ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रिया सरकारलाई आग्रह

काठमाडौँ, २६ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अष्ट्रिया सरकारलाई आग्रह गर्नुभएको छ ।

आज शिष्टाचार भेटका लागि पुग्नु भएका नेपालका लागि अष्टियाका राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरसँग मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । अष्ट्रियाका विभिन्न कम्पनीले नेपालका महत्वपूर्ण आयोजनाका काम गरिरहेको भन्दै उहाँले लगानी नै गर्ने गरी आवश्यक तयारी गर्न समेत राजदूतमार्फत अष्ट्रिया सरकारलाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूतले नेपालको ऊर्जा क्षेत्रका लगानी र अनुभव आदानप्रदान गर्न आफ्नो देश इच्छुक रहेको धारणा राख्नुभएको थियो । उहाँले त्यसका लागि नेपाल सरकारलाई औपचारिक रुपमा प्रस्ताव पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यस्तै मन्त्री पुनसँग आजै अष्ट्रियाको यातायात र प्रविधि मन्त्रालयका आसियान तथा विमस्टेक क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक मिचेल लिडरेरले समेत भेटवार्ता गर्नुभयो । भेटमा निर्देशक मिचेलले ऊर्जा क्षेत्रमा औपचारिक रुपमा काम गर्न चाहेको बताउनुभएको थियो ।

उर्जामन्त्री पुनले जलविद्युत्मा अष्ट्रियाको प्रविधि संसारमै चर्चित रहेको भन्दै नेपालमा पनि ती कम्पनीले काम गरिरहेको भन्नेमा आफू जानकार रहेको बताउनुभयो । उहाँले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिँदै लगानीका लागि उपयुक्त वातावरणसमेत तयार भएको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.