चेम्बर र थाई उद्योग महासङ्घबीच लगानी अभिवृद्धि गर्ने सम्झौता

काठमाडौँ, २ पुस : नेपाल चेम्बर अफ कमर्श र थाई उद्योग महासङ्घ (द फेडरेशन अफ थाई इण्डस्ट्रिज) बीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्नेबारे सम्झौता भएको छ । 

थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीको उपस्थितिमा सोमबार बैंककमा भएको सम्झौता पत्रमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र थाई उद्योग महासङ्घका अध्यक्ष सुपान्त मोङकोलोस्थ्रीले हस्ताक्षर गर्नुभएको चेम्बरले जनाएको छ । 

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले नेपालले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको बताउनुभयो । 

“हामी आयातमुखी अर्थतन्त्रमा छौँ, यसलाई परिवर्तन गर्न प्रविधिसहितको लगानी चाहिन्छ”, उहाँले भन्नुभयो, “भारत र चीनजस्तो ठूलो जनसङ्ख्या भएको देशको बीचमा नेपाल रहेकाले यहाँबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउन सकिन्छ ।” 

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “नेपालबाट ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने वस्तुमा भारतमा शून्य भन्सार दरमा निकासी हुन पाउँछ, चीनमा पनि चार हजारभन्दा बढी वस्तु शून्य भन्सार दरमा निकासी हुन पाउने सुविधा छ र युरोपेली मुलुकमा समेत शून्य भन्सारमा सामान निकासी गर्न सकिन्छ ।” 

थाई उद्योग महासङ्घका अध्यक्ष मोङकोलोस्थ्रीले नेपाल चेम्बर अफ कमर्शसँग सम्बन्ध स्थापित गर्न पाएकामा खुशी व्यक्त गर्दै यसबाट द्विपक्षीय व्यापार तथा लगानी विस्तारमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

चेम्बरका प्रतिनिधिमण्डलले व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले साताव्यापी थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.