स्वदेशी उद्योगलाई संरक्षण दिइने
काठमाडौँ, ४ पुस : सरकारले स्वदेशी उत्पादन वृद्धि गर्ने उद्योगलाई संरक्षण दिने भएको छ ।
उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता कल्याण समितिले चिनी, चिया र कफीको उत्पादनकाबारे आज यहाँ आयोजना गरेको छलफलमा अर्थमन्त्री डा युवराज खतिवडाले देशमा रोजगारीका साथै स्वदेशी उत्पादन वृद्धि गर्ने उद्योगलाई आवश्यक अनुदान तथा भन्सार सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारले उपलब्ध गराएको सहुलियतबाट जनता लाभान्वित हुनुपर्ने बताउँदै उहाँले उद्योगीलाई करीब रु ९३ करोड मूल्य अभिवृद्धि कर निकासा दिइएको जानकारी गराउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकको विकास र समृद्धिका लागि औद्योगिक प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै त्यस्ता प्रतिष्ठानले आयात प्रतिस्थापनमा सहयोग गर्ने, रोजगारी वृद्धि गर्ने हुँदा सरकारले संरक्षण गर्ने बताउनुभयो । उहाँले उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाका विषयमा उद्योगी संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भन्नुभयो, “कुन कुन उद्योगलाई के कस्तो सहुलियत उपलब्ध गराएमा के कति सङ्ख्यामा रोजगारीको सम्भावना वृद्धि हुन्छ, त्यसबारे अध्ययन भइरहेको प्रतिवेदनका आधारमा सुविधा दिइने छ ।”
समितिका सभापति विमलप्रसाद श्रीवास्तवले तीन अर्ब बराबरको चिनी मौज्दात रहेको जानकारी दिँदै सामूहिक खेतीका माध्यमबाट चिया र कफीको उत्पादन वृद्धि गर्न सकिने बताउनुभयो । कार्यक्रममा सांसद, उद्योगीलगायतले वस्तुको उत्पादन लागतमा कमी ल्याउन कर प्रणाली व्यवस्थित बनाउनुपर्ने सुझाव दिनुभएको थियो ।
