प्राविधिक सहायताका निम्ति अनुरोध

काठमाडौँ, ६ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विश्व व्यापार सङ्गठन (डब्ल्यूटिओ) र विकासका अन्य साझेदारले नेपालजस्ता अल्पविकसित देशको व्यापारिक क्षमता अभिवृद्धिका निम्ति निरन्तर सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

सङ्गठनका महानिर्देशक रोबर्टो आजेभेडोसँग सोमबार अपराह्न जेनेभामा भएको भेटवार्तामा मन्त्री यादवले बहुपक्षीय व्यापार पद्धति तथा व्यापार सम्झौतालगायत अल्पविकसित देशका व्यापारका समस्याबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपालको स्थायी नेपाली नियोगले जनाएको छ ।

“समृद्ध नेपाल सुखी नेपाली” नेपाल सरकारको दीर्घकालीन लक्ष्य भएको बताउँदै उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न तथा उपयोग नभएका नेपालका अथाह स्रोतको उपयोगमा दातृ निकायको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (अङ्कट्याड) को विश्व लगानी मञ्चमा भाग लिने सिलसिलामा मन्त्री यादव गत आइतबारदेखि जेनेभामा हुनुहुन्छ । यही कात्तिक ५ देखि ९ गतेसम्म सञ्चालन हुने विश्व लगानी मञ्चमा १५ देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, ५० भन्दा बढी मन्त्री र १०० जनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत, राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका वरिष्ठ कार्यकारीका साथै नागरिक समाजका प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.