सुदूरपश्चिममा लगानी गर्न चितवनका उद्योगी/व्यवसायीलाई आग्रह

चितवन, २ मङ्सिर : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगी/व्यवसायीलाई लगानी गर्न आग्रह गर्र्नुभएको छ । पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस क्षेत्रका उद्योगी/व्यवसायीलाई सुदूरपश्चिममा लगानी गरेर प्रतिफल लिन आग्रह गर्नुभयो ।

बोहोराले दुईतीन महीना भित्रमा आवश्यक ऐन पारित गरी लगानी सम्मेलन गर्न लागिएको पनि जानकारी दिनुभयो । नयाँ उद्योगहरुलाई करका दरमा छुट दिइने भन्दै उहाँले सुदूरपश्चिम लगानीका लागि राम्रो प्रतिफल दिने क्षेत्र बन्ने बताउनुभयो । जलविद्युत्, पर्यटन, केबुलकार, हवाई सेवा, उच्च मूल्यका जडीबुटीको विकास र विस्तार, कृषि र पशुपक्षी पालनमा बढी सम्भावना रहेको उहाँको भनाइ थियो ।

चितवनमा रहेका धेरै उद्योगी/व्यवसायीलाई प्रदेश सरकारले उद्योगका लागि स्थान तोकेर भाडामा जग्गा उपलब्ध गराउने पनि उहाँले बताउनुभयो । मन्त्री बोहोराले अन्तर प्रदेशका बीचमा समन्वय गरेर काम गरेमा सबै प्रदेशलाई फाइदा पुग्ने उल्लेख गर्दै यसबाट ऐन कानूनहरु, नियमावली, कार्यविधिमा एकरूपता दिन सकिने बताउनुभयो । अन्तर प्रदेश बीचमा निर्भरता बढाउनुपर्ने भन्दै उहाँले एक प्रदेशले अर्को प्रदेशमा सम्भावित क्षेत्रहरुमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.