैयाँ पर्छ, त्यसैले बाँस खोज्न र ल्याउन निकै परिश्रम गर्नुपर्ने हुदा चार–पाँच जना मानिस मिली खोजेर ल्याउछौँ ।”
पहरीले पहिलो चरणमा बाँस खोज्न जाने, काट्ने, बोकेर थुपार्ने, गाडीमा हाल्ने, घर ल्याउने, खसाल्ने, चिर्ने, टुक्राउने, सुकाउने र भण्डारण गर्ने गर्छन् । भने दोस्रो चरणमा घर बसि एकले बाँस खुर्किने, चिर्ने, चोया बनाउने र अन्यले बुन्ने गर्दा जति बुन्यो त्यति धेरै सामग्री उत्पादन हुने पहरी जातिका महिला बताउँछन् ।
“दिनमा जति वटा नाङ्ला, डाला, ¥याक, डसबिन, टोपी, गमला, भित्तेघडी बुन्दा बुनेकामा आधा नाफा हुन्छ, बडिखेलकी अम्बिका पहरीले भन्नुभयो, “एउटा नाङ्लाको मूल्य रु २०० देखि रु २५०, डालाको रु २५० देखि ३००, ¥याक र डसबिनको ३०० देखि ३५०, गमलाको रु ४० देखि ६०, टोपी र भित्तेघडीको रु ३०० देखि ४०० रुपैयाँ लिने गर्छौं ।”
पहरीले बुनेका हस्तकलाको सामग्रीको बजार व्यवस्थापन अभावका कारण विचौलियाले बजारमा मनलाग्दो दरमा उनीहरुसँग सामग्री खरीद गरी बिक्री वितरण गर्ने गरेका छन् । वडाले ती सामग्रीको बजार व्यवस्थापन गर्न छिट्टै पहल गर्ने जानकारी दियो ।
बाँसको हस्तकला निर्माणमा प्रहरी समुदाय त केवल साधनका रुपमा प्रयोग भएका छन् । यो समुदायमा महीनैपिच्छे एउटा चाड पर्ने गर्छ । घर व्यवहार धान्न, रीतिरिवाज, परम्परा, संस्कृति, चाडपर्व मनाउन यिनीहरुले दैनिक हस्तकला निर्माणको काम गर्ने गर्छन् ।
यी समुदायका हरेक मानिसको नाममा व्यक्तिगत जग्गा त छ, तर वर्षदिनभरि यिनिहरुलाई खान सदियौँ वर्षदेखि नै पुग्दैन थियो । आफूले कुन किसिमको हस्तकलाको सामग्री बुन्न जानेको छ त्यो बुन्ने र दैनिक बजारमा बिक्री वितरण गरी जीवन निर्वाह गर्नेमा हाल ६० प्रतिशत पहरी जाति रहेका बताइएको छ ।
नेपालमा रहेका ५८ जनजातिमध्ये २८औँ मा पहरी जाति पर्छन् । पहरी समुदाय सीमान्तकृत वर्गभित्र पर्छन् । ललितपुरको साविकका गाविस गोटिखेल छम्पी, लेले बडिखेल झरुवारासी चापागाउँ, गोदावरीमा करीब १८ हजार जनसङ्ख्या पहरी जातिको छ त्यसमा छ हजार बडिखेल बस्ने प्रहरी विकास सङ्घको तथ्याङ्कमा उल्लेख छ ।
विशेषगरी प्रदेश ३ को काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुर गरी लगभग आठ जिल्लामा पहरी समुदायको बाहुल्यता बढी छ । अन्य जिल्लाको तुलनामा ललितपुरका प्रहरीले बढीमात्रामा बेतबाँसबाट नाङ्ला, डाला, ¥याक, डसबिन, टोपी, गमला, भित्तेघडी बुनि जीवन निर्वाह गर्ने गर्छन् । प्रहरी विकास सङ्घले बडिखेलको हस्तकला प्रवद्र्धनका लागि केही समय पहिले लगनखेलमा प्रदर्शनी गरी प्रचारप्रसार गरेको थियो । प्रचारप्रसारका कारण हाल बडिखेलका घरघरमा व्यवसायी सामग्री खरीद गर्न आउने गरेका देखिन्छ ।
आधुनिक किसिमको विद्युतीय बाँस काट्ने प्रविधि बडिखेलमा भित्रिएको छ । बडिखेलवासीले आफ्नो सामग्री प्रचारप्रसार गरी बिक्री वितरण गर्न ललितपुरको टौखेल, कुपण्डोललगायत काठमाडौँको लाजिम्पाट र पानीपोखरीमा पसल खोली आफ्नो सीपमा थप टेवा पु¥याएका बताइएको छ ।
