निर्यातजन्य उद्योगलाई सहुलियत दिइन्छ : उद्योगमन्त्री

काठमाडौँ, २२ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताउनुभएको छ ।

तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औँ वार्षिक साधारणसभामा मन्त्री यादवले निर्यात अत्यन्त न्यून रहेकामा चिन्ता व्यक्त गर्दै विद्यमान व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग तथा निर्यातजन्य उद्योगको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री, कर्मचारी र व्यापारीलाई जनताले सकारात्मक दृष्टिकोणले हेर्न छाडेको बताउँदै उहाँले भन्नुभयो, “हामी जो जहाँ छौँ, सोही स्थानबाट देशको विकास र समृद्धिका लागि प्रण गरौँ, देश बने सबैले सुख पाउछौँ ।” मन्त्री यादवले उद्योगी तथा व्यवसायीले सरकारसँग विभिन्न सहुलियत माग्ने तर जनतालाई सेवा र सुविधा दिन नसक्ने गरेको आरोप लगाउनुभयो ।

वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले कुन स्वदेशी उत्पादनको विदेशमा माग छ, त्यसको अध्ययन गरी बहुपक्षीय रणनीति बनाएर मात्र निर्यात वृद्धि गर्न सकिने बताउँदै भूपरिवेष्ठित देश भएका कारण वस्तु आयातमा ढुवानी खर्च बढ्ने गरेको जानकारी दिनुभयो । निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यात गृह निर्माणका लागि व्यवसायीको माग रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.