दिगो उपभोग तथा उत्पादन प्रणालीमा जोड
काठमाडौँ, ८ कात्तिक : समृद्ध नेपाल र सुखी नेपालीको सरकारी प्रतिबद्धतालाई पूरा गर्न दिगो उपयोग र उत्पादन प्रणाली सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
वन तथा वातावरण मन्त्रालय र युरोपेली सङ्घको स्वीच एशिया परियोजनाद्धारा आयोजित बहुसरोकारवाला परामर्श कार्यशालाका सहभागी वक्ताले दिगो विकासले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नका लागि नेपालले पनि सोहि अनुरुपका कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा केपी ओलीले जनताको जीवनस्तरमा सुधार ल्याउन र वातावरणीय चुनौतीको सामना गर्न सरकार, निजी क्षेत्र र आम समुदायले वस्तुको दिगो उत्पादन र उपयोगमा ध्यान दिनुपर्छ भन्नुभयो ।
उत्पादन र उपयोगबीच सन्तुलन कायम नभएसम्म दिगो विकास असम्भव हुने भएकाले यसबारेमा जनचेतना अभिवृद्धि गर्नुपर्ने खाँचो पनि उहाँले औँल्याउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरण नीति र १५ औँ पञ्चवर्षीय योजना तर्जुमा गर्दा तथा वन र जलवायु नीतिको परिमार्जन गरी प्राकृतिक स्रोतको दिगो उत्पादन र उपयोगका विषयलाई समावेश गरिने जानकारी दिनुभयो ।
नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडेले दिगो विकासका लक्ष्य हासिल गर्न नेपाललाई युरोपेली सङ्घको सहयोग रहने उल्लेख गर्दै यसका लागि सरकारसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई सामना गर्न अनुकूलन र न्यूनीकरणका कार्यक्रमको कार्यान्वयनमा कुनै पनि वस्तुको दिगो उत्पादन र उपयोगमा ध्यान दिनु आवश्यक रहेको बताउँदै सरकारले आफ्ना नीति कार्यक्रममा यस बिषयलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यशालामा स्वीच एसिया एससिपी फेसिलिटीका टोली प्रमुख अरब होबल्लाह र दक्षिण एशिया विज्ञ पूजा सावनीले स्वीच एशिया परियोजनाबाट नेपाललगायत १९ वटा एशियाली मुलुकमा दिगो उपयोग र उत्पादनका परियोजनाहरु सञ्चालन गरी दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो ।
