पर्यटन उद्यमशीलताका लागि ‘उद्यमी सिड क्याम्प’ गरिने

काठमाडौँ, ११ कात्तिक : पर्यटन उद्योगमा युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यले ‘उद्यमी सिड क्याम्प’ नामक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डले उद्यमी इनोभेसन्ससँगको सहकार्यमा पर्यटनमा नयाँ प्रतिभावान युवालाई प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

पर्यटन क्षेत्रमा योगदान दिने सम्भावना बोकेका नवीन योजनालाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्न ‘सिड क्याम्प’ आयोजना गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार दक्षिण एशियामै पहिलोपटक आयोजना गरिएको उद्यमी सिड क्याम्पले युवा उद्यमीलाई आकर्षणका साथै करीब २० वटा नयाँ उद्यमशीलताको रुप लिने अपेक्षा गरिएको छ । यस कार्यक्रमअन्तर्गत विभिन्न सम्भावित उद्यमीहरुलाई आफ्नो योजनालाई व्यवसायमा परिवर्तन गर्ने अवसर प्रदान गरिनेछ ।

इच्छुक उद्यमीहरुबाट निवेदन माग गरिएकोमा ६१ समूह (टीम) ले निवेदन दिएको र तीमध्ये विधागत छनौटका आधारमा २० वटा टीम छनौट गरिएको छ । उक्त टीमलाई आगामी कात्तिक १३ देखि २० सम्म पोखरामा छ दिने उद्यमी बुट क्याम्पमा सहभागी गराइने आयोजकले जनाएको छ ।

विभिन्न विशेषज्ञहरुले प्रशिक्षण दिने र परिस्कृत योजनालाई लगानीको वातावरण सिर्जना गरिनेछ । पर्यटन सेवाको स्तरोन्नति, क्षमता अभिवृद्धि कसरी गर्ने, ‘डिजिटल टुरिजम’ प्रवद्र्धन, सामुदायिक पर्यटन विकास आदि विषयको आधारमा टोली छनौट गरिएको छ ।

कार्यकारी अधिकृत जोशीले पर्यटन उद्यमी सिड क्याम्पले आकांक्षी उद्यमीहरुलाई आफ्नो योजनालाई जाच्ने, परिस्कृत गर्ने सूवर्ण अवसर प्रदान गर्ने र अन्ततः नेपाल भ्रमण वर्षलाई समेत योगदान पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा लक्ष्मी बैङ्कका सुनील भट्टराईले पर्यटन क्षेत्रका सान्दर्भिक परियोजनमा लगानी गर्न बैङ्क सकारात्मक रहेको उल्लेख गर्नुभयो । उद्यमी इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत कविराज जोशीले पर्यटन क्षेत्रमा उद्यमी बन्न चाहने युवालाई कुन क्षेत्रमा कसरी लगानी गर्ने, सम्भाव्य बजार, लगानीकर्तासँगको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उद्यमी सिड क्याम्प कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । कार्यक्रमलाई लक्ष्मी बैङ्क तथा लक्ष्मी क्यापिटल, गेट कलेज, वल्र्ड इनोभेसन्सलगायतका संस्थाको सहकार्य छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.