सातौँ हस्तकला दिवसको शुरुआत

काठमाडौँ, २८ मङ्सिर : नेपाल हस्तकला महासङ्घले ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गर्दै सातौँ हस्तकला दिवसको शुरुआत गरेको छ ।

ललितपुरको मङ्गलबजार डबलीमा आज विशेष कार्यक्रमसहित हस्तकला दिवस मनाउने कार्यलाई निरन्तरता दिइयो । विश्व कला परिषद्ले एशिया महादेशका ललितपुरलगायत २७ शहरलाई विश्व कला नगरको घोषणा गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले मङ्गलबजारमा २००७ सालदेखि नै कला संस्कृतिको प्रदर्शनी गरिँदै आएको बताउनुभयो । उहाँले सो कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कला संस्कृतिको संरक्षण र प्रवद्र्धनबाट नै देशको असल मुहार प्रदर्शित हुने भएकाले सो कार्यमा लाग्न जोशीले सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष धर्मराज शाक्य, ललितपुर हस्तकला महासङ्घका अध्यक्ष श्याम तण्डुकार, ललितपुर उद्योग वाणिज्य महासङ्घका कृष्णलाल महर्जन र ललितपुर महानगरपालिकाका कार्यवाहक प्रमुख गीता सत्यालले संस्कृतिको संरक्षण र सम्वद्र्धनमा कलाको महत्वपूर्ण योगदान हुने भएकाले कलाकारिता र यसको प्रवद्र्धनलाई निरन्तता दिइनुपर्ने बताउनुभयो । कला नगरी घोषणा गरिएसँगै नेपालले अन्तर्राष्ट्रिय जगत्मा ऐतिहासिक सम्पदा, मठ मन्दिर संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने, नेपाली कला अन्तर्राष्ट्रिय बजारमा परिचित हुनेलगायत महत्वपूर्ण सहयोग मिल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.