‘नेपालमा उद्यमशिलता सम्भावना’

काठमाडौँ, ७ पुस : दक्षिण र दक्षिणपूर्वी एशियाका युवा उद्यमीले नेपालमा उद्यमशिलता विकासको प्रचुर सम्भावना रहेको औँल्याएका छन् ।

प्राकृतिक विविधता र महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थल रहेकाले क्षेत्र पहिचान गरेर नेपालमा लगानी गर्ने हो भने उद्यमशिलता फष्टाउने उद्यमीको भनाइ छ । नेक्स्ट भेन्चर कर्पको आयोजनामा आज राजधानीमा भएको उद्यमशिलता विकाससम्बन्धी सेमिनार(नेक्स्ट ग्रोथ कन्क्ल्याभ) मा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा प्रस्तुति दिँदै भियतनामका युवा उद्यमी बब्बी लिउले नेपालमा व्यापार व्यवसायमा लगानी गर्न राम्रो सम्भावना रहेको भन्दै यसका लागि सरकार र विभिन्न सङ्घसंस्थाको समन्वय र आपसी उत्तरदायित्वपूर्ण काम गर्नुपर्नेमा जोड दिनुभयो । 

भारतका उद्यमी राजिव चित्रभानुले नेपालको यातायात, सूचना र प्रविधि, विद्युतीय सेवालगायत धेरै क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको वस्तु स्थितिबारे जानकरी दिँदै शुरुमा क्षेत्र छनोट गरेर व्यवसायको संस्थागत संरचना बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 

इ–सेवा सञ्चालन गर्दै आउनुभएका युवा उद्यमी विश्वास ढकालले कुन ठाउँमा के समस्या छ त्यसको पहिचान गरेर लगानी गर्नुपर्ने बताउनुभयो । एकैचोटी ठूलो क्षेत्रमा पुग्नुभन्दा सानो ठाउँको समस्यालाई समाधान गर्दै व्यवसायको दायरा फराकिलो पार्नुपर्ने उहाँको अनुभव छ । 

“नेपालमा रु ८० को विद्युत्को बिल तिर्न दुई दिन हिड्नुपर्ने अवस्था छ, इ–सेवाले न्यून शुल्कमा काम सम्पन्न गरिदिन्छ, यस्ता विषय छनोट गरी लगानी गर्ने हो भने दिगो हुन्छ,” ढकालले भन्नुभयो । 

भारतका अर्का उद्यमी सन्दिप देशमुखले नेपाल र भारतको वातावरण उस्तै रहेको भन्दै नेटवर्क तथा प्रबन्धकीय क्षेत्रमा लगानीको सम्भावना रहेको आँैल्याउनुभयो । उहाँले प्रविधि सँगसँगै पर्यटन व्यवसायमा समेत लगानी गर्न सकिने उल्लेख गर्नुभयो । 

उद्यमीलाई व्यवसाय विस्तारमा सहयोगसँगै परामर्श दिई अन्तर्राष्ट्रिय व्यापारीसँग जोड्नका लागि कार्यक्रम आयोजना गरिएको नेक्स्ट भेन्चर कर्पका संस्थापक एवं प्रबन्ध निर्देशक कविराज जोशीले जानकरी दिनुभयो । 

कार्यक्रममा भारतका स्कन्द त्यागी, राहुल नर्भेकर र नेपालका शिक्षित भट्टले उद्यमशिलताका विषयमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो । आयोजक नेक्स्ट भेन्चर कर्पले सन् २०११ बाट उद्यमीलाई व्यवसाय विस्तारमा सेवा दिँदै आएको जनाइएको छ । 

आजको कार्यक्रमको दोस्रो सत्रमा चौधरी ग्रुपका अध्यक्ष डा विनोदकुमार चौधरीसहित नेपालका दिलीप अग्रवाल र उपौल मजुमदार, भारतका डा अनुराग बात्रा, मलेशियाकी कृष्टी, बङ्गलादेशका मिल्की महम्मुद तथा भुटानका टासी वाङदीले उद्यमशिलतासम्बन्धी प्रस्तुति दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.